घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग, श्रीमान् पक्राउ

रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसाबाट पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ। गोकुलगंगा गाउँपालिका–६, फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरिएको हो।
इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले आइतबार मन्थलीस्थित मन्थली नगर अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ तथा अस्पतालका प्रमुख डा. केशव धामीलगायतको उपस्थिति रहेको थियो।
शर्मिला तामाङलाई गत चैत १५ गते राति उनका श्रीमान् ३६ वर्षीय गोपीलाल तामाङले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। २०७० सालमा प्रेम विवाह गरेकी उनीमाथि विवाहपछि निरन्तर हिंसा हुँदै आएको जनाइएको छ।
घाइते तामाङको प्रारम्भिक उपचार तामाकोशी अस्पताल मन्थलीमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि मन्थली नगर अस्पतालमा सारिएको थियो। दाँतमा समस्या देखिएपछि उनलाई काठमाडौं पठाइएको थियो भने उपचारपछि पुनः मन्थलीमै उपचार जारी रहेको छ। हाल उनीसँगै उनकी १२ वर्षीया छोरी गुञ्जन र ७ वर्षीय छोरा सुजल रहेका छन्। घटनामा संलग्न उनका श्रीमान्लाई प्रहरीले चैत १७ गते घरबाटै पक्राउ गरी हिरासतमा राखेको छ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले पीडितलाई न्याय दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। पीडित महिलाले आफूलाई पटक–पटक शारीरिक तथा मानसिक यातना दिइएको र कुटपिटपछि चरित्र हत्या समेत गरिएको गुनासो गरेकी छन्।



