जगदीश दाई एक सम्झना

२०७० कार्तिक १४ गते बिहान ५ बजे नै काठमाण्डौ जानका लागि खुर्कोटतिर हिडीसकेको थिएँ । त्यो दिन भविष्यमा मन्थलीमा नाक कान घाँटीको शिविर सन्चालन गर्ने तयारीका लागि काठमाण्डौमा बैठक आयोजना गरिएको थियो । झण्डै बिहान ७ ः १५ बजे तिर गोबिन्दजीको टेलिफोन आयो । नेटवर्क राम्रो थिएन । त्यसैले कुरा राम्रो बुझिएन । धेरै प्रयासपछि मैले बुझे, जगदीश घिमिरेज्युको देहान्त भइसकेको खवर । म स्तब्ध भए । उहाँको देहान्त अलि ढिलो या चाँडो निश्चित थियो तर अकस्मात् यो खवरले धेरै हतप्रभ बनायो । मेरा मनमा बिगतका धेरै कुराहरु चलचित्र झै आउन लागे ।

मैले बिगत सम्झदै गएँ । त्यसबखत मेरो उमेर १८ बर्षको थियो होला । एकदिन दिवंगत पत्रकार भरत भुर्तेललाई नेपाली कांग्रेसको जमल अफिसमा भेटे । त्यसवखत हामी गीत र संगीत द्धारा नेपाली काग्रेस, नेबिसंघ र यसका सिद्धान्त तथा ईतिहासका बारेमा जानकारी गराउन योगदान दिन कम्मर कसेर लागेका थियौं । मेरो उहाँसंगको चिनजान पनि क्याम्पसहरुमा गीतहरु प्रस्तुत गर्दै हिड्ने क्रममा भएको थियो । सायद त्यो २०३९ साल हुनुपर्छ । मैले किसुनजीको हातबाट नेपाली कांग्रेसको साधारण सदस्य लिइसकेको थिएँ । जब मलाई भुर्तेल दाइले भेट्नु भो, तव भन्नुभो, म आज तिमीलाई बिराटनगरका एक कुशल गीत र संगीतका ब्यक्तित्वलाई भेटाउछु । मैले हुन्छ भने ।

हामी वीर अस्पताल तिर लाग्यौं । विराटनगरबाट महेश आचार्य दाजु सायद बुवा बिरामी हुनु भएकोले त्यहा बस्नु भएको थियो । भुर्तेलदाइले परिचय गराउनु भयो । बिराटनगरका प्रजातान्त्रिक युद्धका गीतहरु मलाई सिकाइदिने आग्रह गर्नु भयो । महेश दाइले एउटा रेकर्डर खोज्नु भन्नु भो । भोटाहिटीबाट मामा दिलिप भौकाजीबाट रेकर्डर लिए । महेश दाइको मोटर बाइकको पछाडि बसेर बत्तिसपुतली तिर लाग्यौं । महेश दाईले बत्तिसपुतलीको घरमा पुगेपछि मलाई भन्नु भो, यो मेरो दिदी दुर्गा र भेनाजु जगदीश घिमिरेको घर हो । उहाँहरु अहिले बेलायतमा हुनुहुन्छ । जगदीश घिमिरे पनि रामेछाप मन्थलीको हुनुहुन्छ । उहाँ साहित्य पनि लेख्नु हुन्छ । मैले मनमनै मेरो घर साघुटारबाट काठमाण्डौं आउदा ७ घण्टा हिडेपछि आइपुग्ने बाटोमा पर्ने मन्थली सम्झिए । त्यहाको बस्ती मनमा कोरे । मनले भन्यो, सायद रणजोर र तामाकोशीको बिचको अलि अग्लो डाँडाँका केही राम्रा घर मध्ये एउटा घर हुनुपर्छ । तर त्यस बखत मलाई महेशदाइको त्यो बुलन्द गीत र संगीतसंग मात्र रुचि थियो ।

