Trending

रामेछाप उद्योग वाणिज्य संघः अध्यक्षको निर्वाचन ’पाँच पूर्व’ विरुद्ध ’एक वर्तमान’ को लडाइ

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । अन्य महत्वपूर्ण पदहरूमा व्यवसायीहरूबीच सहमति’ जुटे पनि मुख्य नेतृत्व (अध्यक्ष) का लागि भने प्रतिष्ठाको लडाइँ सुरु भएको छ ।
अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र निवर्तमान महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यो भिडन्त केवल दुई व्यक्तिबीच मात्र नभई संस्थाका ’हस्ती’ हरुको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
वरिष्ठ उपाध्यक्षका रूपमा कार्यकाल पूरा गरेका प्रकाशकुमार श्रेष्ठलाई संस्थाका पाँच जना पूर्वअध्यक्षहरू र सर्वसहमतिमा चयन भएका पदाधिकारी सहित १४ जनाले काँध थापेका छन् । पूर्वअध्यक्षहरू लोकबहादुर श्रेष्ठ, श्याम थापा, पशुपतिबहादुर खड्का, नारायणदाश श्रेष्ठ र केशवप्रसाद घिमिरेले संयुक्त अपील जारी गर्दै प्रकाशलाई ’निर्विकल्प’ उम्मेदवारका रूपमा अघि सारेका हुन् । सामूहिक हस्ताक्षरसहितको यो समर्थनले संस्थापन इतर र अनुभवी पक्ष प्रकाशको पक्षमा उभिएको प्रष्ट सन्देश दिएको छ ।
अर्कोतर्फ, निवर्तमान महासचिव कुमार श्रेष्ठ पनि बलियो तयारीका साथ मैदानमा छन् । उनलाई संघका वर्तमान अध्यक्ष नवीनकुमार थापा मगरको सिधा समर्थन रहेको छ । वर्तमान कार्यसमितिको नेतृत्वले कुमारलाई अघि सारेपछि निर्वाचन रोचक मोडमा पुगेको हो । पाँच जना पूर्वअध्यक्षको अनुभव र एक जना वर्तमान अध्यक्षको शक्तिबीचको यो लडाइँले जिल्लाका उद्योगी–व्यवसायीहरूलाई दुई कित्तामा विभाजित गरिदिएको छ ।
अध्यक्ष पदमा प्यानल नै बनाएर चुनावी सरगर्मी बढे पनि अन्य महत्वपूर्ण पदाधिकारी तहका अधिकांश पदमा व्यवसायीहरूले आपसी सहमति गरी सर्वसम्मत चयन गरिसकेका छन् । “एकताको सन्देश दिने“ भन्दै अन्य पदमा सहमति गरिए पनि मुख्य पदमा भएको यो तिक्ततापूर्ण प्रतिस्पर्धाले संघभित्रको आन्तरिक धु्रुवीकरणलाई भने छताछुल्ल पारेको छ । जिल्लाभरका उद्योगी र व्यवसायीहरूको ध्यान अहिले मतदान केन्द्रतिर सोझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button