रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन सुरु

रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन मन्थलीमा शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले गरिन्।
अधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न साधारण सभाले महासचिव कुमार श्रेष्ठद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष झनक बुढाथोकीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
अधिवेशनले आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ। यसअघि निर्वाचन समितिले आह्वान गरेको मनोनयन दर्ता प्रक्रियामा वरिष्ठ उपाध्यक्षसहित १४ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्।
यद्यपि अध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ। निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र निवर्तमान महासचिव कुमार श्रेष्ठबीच अध्यक्ष पदका लागि शनिबार निर्वाचन हुने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।
व्यवसायिक क्षेत्रको नेतृत्व चयनसँगै संघको आगामी कार्यदिशा निर्धारणमा अधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



