उमाकुण्ड गाउँपालिकाले अभिभावकसँग जोडिन विद्यालयलाई मोबाइल वितरण

रामेछाप — विद्यालय र अभिभावकबीचको नियमित सम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालयकै नाममा दर्ता गरिएको मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ।
गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रगति, नियमित उपस्थिती, सिकाइ उपलब्धि, अनुशासन तथा विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराउने र विद्यालय, अभिभावक तथा विद्यार्थीबीच निरन्तर समन्वय कायम गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको जनाएको छ।
कार्यक्रमअन्तर्गत प्रत्येक सामुदायिक विद्यालयलाई आधिकारिक मोबाइल नम्बर उपलब्ध गराइएको छ। अब सोही नम्बरमार्फत विद्यालयले विद्यार्थीको उपस्थिती, परीक्षा, नतिजा, सिकाइ उपलब्धि, व्यवहार, अतिरिक्त क्रियाकलाप तथा आकस्मिक सूचनाबारे अभिभावकलाई नियमित जानकारी दिनेछ। अभिभावकले पनि आफ्ना जिज्ञासा, सुझाव तथा गुनासो सोही नम्बरमार्फत विद्यालयमा सहज रूपमा राख्न सक्नेछन्।
कार्यक्रमको दिगोपनाका लागि गाउँपालिकाले सञ्चार खर्चको समेत व्यवस्था गरेको छ। माध्यमिक विद्यालयलाई वार्षिक ५ हजार रुपैयाँ र आधारभूत विद्यालयलाई वार्षिक २ हजार ५ सय रुपैयाँ सञ्चार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। उक्त रकम विद्यालय र अभिभावकबीच नियमित सम्पर्क तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रयोग गरिनेछ।
गाउँपालिकाका अनुसार यस पहलले अभिभावकको विद्यालयप्रतिको सहभागिता, उत्तरदायित्व र अपनत्व बढाउनुका साथै विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मोबाइल सेट तथा सिम कार्ड वितरण कार्यक्रम शुक्रबार आयोजित समारोहमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button