Trending

चुनौतीका चाङबीच सम्भावनाको खोजी

रामेछाप । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर सदरमुकाम मन्थलीमा आइतबार “स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रता र चुनौतीको अवस्था“ बिषयक महत्त्वपूर्ण बहस संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा भएको यस अन्तरक्रियामा सहभागीहरूले पत्रकारिता क्षेत्रले भोग्नुपरेका बहुआयामिक संकट र आगामी बाटोबारे गम्भीर विमर्श गरे।
कार्यक्रममा पत्रकार महासंघको वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक मात्र गरिएन, जिल्लाको समग्र सञ्चार परिदृश्य समेटिएको श्रव्यदृश्य सामग्री र कार्यपत्रमार्फत यहाँको पत्रकारिताको नाडी छाम्ने प्रयास समेत गरियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले जिल्लाको मिडिया अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सञ्चारमाध्यमहरू अहिले अस्तित्वको लडाइँमा रहेको उल्लेख गरे। कार्यपत्रमा उल्लेख भएअनुसार, रामेछापमा सञ्चालित रेडियो, अनलाइन र छापा माध्यमहरू आर्थिक मन्दी, विज्ञापनको संकुचन र प्रविधिको तीव्र परिवर्तनका कारण दबाबमा छन्।
“स्थानीय पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, यो स्थानीय लोकतन्त्रको पहरेदार पनि हो। तर, जबसम्म सञ्चारमाध्यम आर्थिक रूपमा सबल हुँदैनन्, तबसम्म स्वतन्त्रताको कुरा केवल नारामा मात्र सीमित हुन सक्छ,“ पथिकले भने। उनले पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका लागि राज्यका तीनै तहका सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले पत्रकारिताको धर्म र दायित्वबारे गम्भीर धारणा राखे। उनले पत्रकारहरू सदरमुकाम र सुगम क्षेत्रमा मात्र केन्द्रित हुनु नहुने तर्क गरे।
न्यौपानेले भने, “म पत्रकार मित्रहरूलाई आग्रह गर्छु, जिल्लाको दुर्गम बस्तीसम्म पुग्नुहोस्। त्यहाँका नागरिकले भोगिरहेका वास्तविक समस्या, अभाव र सरकारको उपस्थितिको अवस्थालाई बाहिर ल्याउनुहोस्। भौगोलिक विकटताले सिर्जना गरेका चुनौतीहरूलाई उजागर गर्नु नै वास्तविक पत्रकारिता हो। समाचार लेख्दा सत्यतथ्यको गहिराइमा पुग्नुपर्छ, जसले गर्दा हामी जस्ता जनप्रतिनिधिलाई पनि काम गर्न मार्गदर्शन मिलोस्।“
त्यस्तै, मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले स्थानीय सरकार सञ्चारमाध्यमको प्रवद्र्धनका लागि सकारात्मक रहेको बताइन्। उनले भनिन्, “स्थानीय मिडियाले भोगिरहेका समस्याबारे नगरपालिका अनविज्ञ छैन। सञ्चार माध्यमको विकास र प्रवद्र्धनका लागि हामीले आवश्यक नीतिगत सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। तर, मिडियाले पनि स्थानीय सरकारका कामको रचनात्मक आलोचना र सकारात्मक पहलको उचित प्रचारप्रसारमा सन्तुलन मिलाउनुपर्छ।“
जिल्लाको शान्ति सुरक्षा र प्रशासनको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लोकतन्त्रका आधारस्तम्भहरूबारे चर्चा गरे। उनले मिडियालाई समाजको दिशा निर्देश गर्ने कम्पासको रूपमा चित्रण गरे।
थापाले भने, “अदालत, अख्तियार र मिडिया, यी तीनवटा संस्था यदि जीवन्त र निष्पक्ष भएनन् भने समाजले कहिल्यै सही दिशा पाउन सक्दैन। प्रशासनले गर्ने काममा पारदर्शिता ल्याउन र अनियमितता रोक्न प्रेसको भूमिका ठुलो हुन्छ। हामी सूचनाको हकको पूर्ण पालना गर्न प्रतिबद्ध छौँ र पत्रकारहरूले पनि मर्यादित र जिम्मेवार भएर सूचनाको खोजी गर्नुपर्छ।“
कार्यक्रममा पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरेले भने केही तीतो यथार्थ पोखे। उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले पत्रकारिता क्षेत्रलाई दिने महत्त्व घट्दै गएकोमा चिन्ता व्यक्त गरे।
“हामीले पत्रकारिताको मर्यादाका कुरा गरिरहँदा राज्यका निकायले हामीलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने पनि हेर्नुपर्छ। धेरैजसो कार्यालय प्रमुखहरू पत्रकारका कार्यक्रममा उपस्थिति जनाउन र सूचना साझा गर्न रुचि देखाउँदैनन्। यो प्रेस स्वतन्त्रता र सूचनाको हकको भावना विपरीत हो,“ नयाँघरेले आक्रोश व्यक्त गरे।
कार्यक्रममा महासंघले तयार पारेको एउटा विशेष भिडियो सामग्री प्रदर्शन गरिएको थियो, जसले रामेछापमा रहेका रेडियो, पत्रपत्रिका र बढ्दो अनलाइन पोर्टलहरूको वर्तमान अवस्था चित्रण गरेको थियो। भिडियोमा उल्लेख भएअनुसार, जिल्लामा हाल दर्ता भएका धेरै अनलाइनहरूले प्रभाव जमाए पनि तिनको दिगोपन र गुणस्तरमा अझै काम गर्न बाँकी छ।
अन्तरक्रियाको अध्यक्षता गरेका पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले सबै सरोकारवालाको सुझावलाई मनन गर्दै महासंघ अघि बढ्ने बताए। उनले भने, “हामीले आज वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक गरेका छौँ। यो हाम्रो सांगठनिक सक्रियताको एउटा प्रतीक मात्र हो। मुख्य कुरा त पत्रकारहरूको हकहित र व्यावसायिक पत्रकारिताको रक्षा नै हो। जिल्लामा पत्रकारिताले भोगिरहेका संरचनागत र नीतिगत चुनौती समाधानका लागि हामी स्थानीय सरकार र प्रशासनसँग निरन्तर संवादमा रहनेछौँ।“
रामेछापको सन्दर्भमा प्रेस स्वतन्त्रता केवल समाचार लेख्न पाउनु मात्र होइन, समाचार लेखिसकेपछि आउन सक्ने दबाबबाट मुक्त हुनु र आर्थिक रूपमा आत्मनिर्भर हुनु पनि हो। अन्तरक्रियामा उठेका सवालहरूले के प्रस्ट पारेका छन् भने, जबसम्म पत्रकारिता क्षेत्रमा व्यावसायिकता र नैतिकताको सन्तुलन कायम हुँदैन, तबसम्म लोकतन्त्रको चौथो अंगले आफ्नो गरिमा जोगाउन कठिन पर्नेछ।
सहभागी सञ्चारकर्मीहरूले सूचनाको पहुँचमा अझै पनि सहजता नभएको गुनासो गरेका थिए। सरकारी निकायबाट सूचना पाउन झन्झटिलो प्रक्रिया रहेको र कहिलेकाहीँ सूचना लुकाउने प्रवृत्ति हाबी भएको उनीहरूको अनुभव थियो। यसका लागि सबै सरोकारवाला निकायबिच समन्वय र सहकार्य अपरिहार्य देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button