राजतन्त्रको पुर्नस्थापना होला ?

आज भन्दा करिब अढाई सय वर्ष पहिलेदेखि शुरु भएको नेपालको शाह वंशीय राजतन्त्र कुलमण्डन शाहदेखि शुरु भएको थियो । उनी नै नेपालको शाह वंशीय पहिलो राजा मानिन्छन् । ‘क’ बाट शुरु भएको शाह वंश ‘ज्ञ’ ज्ञानेन्द्रको पालामा पाखा लाग्यो । २०५८ साल जेष्ठ १९ गते शुक्रबारका दिन नारायणहिटीमा भएको विश्व चकित पार्ने घटनामा तत्कालिन राजा वीरेन्द्रको वंश नाशको सत्थतथ्य अहिलेसम्म बाहिर आउन सकिरहेको छैन ।
साँच्चिकै तत्कालिन राजा वीरेन्द्र लोकप्रिय राजा थिए । सायद वीरेन्द्रको हत्या नभएको भए यति छिटै राजतन्त्र पाखा लाग्थ्यो वा लाग्थेन भन्ने प्रश्न सबै नेपालीहरुको मन मन खेलिरहेको छ । राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालको राजा बनेका ज्ञानेन्द्रले नेपालको तत्कालिन राजनीतिक परिवेशलाई राम्रो आंकलन गर्न सकेनन् । जसको कारण उनले शासन सत्ता आफ्नो हातमा लिए । आफै मन्त्रीपरिषदको अध्यक्षको समेत कार्यभार सम्हालेर शासन चलाइरहँदा राजा बिना देश सम्भव छैन भन्ने काँग्रेस पनि रिसायो ज्ञानेन्द्रसँग ।
रिसाएको काँग्रेस र पछि पछि लागेको एमालेले जंगलमा रहेको माओवादीसँग गरेको साँठगाँठ समेतको पत्तो चलेन दरबारलाई । उनीहरुले दिल्लीमा बसेर गरेको बाह्र बुँदेले अहिले पनि नेपाली राजनीतिमा खुब चर्चा पाइरहेको छ । जंगलमा भएको माओवादी समेत एक भएर राजाको विरुद्धमा भएको १९ दिने आन्दोलन ले अन्ततः राजा ज्ञानेन्द्रलाई राजनीतिक दलहरुले गरेको मागलाई सम्बोधन गर्न बाध्य बनायो ।
समय र परिस्थितिलाई राम्ररी नबिचारी शासन सत्ता आफ्नो हातमा लिए पनि ज्ञानेन्द्र साँच्चिकै देश र जनता प्रति उत्तरदायि रहेछन् भन्ने त्यत्तिबेला पुष्टि भयो जतिबेला उनले सहजै तत्कालिन प्रतिनिधि सभाको पुनस्र्थापना गरिदिए । त्यसपछि भएको भएको संविधान सभाको निर्वाचनबाट निर्वाचन नेपाली जनताका प्रतिनिधिहरुको पहिलो बैठकले राजतन्त्रको टुङ्गो लगाउने सहमति गरेका कारण उनीहरुले पहिलो बैठकबाट नै राजतन्त्रलाई पाखा लगाउने निर्णय गरे ।
संवैधानिक राजतन्त्र राख्ने वा नराख्ने भन्ने बारेमा उनीहरुले जनताको अभिमत बुझ्न चाहेनन् । यो राजनीतिक दलहरुको ठूलो कमजोरी हो । त्यसैगरी उनीहरुले ९४ प्रतिशत ओमकार परिवारको बसोबास भएको देशलाई सहजै धर्मनिरपेक्ष देशको रुपमा घोषणा गरे । संविधान निर्माणका क्रममा सुझाव संकलन गर्ने क्रममा अधिकांश नेपालीले नेपाल हिन्दू राज्य हुनुपर्छ भन्ने सुझाव दिएका थिए । ती सुझावलाई रद्दीको टोकरीमा फ्यालेर आफ्नो मनोमानी ढंगले देशलाई धर्मनिरपेक्ष बनाइयो । जनताले चुनेर पठाएका ६ सय १ प्रतिनिधिहरुले नेपाली जनतालाई दिएको सबै भन्दा ठूलो र अन्यायीपूर्ण धोका थियो ।
तत्कालिन समयमा पञ्चेको नामले चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी केपी ओलीको सरकारमा समेत सामेल भइसकेको छ । उसले अहिले पनि हिन्दू राष्ट्रको माग गरिरहेको छ ।
विश्वका कयौँ मुलुकहरुमा राजतन्त्र गएको धेरै वर्षपछि राजतन्त्र फर्केको इतिहास सांछी छन् । राजतन्त्र भएका देशहरु पनि आर्थिक र भौतिक रुपमा सम्पन्न छन् ।
राप्रपाले राजतन्त्र फर्काउछु भनेर कम्मर कसेको अवस्था छ । तर नेपाली जनताको मनमा एउटा प्रश्नले नराम्रोसँग डेरा जमाएको छ के साँच्चिकै नेपालमा अब पुन राजतन्त्र फर्किन्छ होला त ?
