पर्यटन प्रवद्र्धनका सम्भावना र चुनौतीबारे मन्थलीमा छलफल

रामेछाप । रामेछापलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको पूर्वाधार विकास र व्यापक प्रचार–प्रसार गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन कार्यालय काठमाडौँको आयोजनामा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘मिट द पिपुल प्रोग्राम–२०८३’ अन्तर्गतको अन्तरक्रियामा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । जिल्लास्थित पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला उपस्थित कार्यक्रममा रामेछापको पर्यटन विकास, वर्तमान चुनौती र भावी योजनाबारे सघन छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले रामेछाप पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताए । “जिल्ला भएर बग्ने तामाकोसी र सुनकोसीजस्ता नदीहरू राष्ट्रिय गौरव हुन्, यिनको जलयात्रा (र्याफ्टिङ) र मनोरञ्जनका लागि उपयोग गर्न सकिन्छ,“ सभापति श्रेष्ठले भने, “यहाँका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको समुचित विकास र प्राकृतिक सौन्दर्यको संरक्षण गर्न सके रामेछापलाई देशकै अग्रणी पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।“
अन्तरक्रियामा स्थानीय पर्यटन व्यवसायीहरूले पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक पूर्वाधारको दुरावस्था, गुणस्तरीय होटलको कमी, व्यवस्थित सूचना केन्द्रको अभाव जस्ता समस्या औंल्याएका थिए । उनीहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय तह र प्रदेश सरकारले पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनुपर्ने माग गरे ।
पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोख्रेलले स्थानीय स्तरका वास्तविक समस्या, आवश्यकता र सम्भावना बुझेर प्रदेशस्तरीय योजना तर्जुमा गर्न यो कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए । “जनता र व्यवसायीकै सुझावका आधारमा आगामी कार्यक्रम तय गर्न ’मिट द पिपुल प्रोग्राम’ को जग बसालएिको हो र यसको पहिलो कार्यक्रम रामेछापबाटै सुरु गरिएको छ,“ कार्यालय प्रमुख पोख्रेलले स्पष्ट पारे ।
छलफलमा सहभागी विभिन्न पालिकाका जनप्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूले स्थानीय रैथाने संस्कृति र प्रकृतिको संरक्षण गर्दै पर्यटनलाई रोजगारी र आयआर्जनसँग जोड्नुपर्ने धारणा राखेका थिए ।


