Trending

व्यावसायिक गरिमा फर्काउन मेरो उम्मेदवारी–कुमार श्रेष्ठ

रामेछाप जिल्लाको आर्थिक गतिविधिको मुटु मानिने रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। चैत्र २० गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी कुमार श्रेष्ठले आफ्नो स्पष्ट दृष्टिकोण, व्यावहारिक योजना र व्यवसायीमैत्री एजेन्डाका कारण विशेष चर्चा बटुल्न सफल हुनुभएको छ। लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले संघलाई केवल संस्थागत संरचना मात्र नभई व्यवसायीहरूको साझा अभिभावक बनाउने प्रतिबद्धता जनाउनुभएको छ। प्रस्तुत छ उहाँसँग गरिएको विस्तृत कुराकानीको संपादीत अंश ः
निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल कस्तो छ? तपाईंको उपस्थिति कत्तिको प्रभावकारी देख्नुभएको छ?
चुनावी माहोल निकै उत्साहजनक र ऊर्जाशील देखिएको छ। म अहिले गाउँ–गाउँ, बजार–बजार र टोल–टोल पुगेर व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छु। उहाँहरूको भावना सुन्दा एउटा कुरा स्पष्ट भएको छ–व्यवसायीहरू परिवर्तन चाहन्छन्। वर्षौँदेखि संघको नेतृत्वमा रहेका व्यक्तिहरूले व्यवसायीको वास्तविक समस्या गहिराइमा पुगेर समाधान गर्न सकेनन् भन्ने गुनासो व्यापक रूपमा सुनिएको छ।
म स्वतन्त्र उम्मेदवारका रूपमा आएको हुँदा म कुनै राजनीतिक दलको प्रभावमा छैन। म व्यवसायीको समस्यालाई केन्द्रमा राखेर आएको छु। यही कारणले धेरै साथीहरूले मलाई साझा उम्मेदवारको रूपमा लिनुभएको छ। “सशक्त व्यवसायी, समृद्ध रामेछाप” भन्ने मेरो नाराले व्यापक समर्थन पाइरहेको छ।
तपाईंले अघि सार्नुभएको कार्ययोजनाको मूल भावना के हो?
मेरो कार्ययोजनाको केन्द्रबिन्दु ‘व्यवसायीको सुरक्षा, सम्मान र समृद्धि’ हो। अहिले व्यवसायीहरू करको जटिलता, प्रशासनिक झन्झट, अनिश्चित नीति र विभिन्न किसिमका दबाबका कारण त्रसित छन्।
पहिलो प्राथमिकता भनेको व्यवसायीको अधिकार संरक्षण हो। सरकारी निकायसँग सहकार्य गर्दै कर प्रणालीलाई सहज, पारदर्शी र व्यवसायमैत्री बनाउनेछु। साना तथा मझौला व्यवसायीहरूका लागि विशेष सहुलियतको व्यवस्था गर्न पहल गर्नेछु।
त्यस्तै, बन्द–हडतालजस्ता गतिविधिले व्यापारमा प्रत्यक्ष असर पार्ने भएकाले त्यसका विरुद्ध संस्थागत रूपमा कडा आवाज उठाउनेछौं। संघले केवल प्रतिक्रिया दिने होइन, नीति निर्माणमा प्रभाव पार्ने भूमिका खेल्नुपर्छ भन्ने मेरो विश्वास छ।

आर्थिक मन्दीका कारण बजार सुस्त छ। यस्तो अवस्थामा संघले के गर्न सक्छ?
अहिलेको आर्थिक अवस्था साँच्चिकै चुनौतीपूर्ण छ। धेरै व्यवसायी साथीहरू व्यवसाय टिकाउनै संघर्ष गरिरहनुभएको छ। यस्तो अवस्थामा संघले सक्रिय भूमिका खेल्नुपर्छ।
म निर्वाचित भएपछि बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरेर सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने पहल गर्नेछु। ऋण पुनर्संरचना, किस्ता तिर्ने समय विस्तार जस्ता विषयमा पनि पहल गरिनेछ।
त्यसैगरी, ‘व्यवसायी राहत कोष’ स्थापना गर्ने योजना छ, जसले आकस्मिक संकटमा परेका व्यवसायीलाई सहयोग पु¥याउनेछ।
स्थानीय उत्पादनको प्रवद्र्धन अर्को महत्वपूर्ण पक्ष हो। Made in Ramechhap ब्रान्डलाई सशक्त बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने रणनीति तयार गरिनेछ।
तपाईंले डिजिटलाइजेसन र आधुनिक पूर्वाधारको कुरा गर्नुभएको छ। यसको व्यवहारिक कार्यान्वयन कसरी सम्भव छ?
अबको व्यापार परम्परागत ढाँचामा सीमित रहन सक्दैन। डिजिटल प्लेटफर्ममा प्रवेश नगरी प्रतिस्पर्धा गर्न गाह्रो छ।
संघको नेतृत्वमा व्यवसायीहरूलाई लक्षित गरी डिजिटल मार्केटिङ, अनलाइन भुक्तानी प्रणाली, ई–कमर्स सञ्चालन जस्ता विषयमा तालिम सञ्चालन गरिनेछ। स्थानीय व्यवसायलाई अनलाइन प्लेटफर्ममा सूचीकृत गर्ने पहल गरिनेछ।
त्यसैगरी, बजार व्यवस्थापन अत्यन्त आवश्यक छ। व्यवस्थित पार्किङ, सफा र आकर्षक बजार, सुरक्षा व्यवस्था, सडक बत्ती, सार्वजनिक शौचालय जस्ता पूर्वाधार विकासमा स्थानीय सरकारसँग सहकार्य गरिनेछ।
पर्यटनसँग व्यापारलाई जोड्ने पनि हाम्रो प्राथमिकता हुनेछ। रामेछापमा पर्यटनको ठूलो सम्भावना छ । यदि पर्यटन र स्थानीय उत्पादनलाई जोड्न सकियो भने होटल, यातायात, हस्तकला, कृषि उत्पादन सबै क्षेत्रमा लाभ पुग्छ।
संघभित्र पारदर्शिता र सुशासनको अभाव रहेको गुनासो पनि छ। यसलाई कसरी सुधार्ने योजना छ?
संघ कुनै व्यक्तिको निजी संस्था होइन, यो सबै सदस्यहरूको साझा घर हो। त्यसैले पारदर्शिता अनिवार्य छ।

