चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखालाई

रामेछाप । घरेलु मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यु स्टार कुनौरीलाई १–० गोलले पराजित गर्दै आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
उपाधिसँगै दिपशिखाले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको न्यु स्टार कुनौरीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगितामा विधागततर्फ दिपशिखाका सविन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै न्यु स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दिपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दीपेश कार्की उत्कृष्ट प्रशिक्षक चुनिए। विधागत उत्कृष्ट हुनेहरूले जनही ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
गत असोज २६ गतेदेखि मन्थलीमा सञ्चालन भएको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो।
आयोजक क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार समापन समारोहमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।



