रामेछापका युवालाई काठमाडौँमा ड्राइभिङ तालिम

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित गरी सञ्चालन गरेको हलुका सवारी चालक (’बि’ वर्ग) को ड्राइभिङ तालिम प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । गत वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले व्यावहारिक तथा सैद्धान्तिक रूपमा गुणस्तरीय प्रशिक्षण प्राप्त गरिरहेका छन् । ग्रामीण क्षेत्रका युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर, दक्ष र रोजगारीमुखी बनाउने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रमको आयोजना गरेको हो ।
तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन हालसम्म दुई पटक वरिष्ठ प्रशिक्षकहरूद्वारा विशेष प्रशिक्षण समेत प्रदान गरिएको छ । पहिलो चरणमा पूर्व ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी) बालकृष्ण पोखरेलले सडक सुरक्षा, ट्राफिक संकेत चिह्न, लेन अनुशासन, मापासे तथा लापसेका दुष्परिणाम, सडक बत्ती र जिम्मेवार चालकको भूमिकाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए । त्यसैगरी, तालिमको १८औँ दिनमा वरिष्ठ प्रशिक्षक तथा अटोमोवाइल सम्बन्धी लेखक एवं सीटीईभीटी युसेफ नेपालका अटोमोवाइल प्रशिक्षक क्षेत्रबहादुर सिङजाली थापा मगरले सडक सुरक्षा र गाडीका प्राविधिक पक्षबारे सरल, सहज र व्यावहारिक शैलीमा प्रशिक्षण प्रदान गरे । प्रशिक्षक मगरले युवाहरूको उत्साह र सिकाइप्रतिको लगावको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारले यस्ता रोजगारमुखी कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने सुझाव दिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले हालसम्मको १८ दिने सिकाइ अत्यन्तै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफ्नो सीप विकासमा यसले ठूलो मद्दत पु¥याएको बताउँदै आगामी वर्षहरूमा पनि युवाहरूलाई लक्षित गरी यस्तै रोजगारी र सीपमूलक कार्यक्रमहरू निरन्तर ल्याउन गाउँपालिकालाई आग्रह समेत गरे ।
कार्यक्रममा मन्तव्य राख्दै सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ र प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले युवाहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिका सधैँ प्रतिबद्ध रहेको र आगामी दिनहरूमा पनि युवामैत्री एवं रोजगारमुखी योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
हाल यस तालिममा गाउँपालिकाका ४० जना प्रशिक्षार्थीहरू सहभागी छन्, जसले उपत्यकाका भक्तपुर, कलंकी, सुकेधारा र जडीबुटी गरी चारवटा फरक–फरक केन्द्रहरूबाट व्यावहारिक प्रशिक्षण लिइरहेका छन् । तालिम सञ्चालनको प्राविधिक जिम्मेवारी शिशिर बसन्त अटो ट्रेनिङ स्कुलले लिएको छ । स्कुलका सञ्चालक यज्ञ चौलागाईंले बेरोजगार युवाहरूलाई स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने गाउँपालिकाको यो कदम अत्यन्तै प्रशंसनीय रहेको बताए । स्थानीय तहको यस्तो सक्रियता र पहलले ग्रामीण क्षेत्रका युवाहरूलाई दक्ष र आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।