म निर्वाचित भएपछि संघका सबै आर्थिक गतिविधि र निर्णयहरू नियमित रूपमा सार्वजनिक गरिनेछ। डिजिटल रिपोर्टिङ प्रणाली लागू गरेर सदस्यहरूले सहज रूपमा जानकारी पाउने व्यवस्था गरिनेछ।
भ्रष्टाचाररहित, उत्तरदायी र पारदर्शी नेतृत्व मेरो पहिलो प्रतिबद्धता हो। साथै, सदस्यहरूको गुनासो सुन्ने र छिटो समाधान गर्ने प्रणाली विकास गरिनेछ।
उद्योग वाणिज्य संघले थप के–कस्ता काम गर्न सक्छ जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाओस् ?
संघको भूमिका धेरै फराकिलो हुन सक्छ, यदि हामीले त्यसलाई सक्रिय रूपमा प्रयोग ग¥यौं भने।
– उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ। नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्न तालिम, परामर्श र स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन गरिनेछ।
– कृषि र उद्योगबीच समन्वय आवश्यक छ। किसानको उत्पादनलाई बजारसँग जोड्न ‘फार्म टु मार्केट’ प्रणाली विकास गर्न सकिन्छ। यसले कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्नेछ।
-महिला उद्यमीहरूको सशक्तीकरण अत्यन्त महत्वपूर्ण छ। महिला लक्षित व्यवसाय तालिम, सहुलियत ऋण र बजार पहुँच विस्तारमा संघले पहल गर्न सक्छ।
– युवाहरूको विदेश पलायन रोक्न स्थानीय रोजगारी सिर्जना गर्नुपर्नेछ। साना उद्योग, हस्तकला, पर्यटन व्यवसायलाई प्रोत्साहन गरेर रोजगारी सिर्जना गर्न सकिन्छ।
– व्यापार मेलाहरू आयोजना गरेर स्थानीय उत्पादनको प्रचारप्रसार गर्न सकिन्छ। यसले बजार विस्तारमा ठूलो भूमिका खेल्छ।
– कानुनी परामर्श सेवा उपलब्ध गराएर व्यवसायीलाई विभिन्न कानुनी जटिलताबाट बचाउन सकिन्छ।
– बीमा र सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर व्यवसायीको भविष्य सुरक्षित गर्न सकिन्छ।
– विपद् व्यवस्थापन योजना तयार गरेर आगलागी, प्राकृतिक विपद् वा अन्य संकटका बेला तत्काल सहयोग पु¥याउने प्रणाली विकास गर्नुपर्छ।
– शिक्षा र व्यवसायबीच सम्बन्ध स्थापना गर्न सकिन्छ। विद्यालय र कलेजसँग सहकार्य गरेर व्यवसायिक शिक्षा र सीप विकास कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
– स्थानीय सरकारसँग सहकार्य गर्दै दीर्घकालीन आर्थिक नीति निर्माणमा संघले सक्रिय भूमिका खेल्नुपर्छ।
अन्त्यमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ?
आदरणीय व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरू, यो निर्वाचन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, हाम्रो भविष्य निर्धारण गर्ने अवसर हो।
म वाचा होइन, काममा विश्वास गर्छु। मेरो उम्मेदवारी स्वतन्त्र छ, मेरो सोच स्पष्ट छ र मेरो लक्ष्य समृद्ध रामेछाप निर्माण गर्नु हो।
दलीय स्वार्थभन्दा माथि उठेर, व्यवसायीको हितलाई केन्द्रमा राखेर निर्णय लिनुहोस्। एक पटक मलाई सेवा गर्ने अवसर दिनुहोस्।
चैत्र २० गते आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button