खयरमा घुसको फलोअप: किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी

रामेछाप । रामेछापमा खयर किन्न आएका श्याम लिम्बुसँग डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले ३२ लाख घुस लिएको समाचार गन्तव्य टुडेमा प्रकाशन भए पछि निज डिभिजन प्रमुख भण्डारीले ध्यानाकर्षण पत्र निकालेर आफू चोखो भएको भ्रम फैलाउन खोजे । उनले ध्यानाकर्षण पत्र सँगै आफ्नो फेसबुक स्ट्याटसमा समेत आफू चोखो भएको र गन्तव्य टुडेले तथ्यहीन समाचार लेखेको भनेर गन्तव्य टुडेलाई वास्तविक तथ्यप्रति कुनै खोज नै नगरी स्वार्थी मनोवृत्ति बोकेर पेसाप्रतिको दायित्वप्रति रत्तीभर सोच नभएकाहरूबाट समाजले के आसा गर्ने जस्ता शब्द प्रयोग गरेर समाचारलाई गलत हो भन्दै पानी माथिको ओभानो हुने चेष्टा गरेका छन् ।
गन्तव्य टुडे राष्ट्रिय दैनिकले मिति २०८१÷०२÷२७ गते आफै घुस खाँदै आफै गाडी समाउन लगाउँदै भन्ने शीर्षकको समाचार प्रकाशन गरेपछि निज डिभिजन वन प्रमुख भण्डारीले आफूलाई पानी माथिको ओभानो बनाउन ध्यानाकर्षण पत्र निकाल्दै लेखे – गन्तव्य टुडे राष्ट्रिय दैनिकले मिति २०८१÷०२÷२७ गते आफै घुस खाँदै आफै गाडी समाउन लगाउँदै भन्ने शीर्षकको समाचार प्रकाशन भएकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस पत्रिकामा प्रकाशित समाचार तथ्यमा आधारित भई नलेखिएको उक्त समाचार लेख्नु अघि वस्तुगत तथ्यहरू बारेमा कुनै जानकारी नलिई प्रकाशित भएको सो समाचारमा उल्लेख विवरण सत्य नभएको ब्यहोरा आम सरोकारवालाहरूको जानकारीको लागी डिभिजन कार्यालय रामेछाप अनुरोध गर्दछ । यस कार्यालयबाट सम्बन्धित कर्मचारीहरूलाई स्पष्टीकरण सोधी अनुसन्धान भइरहेको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धानको कार्य डिभिजन बन कार्यालय, सुनसरीबाट भई रहेको र कार्यमा जो कोही दोषी भएता पनि कानुन बमोजिम कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’
आफू स्वयमले घुस लिने अनि कर्मचारीलाई स्पष्टीकरण सोध्ने कुरा ध्यानाकर्षणमा ब्यक्त गर्न लाज लाग्दैन डिभिजन वन प्रमुख भण्डारीलाई ? घुस लिने आफू भएपछि आफूलाई चाँही कसले स्पष्टीकरण सोध्छ ?
आफूले घुस खाएको कर्तुतलाई लुकाउनको लागि निर्दोष व्यक्तिलाई दोषी करार गरेर फसाउन खोजिएको प्रपञ्च आम जनमानसले बुजी सकेका छन् ! यसको खिलाफमा कानुनी कठघरामा उभिन तयार हुनु पर्छ र जनकारबाही भोग्न पनि तयार हुनु पर्छ – खयर व्यापारी श्याम लिम्बुले लेखेका छन् ।
तथ्य र प्रमाणका कुरा गरेर ठुलो रकमको घुस लिने अनि आफू जोगिन खोज्ने डिभिजन वन प्रमुख भण्डारीको यो चातुर्यता यतिमा समिति रहेन । उनले आफ्नो फेसबुक स्ट्याटसमा मध्यरातमा मनलागी जति लेख्न भ्याए । उनले लेखे – असत्य हल्ला मच्चाउन उद्धत एक सङ्गठित गिरोह असफल भएपछि आफै आतङ्कित भएको छ । कथित स्वार्थ बोकेका एक मिश्रित झुन्डको स्वार्थपूर्तिका लागि हामी मतियार बन्न सक्दैनौ। परिश्रम विना घुर्नेगरी ढाडीन खोज्ने ढोगीहरुलाई प्रश्नको सही उत्तर खोज्न भन्दा चोरीगरि लेख्ने बाटो मन पर्छ । जन हित विपरीत तथ्यहीन अशुद्ध शब्दावली प्रसारणमा लागेकाहरू प्रति खेद हामी प्रकट गर्दछौ । यसमा आम सरोकारवालाको ध्यान जान नितान्त आवश्यक छ । वास्तविक तथ्यप्रति कुनै खोज नै नगरी स्वार्थी मनोवृत्ति बोकेर पेसाप्रतिको दायित्वप्रति रत्तीभर सोच नभएकाहरूबाट समाजले के आसा गर्ने? हामी कुनै पनि प्रकारका विसङ्गतिको पक्षपोषण गरी जनहित विपरीत जाने वाला छैनौ ।
ध्यानाकर्षण निकालेर फेसबुकमा लेखेर आफू सुकिलो भएको डिभिजन वन प्रमुख भण्डारीले प्रमाण पेस गर्न खोजेका हुन् । एक खयर व्यापारी श्याम लिम्बुसँग ३२ लाख घुस लिएका भण्डारीले अर्का खयर व्यापारीसँग किलोको हिसाबमा पैसा लिएको तथ्य बाहिर आएको छ । अर्का खयर व्यापारी (आवश्यक परेको खण्डमा निज व्यापारीले भनेको÷दिएको प्रमाण पेस गर्ने गरी हाललाई नाम लुकाइएको ) सँग किलोको ६ रुपैयाँ घुस लिने गरेको पाइएको छ । निज व्यापारीले भने, सुरुमा नै कार्यालयबाट हुने काम रोकिन थाले पछि मैले पैसा बुझाउन सुरु गरेको हुँ । मैले हाकिम सापलाई किलोको ६ रुपैयाँ बुझाउँदै आएको छु ।
पैसा पाए राती १२ बजे पनि काम हुने र पैसा नपाए दिउसै समेत काम रोक्ने डिभिजन वन प्रमुख भण्डारीको रातारात धनी हुने सपनामाथि गन्तव्य टुडेले औँला उठाएपछि उनी अहिले आफ्नो गल्ती ढाकछोप हुन्छ कि भनेर ध्यानाकर्षण पत्र र फेसबुकमा स्ट्याटस लेखेर सफाइ दिन लागेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button