Trending

दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने लुम्बिनी प्रदेशले २ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ। उत्कृष्ट पुरुष खेलाडीको उपाधि ५५ केजी तर्फका रोशन गहतराजले हात पारे भने ४५ केजी तर्फकी अनमिका राउत उत्कृष्ट छात्रा खेलाडी घोषित भइन्। अनुशासित टिमको उपाधि गण्डकी प्रदेशले प्राप्त गरेको छ।

दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक प्रायोजन तथा वडा नं. ५ को सह–प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सम्पन्न प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि वडा नं. ५ का वडा अध्यक्ष गङ्गा बहादुर तामाङ कमानले खेलाडीहरूलाई जितमा अति उत्साहित नहुन र हारमा निराश नहुन आग्रह गर्दै अनुशासनमा रही खेल खेल्दा भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सकिने बताए। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले खेलकुद राष्ट्रको पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

समापन समारोहमा दोरम्बा वादो कराँते डोका अध्यक्ष ज्ञानबहादुर थापामगरले गाउँपालिकामा २०७४ सालदेखि कराँते र तेक्वान्दो खेलको विकासका लागि पहल हुँदै आएको र आगामी दिनमा थप सहयोग गरिने बताए। आईडब्लुएफएन कराँते डो संघका महासचिव तथा अन्तर्राष्ट्रिय प्रशिक्षक बुद्धराज नेगीलगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, प्रशिक्षक तथा खेलप्रेमीहरूको उपस्थितिमा विजयी खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता अन्तर्राष्ट्रिय कराँते मुख्य रेफ्री राम तामाङसहित पाँच जना अन्तर्राष्ट्रिय तथा १५ जना राष्ट्रिय रेफ्रीको सहभागितामा सम्पन्न भएको हो।

प्रतियोगितामा कोशी प्रदेशबाट १५, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट १० र बागमती प्रदेशबाट ८० गरी कुल ११५ जना कराँते खेलाडीले सहभागिता जनाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button