Trending

दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ गुराँसेमा शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा, वडा न. ५ को सह-प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले खेलकुद क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताए। उनले गाउँपालिकाका खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याएर पालिकाको पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरे।
अध्यक्ष मोक्तानले प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीहरू राष्ट्रका गहना भएको बताउँदै अब खेलाडीहरू खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नुपर्ने आवश्यकता औंल्याए। उनले गाउँपालिकाले कराँते र तेक्वान्दो प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षणको व्यवस्था गरिरहेको जानकारी पनि दिए ।
उद्घाटन समारोहमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्रप्रसाद गौतम, वडा नम्बर ७ का वडाध्यक्ष प्रविनकुमार मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सह–आयोजक वडा नम्बर ५ का वडाध्यक्ष गंगाबहादुर तामाङ, आईडब्लुएफएन कराँते डो संघका महासचिव एवम् अन्तर्राष्ट्रिय रेफ्री बुद्धराज नेगी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजयी खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कराँते खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता दोरम्बा वादो कराँते डोका अध्यक्ष ज्ञानबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगिता सहजीकरणका लागि अन्तर्राष्ट्रिय कराँते निर्मुणायक तथा यस प्रतियोगिताको रेफ्री संयोजक राम लामा ब्लोन सहित ५ जना अन्तर्राष्ट्रिय तथा १५ जना राष्ट्रिय रेफ्रीको सहभागिता रहेको छ ।
प्रतियोगितामा कोशी प्रदेशबाट १५ जना, गण्डकी प्रदेशबाट १० जना, लुम्बिनी प्रदेशबाट १० जना र बागमती प्रदेशबाट ८० जना गरी जम्मा ११५ जना कराँते खेलाडीको सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button