दोरम्बा शैलुङमा दोस्रो पालिका स्तरीय कराँते प्रतियोगिता असोज २२ र २३ गते हुने

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आगामी असोज २२ र २३ गते ‘दोरम्बा शैलुङ वादो कप–२०८३’ दोस्रो पालिका स्तरीय कराँते प्रतियोगिता आयोजना हुने भएको छ।
स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरूको खोजी, प्रोत्साहन तथा समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले दुई दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
दोरम्बा शैलुङ–६, रिस्ठेस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने यस प्रतियोगितामा पालिकाभित्रका विभिन्न डोजोका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको मुख्य आयोजक आई.डब्लु.एफ.एन. कराँते–डो संघ, शाखा डोजो कालिका मा.वि. रहेको छ भने दोरम्बा वादो कराँते–डो (दोरम्बा शैलुङ–५) र आई.डब्लु.एफ.एन. कराँते–डो संघले सह-आयोजना गरेका छन्।
दोरम्बा शैलुङ गाउँपालिकामा २०७४ सालदेखि निरन्तर रूपमा कराँते खेलको प्रशिक्षण तथा गतिविधि सञ्चालन हुँदै आएको छ। यहाँबाट उत्पादन भएका खेलाडीहरूले गाउँपालिकास्तर हुँदै प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरूमा समेत सहभागी भएर उत्कृष्ट प्रदर्शन गरिसकेको आई.डब्लु.एफ.एन. कराँते–डो संघका केन्द्रीय सदस्य, राष्ट्रिय रेफ्री तथा ५ डान प्रशिक्षक ज्ञानबहादुर थापामगरले जानकारी दिए।
“गाउँपालिकाभित्रका सम्भावना बोकेका नयाँ खेलाडीहरूको पहिचान र उनीहरूको प्रतिभा निखार्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुनेछ,” प्रशिक्षक थापामगरले भने, “खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र शारीरिक स्वास्थ्य सुदृढ बनाउन ठूलो मद्दत पुर्याउँछ।”
स्थानीय स्तरका खेलाडीहरूलाई हौसला र प्रोत्साहन प्रदान गर्न आयोजक टोलीले सम्पूर्ण खेलप्रेमी, अभिभावक, प्रशिक्षक तथा सर्वसाधारणलाई प्रतियोगिता स्थलमा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिन हार्दिक निमन्त्रणा एवं अपिल गरेको छ।



