गुम्बा हलभित्रै झल्कियो रामेछापको कला, संस्कृति र पर्यटन

रामेछाप । अविरल वर्षाका कारण मन्थलीको सडकमा तय गरिएको बृहत् झाँकी र ¥याली रोकिए पनि रामेछापको समृद्ध कला, संस्कृति र पर्यटकीय सम्भावना भने गुम्बा हलभित्रै झल्किएको छ । सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस २०२६ को अवसर पारेर आइतबार मन्थलीस्थित गुम्बा हलमा आयोजना गरिएको सांस्कृतिक प्रदर्शनी तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्लाको विविधतायुक्त मौलिकता पोखिएको हो ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, रामेछापको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरूले गन्तव्यस्थललाई पर्यटकीय रौनकता प्रदान गरेका थिए । नेवार समुदायको परम्परागत लाखे नाच र पञ्चेबाजा, माझी समुदायका महिलाहरूको आकर्षक सामूहिक नृत्य तथा मगर समुदायको मौलिक सांस्कृतिक प्रस्तुतिले हलभित्र उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रमको अर्को मुख्य आकर्षण भनेको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) रामेछापद्वारा आयोजित रामेछाप चिनाउने फोटो प्रदर्शनी थियो । प्रदर्शनीमा रामेछापका प्रमुख धार्मिक, ऐतिहासिक तथा उच्च पर्यटकीय सम्भावना बोकेका २५ वटा मनमोहक तस्बिरहरू राखिएका थिए । एनएफपिजेका अध्यक्ष मिलन घिमिरेका अनुसार ती तस्बिरहरूले जिल्लाको पर्यटकीय नक्सालाई उजागर गर्न र ओझेलमा परेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद एवं उद्योग, पर्यटन, वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले रामेछापलाई पर्यटकीय हब बनाउन नीतिगत रूपमै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “छिमेकी जिल्ला दोलखाको जिरी पर्यटकीय हबका रूपमा स्थापित भइसक्दा रामेछाप अझै पनि सोचे अनुसार पर्यटकीय केन्द्र बन्न सकेको छैन,“ सांसद श्रेष्ठले भने, “अबका दिनमा यहाँका सबै सरोकारवालाहरू एक भएर अघि बढ्नुपर्छ । त्यसका लागि प्रदेश सरकारको जिम्मेवारीमा रहेका ऐन–कानुनमा आवश्यक नीतिगत व्यवस्था समावेश गर्ने म प्रतिबद्धता जनाउँछु ।“
रामेछाप भएर बग्ने तामाकोशी लगायतका नदीहरूको सही उपभोग हुन नसकेको टिप्पणी गर्दै सांसद श्रेष्ठले ती जलस्रोतहरूलाई साहसिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यस्तै, उद्योग, वाणिज्य, पर्यटन कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले स्थानीय कला र संस्कृतिको सही प्रयोगमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । तीनै तहका सरकारहरूको आपसी समन्वय, सक्रियता र पहलमा आगामी दिनहरूमा पनि जिल्लाको पर्यटन विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने घिमिरेको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button