पर्यटन प्रवर्द्धन गर्न रामेछापमा पहिलो पटक ‘सम्पदा पदयात्रा’
रामेछाप। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछाप नगरपालिकामा शनिबारदेखि दुईदिने ‘सम्पदा पदयात्रा’ सुरु भएको छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको यस पदयात्रामा १ सय ५० भन्दा बढी पदयात्री सहभागी छन् ।
नगरपालिकाभित्रका ओझेलमा परेका ऐतिहासिक तथा धार्मिक गन्तव्यलाई आन्तरिक र बाह्य पर्यटकमाझ परिचित गराउन पदयात्रा थालिएको नगरप्रमुख लवश्री न्यौपानेले बताए । पदयात्राले नगर क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।
पदयात्राको पहिलो दिन शनिबार वडा नम्बर ९ ल्याङल्याङस्थित ऐतिहासिक भीमसेनथान मन्दिर परिसरबाट यात्रा सुरु गरिएको थियो । पदयात्रीको टोली भीमसेनथानबाट डुकुरसिं डाँडा, डान्सिङ गणेश, तिल्केथान गढी र भंगेरी हुँदै रामेछाप बजार पुगेर पहिलो दिनको यात्रा टुंग्याएको थियो ।
पदयात्राको दोस्रो तथा अन्तिम दिन आइतबार वडा नम्बर ६ र ७ मा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गर्ने कार्यतालिका छ ।



