भोटेकोशी बाढीपिडितका लागि मन्थली साकोसद्वारा एक लाख रुपैयाँ सहयोग

रामेछाप (मन्थली) — तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
साउन १० गते आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गराएको हो। नेपाल सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आह्वानलाई आत्मसात गर्दै विपद् प्रभावित नागरिकको पुनस्स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारको पीडामा साथ दिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो, विपद्मा परेका नागरिकहरूको शीघ्र उद्धार, राहत वितरण र पुनस्स्थापनाका लागि सम्बन्धित निकायहरूबाट प्रभावकारी पहल हुनेमा हामी विश्वस्त छौँ अध्यक्ष घिमिरेको भनाई छ ।
संस्थाले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।