काँग्रेसकै कार्यकर्ताहरु पनि राजतन्त्रको पक्षमा वकालत गर्दै हिड्न शुरु गरेका छन् । हिन्दू राष्ट्रको घोषणाका लागि विभिन्न संघ संगठन गठन हुने क्रम जारी छ ।
नेपालको संविधान २०७२ सबै धर्मालम्बीहरुले आ–आफ्नो धर्मको रक्षा गर्न पाउने अधिकारलाई सुरक्षित गरेको छ । तर आर्थिक लोभ लगायत विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेहरुको जालो दिन दुगुणा रात चौगुणाको दरले बढिरहेको छ । धर्म र संस्कृति माथिको बाह्य आक्रमण भइरहेको भन्दै व्यापक विरोध भइरहेको छ । केही समय अघि मात्र सुर्खेतमा भएको मंगोल अर्गनाइजेशनको कार्यक्रम र त्यसको विरोधमा भएको हिन्दूहरुको कार्यक्रमले देशमा धार्मिक युद्ध र त्यसपछि गृहयुद्धको शुरुवात हुने हो कि भन्ने डरले आम सर्वसाधारण भयभित भएका छन् ।
कसैले आफ्नो अधिकार माग्नका लागि अर्काको अधिकारको हनन् गर्नु हुँदैन भनेर बुझ्न जरुरी छ । आफ्नो अधिकारको सुरक्षा गर्ने क्रममा अर्काको अधिकारलाई आक्षेप लगाउन पाइँदैन भन्ने कुराको हेक्का सबैमा हुनु पर्दछ ।
धार्मिक रुपमा उहिलेदेखि भातृत्वको विकास भएको नेपालमा धार्मिक रुपमा मात्र होइन संघीयताको कारणले पनि धेरै उथलपुथल ल्याएको छ । स्थानीय संरचनालाई पुर्नसंरचना गर्ने कार्यमा सर्वसाधारणबाट स्वस्फूर्त रुपमा हुने आन्दोलनले धेरै नेपालैीहरुले ज्यान गुमाउनु परेको तितो सबैका सामु घाम जत्तिकै छर्लङ्ग छ । संघीयताकै कारणले प्रदेश नं. २ मा ठूलो विवाद भयो । यसै विषयलाई लिएर मधेशमा भएको आन्दोलनमा धेरैले ज्यान गुमाउनु प¥यो भने नेपालले अघोषित रुपमा भारतको नाकाबन्दी समेत खेप्नु प¥यो । नाकाबन्दीको समयमा घुँडा नटेकेको भनेर अहिलेपनि केपी शर्मा ओलीको राष्ट्रवादलाई धेरै नेपालीहरुले स्यालुट गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुर्नस्थापना गर्ला कि नगर्ला भनेर सर्वसाधारण नेपाली मात्र होइन बाह्य शक्तिले समेत सूक्ष्म नजरले चिहाएका छन् ।