धूमधामले मनाइँदै लदिपुजा
रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलवार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफ्नो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष विधिबाट तयार गरिएको थानमा सुँगुर, भैँसी, कुखुरा, हाँस र परेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ, जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आफ्ना–आफन्तहरूबिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ ।
माझी जातिहरू परापूर्व कालदेखिकै खोलाको किनारमा बसी माछा मार्ने,डुङ्गा(नाउ)मा राखी मानिसहरूलाई खोला तारिदिने कार्य गर्दथे । उनीहरू सधैँ खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रित हुने भएकाले खोलालाई र पानीलाई भगवान् मान्दथे र पूजाआजा गर्दथे । त्यसकारण आज पनि माझी जातिहरूले त्यो परम्परालाई मनाउँदै आएका छन् । माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरू जस्तैः–सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदी–किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी–पूजालाई लदिपूजा,पानी पूजापनि भन्ने गरिन्छ । यसरी नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरामा माझी जातिको विश्वास रहिआएको छ ।
माझी समुदायको विशेष पर्व लदीपूजा धूमधामका साथ यसपालि पनि मनाइँदै छ । प्रत्येक वर्षको फागुन महिनाको साहिँली मंगलबार मनाउने लदी (कोसी) पूजाको जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाउने गर्छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझी समुदायहरूले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाउने गर्छन् ।
करिब ५२ घरधुरीको सङ्ख्यामा रहेका गाइखुराका माझी समुदायहरूले परम्परागत रूपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाउने गरेको बालकृष्ण माझीले बताए । लदीपूजा गर्नाले माझी समुदायको मुख्य पेसाको रूपमा परिचित पुर्ख्यौली पेसा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरूको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमा नदीले वर्षौनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ ।
त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥यावस् भनेर नदीको पूजा गर्ने गरेको गाइखुराका माझी समुदायका पुजारी सेते माझीले बताए । माझी भाषामा ‘छिनारी’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोसी हुन्छ । मौलिक पोसाक गुनिऊ चोली र दौरा सुरुवालमा सजिएर आउने माझी समुदायले मुन (जाँड) खाएर नाचगान समेत गर्छन् ।
माझी समुदायको लदीपूजा बुधवार बाधा फुकाएसँगै विधिवत् रूपमा अन्त्य हुन्छ । नेपालको संघीय संरचना अनुसार ७७ जिल्लामध्ये ६८ जिल्लामा माझी समुदायको बसोबास रहेको छ । ६८ जिल्लामध्ये रामेछाप जिल्लामा माझी समुदायको ठूलो संख्यामा बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार देशभरिमा माझी जातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्र माझीको जनसंख्या ६ हजार ४२ रहेको छ ।