सुनापती–३ का आरान व्यवसायीलाई आधुनिक उपकरण हस्तान्तरण

रामेछाप, सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।
वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन गर्दै आएका ६ जना व्यवसायीलाई जनही एक–एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार आधुनिक उपकरणको प्रयोगबाट व्यवसाय सञ्चालन सहज हुने, सेवाको गुणस्तर सुधारिने तथा उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै दक्ष सेवा प्रवाह गर्न र आरान व्यवसायलाई प्रतिस्पर्धी बनाउन उपकरण वितरण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुल बहादुर थिङ ले आरान व्यवसायीलाई प्रविधिमैत्री बनाउने प्रयासअन्तर्गत उपकरण हस्तान्तरण गरिएको बताए। उनले निकट भविष्यमा पनि आरान व्यवसायको प्रवर्द्धन तथा व्यवसायीलाई थप टेवा पुग्ने कार्यक्रम ल्याइने जानकारी दिए।
स्थानीय व्यवसायीहरूले आधुनिक उपकरण प्राप्त भएपछि काम गर्न सहज हुने, समय र श्रमको बचत हुने तथा सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button