Trending

बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी

रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति मात्र होइन, श्रम ऐनले प्रत्याभूत गरेका सुविधा र अधिकारबाट वञ्चित गर्ने तथा कर्मचारीलाई असुरक्षित वातावरणमा राख्ने जस्ता अभ्यासले संस्थाभित्र श्रम शोषण मौलाउँदै गएको आरोप पनि सार्वजनिक भएका छन् ।
सार्वजनिक रूपमा मानवीय मूल्य, बालअधिकार र सेवाभावको कुरा गर्ने संस्थाकै गतिविधिले आफ्ना कर्मचारीप्रति देखाएको व्यवहारले ‘निस्वार्थ सेवा’ भन्ने नारामाथि नै गम्भीर प्रश्न उठाएको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालयले जिल्लाका तीन स्थानीय तह मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा इसिडी हार्मोनी परियोजना सञ्चालन गर्दै आएको छ । सन् २०२५ मार्चदेखि सुरु गरी सन् २०२९ मार्चसम्म सञ्चालन गर्ने गरी तीन वटै स्थानीय तहसँग सम्झौता गरी सञ्चालनमा रहेको यस परियोजनाले वि.सं. २०८२ कात्तिकमा तीन वटै स्थानीय तहमा गरेर २५ जना मेन्टर र तीन जना बालविकास संयोजक गरी २८ जना कर्मचारी भर्ना गरेको थियो । ४ वर्षे परियोजनाको लागि कर्मचारी नियुक्त गरेको सेतो गुराँसले एक वर्षको अवधिमै करार सम्झौता नवीकरण नगरी विभिन्न बहाना बनाएर कर्मचारीहरूलाई हटाएको हो । संस्थाले अन्यायपूर्ण ढङ्गले आफूहरूलाई एक पटक सोधपुछ समेत नगरी हटाएको कर्मचारीहरूले गुनासो गरेका छन् ।
परियोजना अधिकृत र लेखा सहायकद्वारा कर्मचारी माथि अभद्र व्यवहार
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैयाँ बस्नेत र लेखा सहायक करुणा पौडेले आफूहरू माथि अभद्र व्यवहार गरेको निवर्तमान इसिडी मेन्टरहरुले बताएका छन् ।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवामार्फत लिखुतामाकोशी गाउँपालिकामा कार्यरत रहेकी निवर्तमान इसिडी मेन्टर समेत रहेकी स्थानीय धनमाया खड्काले संस्थाकी लेखा सहायक करुणा पौडेलले कार्यालय भित्रै आफू माथि अभद्र व्यवहार गरेको आरोप लगाईन् । लेखा सहायक पौडेलले नियमानुसार पाउने यातायात खर्च लिनको लागि फारम भर्न खोज्दा उल्टै आफूमाथि अभद्र व्यवहार गरेको उनले बताइन् । उनले भनिन्,“त्यो दिन उहाँहरूले म माथि गरेको व्यवहारले संस्थाबाट बाहिर निक्लिएर घर फर्किने बेलामा कुन गाडीमा आएँ भन्ने कुरा समेत मलाई थाहा भएन, मलाई धेरै तनाव भएको थियो । मैले गाडी भाडाको फारम भर्छु म्याम भन्दा करुणा म्यामले “तपाईँले भर्न पाउनुहुन्न, के आधारले फारम भर्नुहुन्छ, तपाईँले गाडी भाडा केही पनि पाउनुहुन्न । काम केही गर्नु छैन, सुविधा मात्रै लिन खोजेर हुन्छ भन्नुभयो“ ।“
यसैगरी परियोजना अधिकृत मैयाँ बस्नेतले बिना कारण आफ्नो आधार तलबबाट विना कारण आठ हजार रुपैयाँ काटेको बताइन् । आफू विद्यालयमा गएर काम गरेको दिनको समेत टाइम सिटमा नभर्नु हामी आफैँ भरिदिन्छौँ खाली पठाउनु भनेर परियोजना अधिकृतले भनेपछि खाली पठाएको उनले बताइन् । त्यसपछि परियोजना अधिकृत बस्नेतले नियोजित रूपमा आफूहरूको तलब समेत कटाएको खड्काले बताइन् । उनले भनिन्,“ मलाई कार्य सम्पादन भरेर पठाउने बेलामा परियोजना अधिकृत मैयाँ बस्नेतले १ गतेदेखि ८ गतेसम्मको आठ दिनको खाली छाड्नु भन्नुभयो तर पछि ८ हजार तलब काट्नुभयो ।“
