शैलुङको काखमा ब्युँझिदै सत्ययुगको विरासत

रामेछाप । हिमालको चिसो हावा, लालीगुराँसको सुगन्ध र गाढा कुहिरोको घुम्टोभित्र लुकेको एउटा रहस्यमयी गुँरासे डाँडो। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ स्थित यो पावन भूमिमा पाइला टेक्नेबित्तिकै जोकोहीलाई पनि एउटा बेग्लै आध्यात्मिक ऊर्जाले स्पर्श गर्छ। यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन, यो त पुस्तौँदेखि चल्दै आएको अटुट विश्वास, प्रकृति र मानवबीचको गहिरो सम्बन्ध अनि सत्ययुगदेखिको पौराणिक इतिहास बोकेको एउटा जीवित सङ्ग्रहालय हो।
यहाँका मुख्य पुजारी डुम बहादुर मगरका शब्दमा भन्नुपर्दा, यस स्थानको उत्पत्ति नै अचम्मको छ। उनी भन्छन्, “हिजो सत्ययुगमा यहाँ गोलमा राजा र गोलमा रानीको शासन थियो। त्यही बेला यो भूमिमा सात सत्य देवी र पाँच कन्या काली भगवतीको प्रादुर्भाव भएको हो।“ पुजारी मगरको वर्णन सुन्दा लाग्छ, यो ठाउँ देवताहरूको एउटा ठुलो कचहरी नै हो। यहाँ सोह्र सय गुरु गणेश, माङ्काल देवी, सुन झाँक्री र वन झाँक्रीको बास छ। पौराणिक कालका सिउसिउ राजा, दक्षिण राजा र महाराजा चौबीस सय राजाको पालादेखि नै यो क्षेत्रलाई शक्तिको केन्द्र मानिँदै आएको छ। पुजारी मगरका अनुसार यो भूमिमा सिंह देवी, बासुकी देवी, एक सय चौसट्ठी शक्तिहरू र अठहत्तर भैरवको समेत अदृश्य उपस्थिति रहेको छ। विशेष गरी गुराँसेको काली देवी र काली भगवतीको महिमा यहाँको जनजीवनको रगतमा भिजेको छ।
यस मन्दिरको अर्को रोचक र दार्शनिक पक्ष भनेको यहाँका दुई दिदीबहिनी देवीहरू—काली र सेतीको अवस्थिति हो। यी दुई देवीहरू आँग जोडेर अर्थात् एकअर्काको ढाड जोडिए जसरी बसेका छन्। तर, उनीहरूको पूजा र स्वभाव भने पूर्णतः विपरित र अर्थपूर्ण छ। काली देवीलाई शक्ति र रौद्र रूपको प्रतीक मानिँदै पशु बलि अर्थात् पाठी चढाइन्छ। ठिक उल्टो, सेती देवीलाई भने अत्यन्तै सौम्य र सात्विक रूपमा पुजिन्छ। उनलाई केवल शुद्ध दूध, धुप र फलफूल मात्र अर्पण गरिन्छ। एउटै थलोमा शक्तिका दुई विपरित स्वरूपको यो सहअस्तित्वले नेपाली सनातनी परम्पराको विशालता र सहिष्णुतालाई झल्काउँछ।
भक्तजनहरूको अनुभव सुन्दा त यो ठाउँ झनै रहस्यमयी र शक्तिशाली लाग्छ। नुवाकोट घर भई काठमाडौँमा व्यापार गर्ने शंकर न्यौपाने यस मन्दिरका अनन्य भक्त हुन्। उनी यहाँ आएर लगातार एक सय बीस दिनसम्म कठिन तपस्यामा लीन भए। न्यौपानेको अनुभवमा यो ठाउँमा एउटा यस्तो आकर्षण छ, जसले मानिसलाई बारम्बार तानिरहन्छ। उनी भन्छन्, “मलाई यहाँ आउन नपाउँदा मनमा भारी खिन्नता लाग्छ। यहाँ आमाको काखमा बसे जस्तो आनन्द मिल्छ।“ उनी तपस्यामा बस्दाका रातहरू सम्झिँदै भन्छन् कि कहिलेकाहीँ मध्यरातमा देवीका गणहरूले पालमा ड्याम्म हिर्काउने, डोको तान्ने र विभिन्न आवाज निकालेर तर्साउन खोज्थे। तर, देवीको असीम कृपाले उनलाई कहिल्यै कुनै हानी पुगेन। अहिले पनि उनी महिनाको केही दिन यहाँ आएर चार घण्टा ढुङ्गामा बसेर ध्यान गर्छन् र आफ्नो व्यापारको एक प्रतिशत आम्दानी देवीको सेवामा समर्पण गर्छन्।