जगदीश दाईसंग मेरो भेट
जगदीश दाइसंग मेरो पहिलो भेट २०४६ सालको प्रजातन्त्रको पुनःप्राप्ति पछि मेरो गाउँ साघुँटार बजारमा भएको थियो । त्यसबेला मेरो गाउँको हेल्थपोष्टमा प्रमुखका रुपमा काम गर्दै थिए । पहिलो भेटमा नै उहाँको ब्यक्तित्व मलाई आकर्षक लाग्यो । त्यसबेला उहाँले मलाई एक प्रजातन्त्र प्रति प्रतिबद्ध युवाको रुपमा खोज्दै आउनु भएको थियो । म महाराजगन्ज क्याम्पसमा २०४२ सालमै ने.बि.संघकोे एकाइ सचिव र युनियनको कोषाध्यक्ष पनि भइसकेको थिए । भेट्नासाथ मैले मेरो घर लगे । केही कुराकानी भयो । खाजा खानुभयो । सायद त्यहाबाट उहाँ हिमगंगा गाबिस तिर लाग्नु भयो ।

जगदीश दाईसंग त्यसपछिको भेट २०४७ सालको आमनिर्वाचनको समयमा भयो । आमनिर्वाचनमा नेपाली कांग्रेसका लागि केही गाउँहरु पनि घुम्नु भयो । हामी आमचुनावको चुनाव प्रचारको समुहसंगै बाम्ती, ठोसे, रस्नालु हुदै बेतालीको आमसभामा आइपुग्दा उहाँ पनि त्यहा पुग्नु भएको सम्झना छ । त्यही समयमा तामाकोशी सेवा समितिको पुरानो घरमा चुनाव सम्बन्धी कुरा गरेको बाहेक त्यसबेलाको अरु मेरो सम्झनामा छैन । त्यसबखत डा. मधु घिमिरे पनि स्वास्थ्य शिविरका रुपमा चुनावमा लाग्नु भएको थियो ।

मैले २०४९ सालमा महाराजगन्ज क्याम्पसमा एम.बि.बि.एस् पढ्न सुरु गरेको थिएँ। भर्नाको १० महीना पछि नै साथीहरुले मलाई स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा उठाएर सभापतिमा निर्वाचित गराए । एकदिन होस्टलमा अकस्मात् टेलिफोन आयो जगदीश दाइको । म त्यहा पढ्न लागेको कुरा कुनै रामेछापका साथीद्धारा थाहा पाउनु भएछ । टेलिफोन नम्वर पत्ता लगाउनु भएछ । मलाइ बत्तिसपुतली घरमा बोलाउनु भयो ।

म उहाँलाई भेट्न बत्तिसपुतली घरमा गएँ । उहाँले मन्थलीमा भइरहेको तामाकोशी सेवा समितिको कार्यक्रमहरु बारे बताउनु भयो । मलाई खाशगरि दुईवटा काममा मेरो आवश्यकता भएको कुरा सम्झाउनु भयो । एउटा, मन्थलीमा सानो एक कोठाको स्वास्थ्य ल्किनिक थियो, त्यसमा सघाउने, दोस्रो, बिभिन्न गाउहरुँमा खानेपानीको योजना भइरहेको हुनाले दातृसंस्थाको अनुरोध अनुसार स्वास्थ्य र सरसफाई सम्वन्धी धारणा र ब्यबहार परिवर्तन बारे हरेक समुदायमा सर्बेक्षण गर्ने । बिद्यार्थी बेलामा खर्चको आवश्यकता हुने र साँघुटार घर पनि आउनु पर्ने भएकोले मलाई यो काम सहायक हुने कुरा भन्नु भयो । हरेक बिदामा एक हप्ता अघि मैले उहाँलाई टेलिफोन मार्फत मेरो बिदाको जानकारी गराउनु पर्ने भयो । मेरो जति समय हुन्छ, त्यो समयमा उहाँले मेरो कामको सुची तयार गरी राख्ने भन्नुभयो । त्यसबखत हवाइ यातायात भएकोले प्रायशः फर्कने समेत टिकट काटिएको हुन्थ्यो मेरो लागि ।

तामाकोशी सेवा समितिमा रहँदा
मेरो सम्झनामा भए अनुसार २०५० साल पौष महीनाको मेरो मिनपचास बिदामा पहिलो पटक म तामाकोशी सेवा समितिको काम लिएर आएँ । त्यसबखत मेरो लागि समितिमा भएको सानो ल्किनिकमा रहेको अनमीहरुको सीपको मुल्याँकन र सीपको बिकासको बारे र ल्किनिकको सरसफाईको बारेमा चेकलिष्ट बनाई तयार गरिदिनु भएको थियो । म त्यो काम सकेर फर्किए । म चकित खाएँ, जव मलाई उहाँले दिनको ५०० रुपैयाको दरले ७,५०० रुपैया दिनु भयो । त्यो रकम त्यसबखत ज्यादै धेरै थियो किनभने मैले हेल्थ असिष्टेण्ट भएर काम गर्दा मेरो तलव महीनाको १८०० रुपैया जति भएजस्तो लाग्छ । मलाई त्यति पैसाले झण्डै ६ महीना पुग्थ्यो ।

