रामेछाप नगरपालिका वडा नं. ८ ले एसईईका उत्कृष्ट विद्यार्थीलाई गर्यो सम्मान
रामेछाप । रामेछाप नगरपालिका–८ वडा कार्यालयको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ए प्लस’ ग्रेड ल्याई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक समारोहका बीच बधाई तथा सम्मान गरिएको छ। “बालबालिकामा गरेको लगानी, सुनिश्चित भविष्यको थालनी” र “मेहनतको कदर, उज्ज्वल भविष्यको आधार” भन्ने मूल नाराका साथ रामेछाप बजारस्थित वडा कार्यालयमा यो सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नगरपालिकाको वडा नम्बर ८ मा रहेका गौरीशंकर माध्यमिक विद्यालय र श्री शारदा संस्कृत माध्यमिक विद्यालयका गरी कुल १६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
वडाध्यक्ष सन्तोष तामाङका अनुसार गौरीशंकर माविका ९ छात्रा र ६ छात्र गरी १५जना तथा शारदा संस्कृत माविकी १ छात्राले एसईईमा उत्कृष्ट अंक (‘ए प्लस’) हासिल गरेका हुन्।
आगामी दिनहरूमा अध्ययन गर्ने विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, हौसला र उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले २०८३ असोज ३० गते विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूको मेहनतको कदर गरिएको वडाध्यक्ष तामाङले बताए।




