कांग्रेस नेतृत्व रुपान्तरणमा प्राज्ञिक बहसः युवा ऊर्जा र अग्रज अनुभव जोड्दै जीवन लामा गोले

काठमाडौँ । नेपाली कांग्रेस १५औँ महाधिवेशनको सङ्घारमा पुग्दै गर्दा पार्टीको आन्तरिक संरचना, नेतृत्वको ढाँचा र नीति निर्माण प्रक्रियाबारे नयाँ ढङ्गले बहस सुरु भएको छ । परम्परागत राजनीतिक दौडधुप र पहुँचका आधारमा हुने प्रतिस्पर्धाभन्दा फरक, यसपटक तथ्य, अनुसन्धान र प्राज्ञिक जगमा आधारित नीति निर्माण हुनुपर्छ भन्ने आवाज पार्टीभित्र बलियो बन्दै गएको छ । यसै राजनीतिक वैचारिक मन्थनका बीच रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ निवासी शिक्षाविद् तथा विद्यावारिधि शोधार्थी जीवन लामा गोलेको उम्मेदवारीले पार्टी कार्यकर्ता तथा बौद्धिक वृत्तको ध्यान आकर्षित गरेको छ ।
नेपाली कांग्रेसको मूल सिद्धान्त ’राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई अङ्गीकार गर्दै महाधिवेशनको चुनावी मैदानमा ओर्लिएका गोलेको अभियान मूलतः अनुभव, ऊर्जा र संस्थागत सुधारमा आधारित छ । पार्टीभित्र प्रायः देखिने पुस्तान्तरणको बहसलाई उनले भिन्न र रचनात्मक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । उनका अनुसार पार्टीलाई बलियो बनाउन पुरानालाई विस्थापित गर्ने भन्दा पनि युवा र अग्रजबीचको समन्वय अनिवार्य हुन्छ । यसै मान्यतालाई आत्मसात् गर्दै उनले पार्टी संरचनामा नयाँ ऊर्जा र नवीन विचारको प्रवाह गर्ने, वरिष्ठ नेताहरूको गहिरो राजनीतिक अनुभव र मार्गदर्शनको कदर गर्ने तथा युवा र अग्रजबीच सक्रिय सहकार्य प्रवद्र्धन गर्ने तीन मुख्य स्तम्भमा आफ्नो अभियानलाई अगाडि बढाएका छन् । उनको मूल नारा “युवा पुस्ताको ऊर्जा, अग्रज पुस्ताको अनुभव र पुस्ताबीचको सहकार्य“ ले कांग्रेसभित्र विद्यमान पुराना र नयाँ पुस्ताबीचको दूरी घटाउने दह्रो पुलको काम गर्ने सङ्कल्प बोकेको छ ।
नेपालको शैक्षिक सुधार र बौद्धिक क्षेत्रमा जीवन लामा गोले एक परिचित नाम हुन् । देशका प्रतिभावान युवाहरू उच्च शिक्षाका लागि विदेश पलायन भइरहेको गम्भीर अवस्थालाई मध्यनजर गर्दै उनि सन् २०१५ देखि ‘नेपालमै अध्ययन गरौँ’ अभियानका प्रमुख अभियन्ताका रूपमा क्रियाशील छन् । स्वदेशमै गुणस्तरीय उच्च शिक्षाको पूर्वाधार विकास र नीतिगत सुधार हुनुपर्छ भन्ने उनको जोड रहँदै आएको छ । शिक्षा क्षेत्रमा पु¥याएको यही अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट असोज ३, २०७८ मा उनलाई प्रतिष्ठित ‘सुप्रबल जनसेवाश्री पदक’ बाट सम्मानित गरिएको थियो ।
विज्ञ तथा पेशागत समूहबाट महाधिवेशन प्रतिनिधिका लागि आरक्षित सिटबाट चुनावी मैदानमा उत्रिएका गोलेको मुख्य लक्ष्य पार्टीको नीतिगत तहलाई तथ्य र अनुसन्धानमा आधारित बनाउनु हो । केवल नारामा मात्र सीमित नभई वैज्ञानिक अध्ययन र व्यावहारिक नीति मार्फत कांग्रेसलाई २१औँ शताब्दीको चुनौती सामना गर्न सक्ने पार्टी बनाउनुपर्ने उनको तर्क छ । आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय शासनका जटिल चुनौतीहरू सामना गर्न कांग्रेसले आफ्नो आन्तरिक नेतृत्व संरचनालाई समावेशी र प्राज्ञिक बनाउनु आवश्यक भइसकेको छ । यसै सन्दर्भमा, रामेछापका स्थानीय समर्थक तथा पार्टी कार्यकर्ताहरूले गोलेको उम्मेदवारीलाई मूलधारको राजनीतिमा शिक्षित, निष्कलङ्क र व्यावसायिक व्यक्तिहरूको बढ्दो आवश्यकताको प्रतीकका रूपमा हेरेका छन् । पार्टीभित्र प्राज्ञिक बहसको सुरुवात गर्दै युवा र अग्रज जोड्ने अभियानमा होमिएका गोलेको यो कदमलाई १५औँ महाधिवेशनको एक सकारात्मक र आशालाग्दो आयामका रूपमा विश्लेषण गर्न थालिएको छ ।

गोलेले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि पेशागत तर्फ उम्मेद्वारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button