त्यसपछि हरेक मीनपचास बिदामा काठमाण्डौ एकदिन पनि नवसि मन्थली काम गर्न आउने क्रम जारी रहयो । २०५१ को जेठ महीनामा रामेछापको बिभिन्न गाउँमा भएका खानेपानी र सरसफाईको सर्बेक्षण गरि भटौलीबाट डफ्का हुदै बेतिनीबाट रामेछाप निस्किएर दान्सिंगटारबाट हिमगंगा गएर साँघुटार निस्किएर एक फन्का घुमे । यो बखत झण्डै २० दिनको हिडाइ थियो । भीरपानीमा साथी झनक श्रेष्ठको भीरपानी सेवा समिति थियो र त्यसको एउटा स्वास्थ्य ल्किनिक पनि थियो, डफ्कामा । पछि त्यो सित्खामा सारिएको थियो । माओबादी द्वन्द्घमा उहाँको गाउँमा बस्ने स्थिति भएन र संस्था पनि बन्द भयो । झनकजी पनि जगदीश दाइको समाजसेवाका कामहरुको सहयात्री हुनुहुन्थ्यो ।

हरेक बेला म सोच्थे, कुनै एक ब्यक्ति सामाजिक काममा लाग्नका लागि मेरो पथपदर्शक होस् भन्ने । त्यसबखत मलाई ढुगा खोज्दा देउता मिले जस्तो भएको थियो । म बिद्यार्थी बेलाको थाहा पाउने बेला देखि नै नेपाली कांग्रेस र ने.बि.संघमा भएकोले राजनीतिक झुकाव अलि बढीनै थियो । म सोच्थे, अव प्रजातन्त्रको पुनस्थापना पछि जनताको माझमा बस्नुपर्छ र उनीहरुको सुख दुखको साथी हुनुपर्दछ । नभए जनताबाट टाढा भइन्छ । प्रजातन्त्रका लागि योगदान गर्न पनि गाउँमा जाने र जनतालाई भेट्ने काम हुनुपर्छ भन्ने मेरो दृढ मान्यताले गर्दा जगदीश दाइले मलाई दिनु भएको काम मैले खोजेको जस्तै थियो ।

त्यसैले झन उहाँसंग सामिप्यता बढ्यो । त्यस्तै रामेछापमा बस्न इच्छा लाग्नुको कारण वी.पी कोइराला मेरो राजनीतिक पथप्रदर्शक भएको कारणले पनि थियो । किनभने उहाँले हरेक बिचार राख्दा नेपाल गाउँको मुलुक हो । नेपालको भलाइ भनेको गाउँको भलाइ हो । गाउँको किसानको भलाइ हो । किसान र गाउँको भलाइको कार्यक्रम नै समाजबादी नीति र कार्यक्रम हो भन्नु हुन्थ्यो । त्यसैले मेरो मनले चाहेको रामेछापलाई केही गर्ने उद्धेश्य जगदीश दाइले पुरा गराइदिनु भयो ।

रामेछापको स्वास्थ्य अवस्थालाई सुधार्न जगदीश दाइले संचालन गर्नुहूने धेरै लामा लामा बैठकहरु हुन्थे । हामी भरखर काम गर्न सिक्दै गरेकाहरुसंग पनि छलफल गर्नु हुन्थ्यो । हरेक कामलाई सुक्ष्म तरिकाले बिश्लेषण गरेर त्यसका हरेक पाटाहरुका सप्ठेरो तथा अप्ठेरोलाइ नजिकबाट नियाल्ने खुवी उहाँमा थियो। कुनै काममा हुन सक्ने जोखिमहरुको पहिल्यै भविष्यबाणी गर्नु हुन्थ्यो कहिलेकाही । त्यसैले उहाँ हाम्रो संस्था ब्यबस्थापनको नेता र गुरु दुबै हुनुहुन्थ्यो ।

