कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका सबै पदहरूको मतगणना कार्य शुक्रबार बिहान औपचारिक रूपमा सम्पन्न भएको छ। गत असोज २३ गते रातिदेखि निरन्तर चलिरहेको मतगणना साता दिनभित्रै सफलतापूर्वक सकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मधेस र बागमती प्रदेशतर्फको केन्द्रीय सदस्य पदको अन्तिम परिणाम आएसँगै सम्पूर्ण २२९ पदकै मतगणना सकिएको हो। यसअघि बिहीबार राति नै लुम्बिनी, गण्डकी, काठमाडौँ उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडित कोटाका केन्द्रीय सदस्यका साथै सहमहामन्त्री, खुला तथा महिलातर्फका खस आर्य र थारू कोटाको परिणाम आइसकेको थियो। हाल सबै क्षेत्र र विधाबाट प्राप्त मतपरिणामको अन्तिम रुजु गर्ने कार्य भइरहेको र केहीबेरमा पूर्ण नतिजा आधिकारिक रूपमा घोषणा गर्ने तयारी भइरहेको छ।
राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणना परिणाम २४ गते बिहानै घोषणा भइसकेको थियो भने बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना सानेपास्थित बिपीनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो। विगतको १४ औँ महाधिवेशनमा ४ हजार ७ सय मतदाताको मत गन्न १२ दिन लागेकोमा यस पटक ७ हजार ३ ९२ मतदाताको व्यापक सहभागिता हुँदा पनि चुस्त व्यवस्थापनका कारण एक हप्तामै गणना सकिएको छ।
दिन र रात गरी निरन्तर २५ वटा छुट्टाछुट्टै टोली खटाएर मतगणना गरिएकाले नतिजा चाँडो ल्याउन सम्भव भएको सदस्य सचिव कटुवालले बताए। कुल २२९ पदका लागि प्रत्येक महाधिवेशन प्रतिनिधिले २३ वटा फरक-फरक मतपत्रमा मतदान गरेका थिए, जसअनुसार टोलीले कुल १ लाख ६२ हजारभन्दा बढी मतपत्र गणना गरेको छ। निर्वाचन समितिले कुनै पनि विवाद र अवरोधबिना अत्यन्तै सौहार्दपूर्ण वातावरणमा मतदान र मतगणना सम्पन्न भएको स्पष्ट पारेको छ। महाधिवेशनबाट निर्वाचित नयाँ सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराउने कार्यक्रम भने बडादसैँलगत्तै आयोजना गरिने भएको छ।



