Trending

उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।
भौगोलिक रूपमा विकट यस गाउँपालिकाले चालु आर्थिक वर्षको चैत १२ गतेभित्रै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । सोही अभियानअन्तर्गत गाउँपालिकाका ७ वटै वडामा रहेका १५ महिनासम्मका १५५ जना बालबालिकाले पाउनुपर्ने सबै नियमित खोप पाएको सुनिश्चित गरिएको छ । त्यस्तै, १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले पनि १५ महिनाभित्रै लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको तथ्य प्रमाणीकरण भएपछि गत चैत १८ गते नै सबै वडाहरूलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारले विकट हिमाली बस्तीका घर–घरमा पुगेर बालबालिकाहरूलाई खोपको दायरामा ल्याउन निकै चुनौतीपूर्ण रहेको स्मरण गरे । “कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहोऊन् भनेर स्वास्थ्यकर्मी र स्वयंसेविकाहरू अहोरात्र खटिए,“ उनले भने, “सबैको सामूहिक प्रयासले लक्ष्य हासिल भएको छ, अब यसलाई निरन्तरता दिनु हाम्रो मुख्य चुनौती हो ।“
गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कुनै समय सामान्य स्वास्थ्य उपचार पाउनसमेत कठिन हुने उमाकुण्डमा अहिले सबै बालबालिका खोपको पहुँचमा समेटिनु ऐतिहासिक सफलता भएको बताए । यो उपलब्धि सम्पूर्ण समुदायको साझा प्रयासको प्रतिफल भएको उनको भनाइ थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास समान रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । “तीनै तहका सरकारबीच प्रभावकारी समन्वय भए मात्र दुर्गमका नागरिकले राज्य हुनुको वास्तविक महसुस गर्न सक्छन्,“ मन्त्री थापा मगरले भने, “प्रदेश राजधानीबाट टाढा र विकट रहेको उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष प्याकेज ल्याउनेछ ।“ उनले यहाँका अलपत्र योजनाहरूलाई अघि बढाउन अन्य मन्त्रालयहरूसँग समन्वय गर्ने प्रतिबद्धतासमेत जनाए ।
उमाकुण्डको यो सफलताले इच्छाशक्ति भए दुर्गम र कठिन भूगोलमा पनि स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणीय सन्देश दिएको कार्यक्रमका सहभागीहरूले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button