२०५६ सालसम्म म बर्षमा तीन चार पटक हरेक पटक १५,२० दिनका लागि मन्थली आउँथे । मन्थलीमा कहिलेकाही मात्र उहाँसंग भेट हुन्थ्यो । धेरै जसो म काठमाण्डौ कार्यालयमा मेरो फुर्सदको समयमा जान्थे र धेरै कुराहरु सिक्थे । जव उहाँ २०५७ सालतिर वल्र्ड नेवर्स, अमेरिकाको दक्षिण एशियाको प्रतिनिधी हुनुभयो, समितिको स्वास्थ्यको बजेटमा अलि सुधार आयो । रामेछाप जिल्लाका ११ स्थानहरुमा करिव ३,३ घण्टाको फरकमा जनताको सहभागितामा वल्र्ड नेवर्सको आर्थिक सहायताले समिति मार्फत काम हुने गरि स्वास्थ्य केन्द्रको ब्यबस्था गरियो । जसमा एक जना अनमी र एक जना उनको सहायक ब्यबस्था गरियो । जुन वेला रामेछाप जिल्लामा अनमी पाउननै गाह्रो थियो । त्यसबखत महिला मृत्युदर उच्च थियो । सरकारले प्रति लाखमा ५४० भन्दथ्यो । युनिसेफ १,५०० छ भन्दथ्यो । रामेछापका महिलाहरुको औसत आयु ४९ बर्ष मात्र थियो, जबकि देशको तथ्यांकमा ५८ बर्ष थियो । बालमृत्यु दर पनि त्यत्तिकै उच्च थियो । यस्तो बेलामा हाम्रो एउटै उद्धेश्य थियो, मातृमृत्यु र बालमृत्यु दर घटाउने । महिला र बच्चाहरुको स्वास्थ्यमा सुधार ल्याउने । हरेक गाउँका हाम्रा उत्साहित साथीहरुले स्वास्थ्य केन्द्रको ब्यबस्थापनका जिम्मा लिएर सबै स्थानहरुमा धेरै राम्रो संग संचालन भइरहेका थिए ।

यस्तै त्यसबखत बनेका झण्डै १२० भन्दा बढी महिला बचत समुहहरु र खानेपानीका उपभोक्ता समुहहरु मिलेर बचत तथा ऋण सहकारी संस्थाहरुको निर्माण भइरहेका थिए । डेनिस राजदुतावासको कार्यक्रम अन्तर्गत तरकारी खेती, गोठ सुधारका कार्यक्रमहरु,यस्तै वल्र्ड नेवर्स, क्यानाडाबाट खानेपानी, सिचाई, चर्पी निर्माण धुवारहित चुल्हो निर्माण, वल्र्ड एजुकेशनबाट ,साक्षरता कार्यक्रम, यस्तै पाथ अमेरिकाबाट किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य शिक्षाका कार्यक्रमहरु, युनिसेफबाट महिला अधिकार जागरणका कार्यक्रमहरु ईत्यादि सँचालित थियो । जगदीश दाईको कुशल ब्यबस्थापन क्षमता र नेतृत्व क्षमताबाट यी सबै सम्भव भएका थिए ।

२०५२ सालको माओबादी समस्या पछि उहाँलाई अलि दिक्क लागेको थियो । हुनत हाम्रो कार्यक्रमहरुमा त्यस्तो बाधा पुगेको थिएन तर मुख्य समस्या गाउँमा स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गर्न जटिल थियो । माओबादी र नेपाली सेनाका दुबै पक्षलाई औषधी उपलब्ध गराएको बाहनामा खप्कि खानु पर्दथ्यो, कर्मचारीहरुले । एक पटक धोवीको चौकी आक्रमण हुदा हाम्रो स्वास्थ्यकेन्द्र नजिकै भएकोले धनजन जोगाउन मुश्किल परेको थियो । समाजसेवी मकर खड्का लगायतका साथीहरुको ब्यबस्थापकिय कुशलताले २ बर्षमा नै त्यो स्वास्थ्य केन्द्र आत्मनिर्भर हुन अवस्थामा पुगिसकेको थियो । त्यस्तै माओबादीको एनजिओलाई हेर्ने दृष्टिकोण अलि बक्र भएकाले कुनै झुण्ड या समुहले अप्रिय घटनाहरु घटाउने डर पनि थियो । यी सबै कारणले सबै स्वास्थ्यकेन्द्र्रका स्वास्थ्यकर्मीहरुलाई मन्थलीको अस्पतालमा बोलाइएको थियो । यति हुदा पनि सालुका तत्कालिन गाउँ जनसरकार प्रमुखले अनुरोध गरेर गाउँमा भरपर्दो स्वास्थ्य सेवा दिने संस्थानै बन्द हुने भो भन्दै फिर्ता लगेका थिए । त्यस्तै पाइप, प्यानहरु गाउँमा ढुवानी गर्न त्यत्तिकै झण्झट थियो । नेपाली सेनाका हेडक्वाटर देखि मानव अधिकारका कार्यालयहरु र सिडियो र डिएस्पी कार्यालयहरुको चिटठी लेखाएर ढुवानी गर्नुपर्ने अवस्था थियो । सायद यी सबै कारणले उहाँले एकदिन बेलुकी निराशा ब्यक्त गर्दै भन्नुभएको थियो, कतै मैले बेलायतबाट नेपाल आउने गल्ति निर्णय त गरिन?

