‘कि बहुमत पुर्याऊ, कि मलाई नै समर्थन गर’ – मुख्यमन्त्री बानियाँ

ललितपुर, बागमती प्रदेशमा चुलिँदै गएको राजनीतिक गतिरोध र अन्योल अन्त्यका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाका दलहरूसामु दुईवटा स्पष्ट विकल्प अघि सारेका छन्— ‘कि तत्काल बहुमत पुर्याएर नयाँ सरकार गठन गर, होइन भने मेरै सरकारलाई समर्थन गरेर निकास देऊ।’
सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सिर्जित अन्योलबारे छलफल गर्न सोमबार जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले यस्तो आग्रह गरेका हुन्।
‘नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बहुमत पुर्याउँछन् भने म मार्गप्रशस्त गर्न सधैं तयार छु,’ बैठकमा बानियाँको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘तर लामो समयसम्म पनि दुई दलले बहुमत जुटाउन नसक्दा प्रदेश सरकार नै अनिर्णयको बन्दी बन्यो। त्यसैले यो अस्थिरता चिर्न सर्वदलीय बैठक बोलाइएको हो।’
मुख्यमन्त्री बानियाँले दुवै दलबाट विकल्प ननिस्किएको अवस्थामा आफ्नै नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गर्दै चाँडोभन्दा चाँडो विश्वासको मत लिएर राजनीतिक स्थिरता दिन आफू तयार रहेको बताए। चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भइसकेकाले यसको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकका आकांक्षा पूरा गर्न सरकार दत्तचित्त रहेको उनको दाबी थियो।
‘एमालेले पनि समर्थन फिर्ताबारे पुनर्विचार गरोस्, अन्य दलहरूले पनि राजनीतिक अन्योल अन्त्यका लागि सरकारलाई सघाऊन्,’ बानियाँले भने, ‘सरकारमै सहभागी नभए पनि बाहिरैबाट समर्थन गरेर अघि बढ्न सकिन्छ।’ बैठकमा उनले प्रदेशसभामा रहेका सबै दललाई लिखित रूपमै समर्थनका लागि औपचारिक पत्र हस्तान्तरण गरेका छन्।
सर्वदलीय छलफलमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपाका नेता शालिकराम जम्कट्टेल, राप्रपाका उद्धव थापा, नेमकिपाका सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल र एमालेका मधुसुदन पौडेललगायतको उपस्थिति थियो। सहभागी नेताहरूले प्रदेशको राजनीतिक अस्थिरता चाँडोभन्दा चाँडो अन्त्य गर्न आफूहरू प्रयासरत रहेको बताएका थिए।