समयसँगै यस मन्दिरको भौतिक स्वरूपमा पनि परिवर्तन आउन थालेको छ। स्थानीय वडा अध्यक्ष गङ्गाबहादुर तामाङका अनुसार केही वर्ष अघिसम्म यहाँ माटो र ढुङ्गाको एउटा सानो कच्ची घर मात्र थियो। वर्षा र हुरीबतास चल्दा भक्तजनहरूलाई ओत लाग्ने ठाउँ समेत थिएन। तर, अहिले स्थानीय सरकारको सक्रियतामा करिब १५ लाख रुपैयाँ बजेट विनियोजन गरी भक्तजनहरूका लागि बस्ने पक्की भवन निर्माण गरिएको छ। अध्यक्ष तामाङ भन्छन्, “हाम्रो वडामा रहेको यो ऐतिहासिक धरोहरलाई जोगाउन र प्रचार गर्न हामी लागि परेका छौँ। आजभोलि शनिबारको दिन यहाँ रसुवा, काभ्रे, काठमाडौँ, दाङ र कालीकोट जस्ता टाढाका जिल्लाहरूबाट समेत भक्तजनहरू आउने गर्छन्।“
यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजनामा दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानको ठुलो सपना छ। अध्यक्ष मोक्तान भन्छन्, “दोरम्बा शैलुङ भन्नासाथ मानिसहरू केवल प्राकृतिक भ्युटावर मात्र सम्झन्छन्। तर, हामी यसलाई धार्मिक र सांस्कृतिक सर्किटसँग जोड्दैछौँ। काली देवी र सेती देवी मन्दिर हाम्रो गाउँपालिकाको आध्यात्मिक खम्बा हो।“ उनी थप्छन्, यहाँसम्म आउने सडकको पहुँचलाई सहज बनाउने, भक्तजनका लागि खानेपानीको स्थायी प्रबन्ध गर्ने र यहाँको पौराणिक कथालाई डकुमेन्ट्रीका माध्यमबाट विश्वभर पुरÞ्याउने गाउँपालिकाको लक्ष्य छ। “यहाँ आउने जोकोहीले पनि शान्ति र शक्तिको अनुभूति लिएर फर्कियोस् भन्ने हाम्रो चाहना छ,“ मोक्तानले भने।
कात्तिक पूर्णिमाको अवसरमा यहाँ लाग्ने विशेष मेलाले त झन् यस क्षेत्रको रौनक नै बदलिदिन्छ। गाउँलेहरू भेला भएर गरिने गुठी पूजा, रातभर चल्ने भजनकीर्तन र बिहानसम्म लाग्ने ठुलो मेलाले स्थानीय संस्कृतिलाई जीवन्त राखेको छ। यहाँ जे चितायो त्यो प्राप्त हुने धार्मिक विश्वासका कारण भक्तजनहरूले भाकल पूरा भएपछि घण्ट, त्रिशूल र मूर्तिहरू चढाउने गरेका छन्।
दोरम्बाको यो काली–सेती देवी धाम अब केवल एउटा स्थानीय मन्दिर मात्र रहेन। यो त नेपालको लुकेको धार्मिक पर्यटकीय गन्तव्यको एउटा उज्यालो सम्भावना बनेर उदाउँदैछ। यदि तपाईं पनि शहरको कोलाहलबाट विश्राम लिन र सत्ययुगको स्पर्श महसुस गर्न चाहनुहुन्छ भने, रामेछापको यो अलौकिक डाँडो तपाईंलाई पर्खिरहेको छ।



