सहकारीको मोबाइल बैङ्किङ कारोबार सीमामा वृद्धि

रामेछाप । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप सहकारी संस्थाहरूले प्रदान गर्ने मोबाइल बैङ्किङ सेवाको कारोबार सीमामा वृद्धि गरेको छ। नयाँ निर्देशन अनुसार अब सहकारीका सदस्यहरूले मोबाइल बैङ्किङ मार्फत एक पटकमा १ लाख रुपैयाँ र दैनिक ३ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन्।
यसअघि सहकारीहरूको मोबाइल बैङ्किङ कारोबार सीमा तुलनात्मक रूपमा कम हुँदा ठुला व्यावसायिक कारोबारका लागि सदस्यहरूलाई कठिनाइ हुँदै आएको थियो। राष्ट्र बैंकको यो पछिल्लो व्यवस्थाले सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलका अनुसार राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनले सहकारी क्षेत्रलाई आधुनिक बैङ्किङ प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ। “सहकारीहरू अब केवल बचत र ऋणमा मात्र सीमित छैनन्, प्रविधिको प्रयोगमा पनि अगाडि बढिरहेका छन्,“ अध्यक्ष ढुङ्गेलले भने । “एक पटकमा १ लाख र दैनिक ३ लाखसम्मको कारोबार सीमा कायम हुनुले सदस्यहरूलाई घरमै बसेर ठुलो रकमको व्यवस्थापन गर्न सहज भएको छ। यसले बजारमा नगदको भौतिक प्रयोगलाई कम गरी डिजिटल अर्थतन्त्रलाई बलियो बनाउनेछ।“
अध्यक्ष ढुङ्गेलले जिल्लाका सबै सहकारीहरूलाई अनिवार्य रूपमा प्रविधिमैत्री बन्न र आफ्ना सदस्यहरूलाई सुरक्षित डिजिटल कारोबारका बारेमा सचेत गराउन समेत आग्रह गरे ।
यसै गरी, मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले कारोबार सीमा वृद्धि हुनु सहकारी सदस्यहरूका लागि खुसीको कुरा भएको बताए । उनले मन्थली बचत जस्ता ठुला सहकारीहरूले आफ्ना सदस्यहरूलाई आधुनिक प्रविधि उपलब्ध गराइरहेको अवस्थामा यो निर्णयले कार्यकुशलता बढाउने उल्लेख गरे ।
“हाम्रो संस्थाका धेरै सदस्यहरू साना तथा मझौला व्यवसायी हुनुहुन्छ, जसलाई दैनिक रूपमा ठुलो रकम कारोबार गर्नुपर्ने हुन्छ,“ अध्यक्ष घिमिरेले भने । “पहिलेको सीमाले गर्दा कतिपय अवस्थामा सदस्यहरू चेक लिएरै कार्यालय धाउनुपर्ने बाध्यता थियो। अब ३ लाखसम्मको दैनिक सीमाले गर्दा व्यवसायीहरूलाई सामान खरिद, भुक्तानी र अन्य आर्थिक लेनदेनमा निकै राहत पुग्नेछ। हामीले हाम्रा सदस्यहरूलाई सुरक्षित रूपमा यो सुविधा प्रयोग गर्न प्रोत्साहन गरिरहेका छौँ।“
कारोबारको सीमा बढेसँगै वित्तीय सुरक्षाको जोखिम पनि उत्तिकै रहने भएकाले सहकारीहरूले आफ्ना सफ्टवेयर र सुरक्षा प्रणालीलाई मजबुत बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैङ्किङको पिन कोड, पासवर्ड र ओटीपी जस्ता संवेदनशील विवरणहरू गोप्य राख्न र अपरिचित लिङ्कहरूमा क्लिक नगर्न समेत प्राविधिकहरूले सुझाव दिएका छन्।


