Trending

रामेछाप उद्योग वाणिज्य संघ निर्वाचनः नेतृत्वका लागि कुमार र प्रकाश आमने–सामने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी चैत २० गते हुने निर्वाचनका लागि निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी मैदान प्रष्ट भएको हो।
निर्वाचन समितिका अनुसार, नेतृत्व चयनका लागि भएको मनोनयन दर्ता र दाबी विरोधको प्रक्रिया सकिँदा मुख्य पद मानिने अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन अधिकृत चूडामणि अर्यालद्वारा हस्ताक्षरित सूचना अनुसार, अध्यक्ष पदका लागि कुमार श्रेष्ठ र प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी कायम भएको छ।
चुनावी मैदानमा उत्रिएका कुमार श्रेष्ठले आफ्नो ९ वर्ष लामो सांगठनिक अनुभवलाई मुख्य आधार बनाएका छन्। उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत सुदृढीकरण र प्रविधिमैत्री संघको अवधारणा अघि सारेका छन्।
विशेष गरी उनले रामेछापको स्थानीय उत्पादन, कृषि र पर्यटनलाई जोडेर जिल्लाको अर्थतन्त्र बलियो बनाउने र साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि वकालत गर्ने कुरालाई जोड दिएका छन्। उनले ’सशक्त व्यवसायी, समृद्ध रामेछाप’ भन्ने नाराका साथ स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनि नवमी हार्डवेयर एण्ड सप्लायर्सका संचालक हुन् ।
त्यस्तै, अर्का उम्मेदवार प्रकाश कुमार श्रेष्ठ पनि आफ्नो प्यानल र एजेन्डासहित चुनावी प्रचारप्रसारमा सक्रिय छन्। प्रकाश कुमार श्रेष्ठ पि.के. जनरल स्टोर्सका संचालक हुन् । दुवै उम्मेदवार मन्थली नगरपालिका–१ का प्रतिष्ठित व्यवसायी भएकाले पनि यो प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै अब उम्मेदवारहरू मत माग्न व्यस्त छन्। चैत २० गते हुने मतदानका लागि जिल्लाभरका सदस्य व्यवसायीहरू उत्साहित देखिएका छन्।
रामेछापको निजी क्षेत्रलाई नेतृत्व दिने यो संस्थाको निर्वाचनलाई जिल्लाको आर्थिक र सामाजिक विकासका दृष्टिकोणले निकै महत्त्वका साथ हेरिएको छ। निर्वाचन अधिकृत अर्यालका अनुसार मतदान प्रक्रियालाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारीहरू पुरा भइरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button