तर मलाई उहाँ प्रति आकर्षण गराउने कारण मध्ये यो पनि थियोकि उहाँले बेलायतको कमाउ जागिर छोडेर घर बेचेर नेपालमा नै केही गर्ने अठोट लिएर आउनु भएको थियो । नेपालको पनि मन्थलीको फुंग उडेको बस्तीबाट काम प्रारम्भ गर्नुभएको थियो । त्यसबेलाका कोही पनि मानिसले मनमनै भन्थे होलान् कतै जगदीशको दिमाग त ठिक छ? तर सिधै भन्ने कसैको आंँट थिएन । किनकी उहाँसंग यसका पछाडि धेरै तर्कहरु थिए । ती तर्कहरुका अगाडि प्रश्नकर्ताका प्रश्नहरु फिका हुन्थे । मैले भने, नेपाल आउने निर्णय मेरो बिचारमा सही छ । भोलीको पिँढीले तपाईले गर्नु भएको त्यागप्रति नतमस्तक हुदै अनुशरण गर्ने दिन आउनेछ । नभन्दै अहिले आएर यो प्रमाणित भएको छकि जगदीश दाई साधारणतया त्यसबेलाको समाजले सोच्ने गरेको सुखको बाटोको उल्टो बाटो हिड्ने शाहस देखाउनु भएको थियो । जसले आज उहाँको मानव जीवनको चोलालाई सफल बनाउन मद्धत गरेको छ । पछि अन्तरमनको यात्रा पढ्दा थाहा लाग्यो, उहाँ नेपाल आउनुको प्रेरणाको श्रोत गौशाला नजिक रछ्यानमा खेलीरहेका बालबालिकाहरु रहेछन् । जसको अनुहारमा उहाँले निश्चल हाँसो देख्नुभो । आफ्नो जीवनसंग दाँज्नुभो । आफु दुखी भएको महसुस गर्नुभो । तुरुन्तै बिदेशको जागिरबाट हात धुने निर्णय गर्नुभो ।

एकपटक कुनाउरी गाउँमा वल्र्ड नेवर्सबाट एसिस्मेन्टका लागि आएका थिए । बिदेशीसंगै उहाँ पनि जानु भएको थियो । उहाँले हामीले भन्दा धेरै काम गर्नुभो । मानिसहरुले उहाँको ब्यक्तिगत जिवनको चालचलन हेर्दा कहिलेकाही जिम्मवाल भनेको पनि सुनेको छु , अलि कडा भाषा र स्वाभावमा प्रस्तुत भएको देख्दा । तर गाउँहरुमा हाम्रो कर्तब्यको कामहरु गर्दा जस्तै काम गर्न पनि तयार हुनुहुन्थ्यो । उहाँका लागि त्यस्तो बखत काम ठुलो सानो थिएन ।

