Trending

च्याम्पियन बन्यो भिमेश्वर प्रशुन केडेल

रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेश्वर प्रशुन केडेल माध्यमिक विद्यालय, राजगाउँ च्याम्पियन बनेको छ । माकादुमको खेल मैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा सर्वाधिक पदक जित्दै सो विद्यालयले च्याम्पियनको उपाधि हात पारेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी थिए । सीमित खेल पूर्वाधारबीच पनि विद्यार्थीहरूले देखाएको उत्साह, प्रतिस्पर्धा र अनुशासनले राष्ट्रपति रनिङ शिल्डलाई गाउँपालिकाको सबैभन्दा ठूलो खेल उत्सवका रूपमा स्थापित ग¥यो ।
भिमेश्वर प्रशुन केडेल माविले १० स्वर्ण, ६ रजत र ६ कास्य गरी कुल २२ पदक जित्दै विजेता बन्न सफल भयो । ट्रयाक र फिल्ड दुवै विधामा निरन्तरता देखाएको राजगाउँको विद्यालय प्रतियोगिताभर अग्रस्थानमा रह्यो । विशेषगरी दौड, लमजम्प र ज्याभलिन थ्रोमा विद्यालयका खेलाडीहरूको प्रदर्शन निर्णायक बन्यो ।
दोस्रो स्थानमा प्रयागेश्वर माध्यमिक विद्यालय, पकरवास रह्यो । प्रयागेश्वरले ८ स्वर्ण, ६ रजत र ६ कास्यसहित कुल २० पदक जित्दै अन्तिम दिनसम्म उपाधि प्रतिस्पर्धा कायम राखेको थियो । तेस्रो स्थानमा रहेको भारती माध्यमिक विद्यालय, भदौरेले ३ स्वर्ण, ३ रजत र ४ कास्य गरी १० पदक प्राप्त ग¥यो ।
प्रतियोगितामा दौड, लमजम्प, ज्याभलिन थ्रो, भलिबल, तेक्वान्दो र मार्चपासलगायत विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो । मार्चपासमा विद्यार्थीको अनुशासन र समूहगत तालमेल देखिँदा ट्रयाक इभेन्टमा सहनशीलता र प्रतिस्पर्धात्मक क्षमता मुख्य आकर्षण बने ।
खाँडादेवी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तेज घिसिङले राष्ट्रपति रनिङ शिल्ड विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्ने प्रभावकारी माध्यम बनेको बताए । उनले भने, “सीमित बजेट र भौतिक संरचनाको अभावका बाबजुद पनि विद्यार्थीले देखाएको प्रदर्शन उत्साहजनक छ । यही प्रतियोगिताबाट भविष्यका जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास छ ।”
“खेल केवल पदकका लागि होइन, अनुशासन, स्वास्थ्य र नेतृत्व विकासका लागि हो,” उनले थपे, “आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यवस्थित बनाउने तयारीमा छौँ ।”
आयोजकका अनुसार प्रतियोगितामा कुल ३० स्वर्ण, ३० रजत र ३४ कास्य पदक वितरण गरिएको छ । राष्ट्रपति रनिङ शिल्डमार्फत छनोट भएका खेलाडीहरूले आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा खाँडादेवी गाउँपालिकाको प्रतिनिधित्व गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button