यसैगरी निवर्तमान इसिडी मेन्टर सीता कार्कीले पनि परियोजना अधिकृत मैयाँ बस्नेतले नियोजित रूपमा आफूहरूको तलब काटेको बताइन् । बिना कारण एक महिनाको आधार तलबबाट तीन हजार रुपैयाँ कटाएको उनले बताइन् । बस्नेतले काम गरेको दिनको समेत तलब काटेको उनको आरोप छ । कार्कीले भनिन्,“काम गरेको दिनको पनि टाइम सिटमा खाली राखेर पठाउनु भन्नुभयो, खाली नै राखेर पठाउनु पर्ने रहेछ होला भनेर मैले पठाएँ तर पछि थाहा भयो हाम्रो तलब काट्न पो रहेछ ।“
परियोजना अधिकृत बस्नेतले विभिन्न समयमा पटक–पटक संस्थामै कार्यरत रहेका कर्मचारीसँग नाम जोडेर विभिन्न आरोप लगाउँदै नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने गरेको लिखुतामाकोशी गाउँपालिका वडा नं. ५ की निवर्तमान इसिडी मेन्टर उषा श्रेष्ठले बताइन् । अहिले आएर विना कारण कुनै जानकारी नै नदिई मेन्टरबाट हटाएर आफूमाथि संस्थाले झन् अन्याय गरेको उनले बताइन् । यस प्रकरणका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उनले बताइन् ।
गर्भवती भएकै कारण हटाइयो कर्मचारी
सेतो गुराँसले गर्भवती भएको कारण देखाएर एक महिलालाई नियोजित रूपमा अन्यायपूर्ण ढङ्गले हटाएको छ । निवर्तमान इसिडी मेन्टर सीता कार्कीले गर्भवती भएको कारण संस्थाले आफूलाई मेन्टरबाट हटाएको बताइन् । उनले भनिन्,“ मलाई किन हटाउनु भएको भन्दा परियोजना अधिकृतले “तपाईँ प्रिगनेन्ट हुनुहुन्छ । तपाईँको बच्चा हुन्छ, अप्ठेरो हुन्छ हिँड्नलाई काम गर्न सक्नु हुन्न भनेर हटाएको“ भन्नुभयो । मैले बच्चा पाए नि काम गर्न सकिहाल्छु नि, बच्चा पाउने बित्तिकै के हुन्छ र भने । कामको कमजोरी त होइन गर्भवती भएकै कारण हटाएको हो भन्नुभयो मैयाँ म्यामले ।“
तर सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापकी परियोजना अधिकृत मैयाँ बस्नेतले भने कसैको पनि दुव्र्यवहार नगरेको बताइन् । उनले कसैको तलब पनि नकटाएको बताइन् ।
पालिका प्रमुख भन्छन्ः कर्मचारी हटाउने विषयमासमन्वय नै भएन
यता रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले कर्मचारी हटाउने विषयमा संस्थाले आफूहरूसँग कुनै पनि समन्वय नगरेको बताए । संस्थाले अहिलेसम्म समन्वय नगरेको बताउँदै उनले परियोजना अधिकृतलाई बोलाएर समन्वय नभएको विषयबारेमा छलफल हुँदा आगामी दिनमा समन्वय गर्ने जवाफ दिएको बताए । कर्मचारी हटाएको विषयमा कुरा बुझ्दा गर्भवती र सुत्केरी महिलालाई काम गर्न सक्दैनन् भनेर हटाएको जवाफ संस्थाको कर्मचारीबाट आएको नगर प्रमुख न्यौपानेले बताए ।

यसैगरी मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ र लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले पनि कर्मचारी हटाउने विषयमा समन्वय नभएको बताए ।
कुनै परामर्श समेत नगरी संस्थाले आफूखुसी कर्मचारी हटाएको अध्यक्ष महतको भनाई छ । आफ्नो पालिकामा २ जना मेन्टर र एक जना बालविकास संयोजक गरी तीन जना हटाएको उल्लेख गर्दै अध्यक्ष महतले उनीहरूलाई हटाउने बेलामा संस्थाको तर्फबाट कुनै समन्वय नभएको जानकारी दिए ।
यता जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने पीडितले उजुरी लिएर आएको खण्डमा छानबिन गरी दोषी देखिए कारबाही गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button