Trending

मन्थली नगरपालिकाले गर्यो दुई प्रअ सम्मानित

मन्थली नगरपालिकाको १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाको अवसरमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शैक्षिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ।
नगरपालिकाले स्वीकृत गरेको प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार नियुक्त भई कार्यरत प्रधानाध्यापकहरू मध्येबाट कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी भैरवी माध्यमिक विद्यालय, मन्थली–५, रामेछापका प्रधानाध्यापक दिनेश कुमार कार्की उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका हुन् । विद्यालयको शैक्षिक सुधार, व्यवस्थापन सुदृढीकरण तथा शैक्षिक वातावरण सिर्जनामा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरसभाबाट उहाँलाई सम्मान गरिएको हो।
यसैगरी, सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्यापकको रूपमा जिम्मेवारी सम्हाल्दै उल्लेखनीय कार्यसम्पादन गरेका माध्यमिक विद्यालय हर्रे चिण्डे, मन्थली–१३, रामेछापका निमित्त प्रधानाध्यापक बासुदेव न्यौपाने पनि उत्कृष्ट निमित्त प्रधानाध्यापकका रूपमा छनोट हुनुभएको छ। सीमित स्रोतसाधनका बाबजुद विद्यालयको शैक्षिक गतिविधि सञ्चालन, विद्यार्थीको उपस्थिती वृद्धि तथा शैक्षिक नतिजामा सुधार ल्याउन सक्रिय भुमिका निर्वाह गरेका कारण सम्मानित गरेको नगरपालिकाले जनाएको छ।
१८औँ नगरसभाबाट दुवै प्रधानाध्यापकलाई जनही नगद रु. ५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो। नगरपालिकाका जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयको समग्र विकासमा प्रधानाध्यापकहरूको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्तो प्रोत्साहनले शैक्षिक क्षेत्रमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, शिक्षा शाखाका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मन्थली नगरपालिकाले आगामी दिनमा पनि कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button