वल्र्ड नेवर्समा रहँदा
जव उहाँ वल्र्ड नेवर्समा हुनुहुन्थ्यो, मलाई स्वास्थ्य प्रोजेक्टमा प्रजनन स्वास्थ्य सल्लाहकारका रुपमा राख्छु भन्नुभो । त्यसपछि म मन्थलीमा महीनाको एक हप्ता देखि १० दिन र वल्र्ड नेवर्समा सरस्वती गौतम दिदीसंग तराईका सर्लाही, सिन्धुली, धनुषा, महोत्तरी र भारतको बिहार पनि जानुपर्ने भयो । मलाई धेरै घटना मध्ये सर्लाहीको एउटा घटना याद छ । हाम्रो स्वास्थ्य शिविर थियो । जगदीश दाइ हाम्रो टिमसंगै हुनुहुन्थ्यो । बिरामीहरुको धेरै भिड भयो । अलि गर्मी पनि भइरहेको थियो । जगदीश दाई नाम लेखाउने ठाउँमा आउनु भो । सबैको दर्ता नम्वर अनुसार लाइन मिलाउन लाग्नु भो । सबैलाई भन्नुभो, कोही पनि सिरियल नम्वर बाहेक बिचमा जान पाउदैनन् । जो जान खोज्छन्, उसको जाँच हुदैन । त्यो दिनभर घाममा उहाँले सघाउनु भयो । यस्तै मन्थलीमा डा. मधु घिमिरेद्धारा पेटका बिरामीहरुको लागि स्वास्थ्य शिविर गर्दापनि रोलअनुसार बिरामीहरुलाई जाँच्न पठाउन मद्धत गर्नुभएको थियो । उहाँको मानिसहरुलाई हृदयबाटै सहायता गर्ने इच्छा र मानिसहरुलाई सानो सानो कुरामा पनि उचित न्याय दिनुपर्छ भन्ने मनको प्रतिबिम्व त्यो उहाँको काममा मैले देखे ।

राजनीतिमा रहँदा
जगदीश दाई प्र्रजातन्त्र पुनस्थापना हुनासाथ देखि नेपाली कांग्रेसको राजनीतिमा आवद्ध हुनुहुन्थ्यो । तर उहाँको अलि स्पष्ट बोल्ने स्वाभावका कारणले धेरै कांग्रेसका मानिसहरुलाई उहाँ मन पर्दैनथ्यो । तर उहाँ पनि त्यस कुरामा खाशै मतलव राख्नुहुन्न्थ्यो । देखेको कुरा भन्ने उहाँको स्वाभाव थियो । उहाँको सामाजिक ब्यक्तित्व अघि अरुको ब्यक्तित्व पुड्को लाग्दथ्यो तर राजनीतिका मानिसहरुको मुल्यांकन उ कति बर्ष देखि अनवरत त्यागी भएर झण्डा कुरेर लागिरहेको छ भन्ने कुराको पनि गणना हुने गर्छ । त्यस अनुसार उहाँको नेपाली कांग्रेसको राजनीतिक जीवन बर्षको गणनाले थोरै नै थियो । उहाँ रामेछाप जिल्लाको पार्टीको कोषाध्यक्ष र महाअधिवेशन प्रतिनिधी पनि हुनुहुन्थ्यो । तर पनि नयाँ र पुराना बिच र क्षमता नहुनेहरु र हुनेका विच स्वाभाविक प्रतिष्पर्धा देखिन्थ्यो । यतिहुदा हुदै पनि अधिकांश त्यसबेलाका जागरुक तरुणहरु उहाँको साथमा थिए । राजनीतिक दल त्यसमाथी पनि सर्बसाधारणको समुहमा आधारित दल नेपाली कांग्रेसमा अहिलेसम्म पनि यो बहसकै बिषय छकि कुनै नेता तथा कार्यकर्ताको मुल्यांकन त्यागका आधारमा मात्रै गर्ने, या क्षमता र सार्वजनिक जिवनमा निष्कलंक भएर समाजको हीतका लागि लागिराखेको योगदानलाई पनि यसमा गणना गर्ने? यी सबै कसीहरुमा मुल्यांकन गर्दा त्यसबखत कृष्णप्रसाद भट्टराइद्धारा सांसदमा उम्मेदवारी दिने प्रस्ताव राख्दा उहाँले रामहरि ढुंगेलका लागि प्रस्ताव सारीदिनु भो । झण्डै २०५६ तिर होला, उहाँले मलाई एकपटक ठट्टैमा अव भविष्यमा सासंद हुनुपर्छनि भन्नुभो । मैले पनि हुन्छ भनेको थिए । उहाँको देहाबसानको झण्डै २ महीना अघितिर म उहाँका भेट्न गएको थिएँ । उहाँले दोस्रो संबिधानसभाको चुनावको बारे कुरा गर्नुभो । मेरो पनि प्रत्यक्ष तर्फमा नाम रहेकाले के टिकट पाइन्छ त? भनेर सोध्नु भो । मैले भने मेरा नेताहरुको मर्जी । उहाँले भन्नुभो, नेपाली कांग्रेसको संस्कार अलि खराव छ । ढोका धाउनेलाई मात्रै नेताहरुले चिन्छन् । तिमी मन्थलीमा बसेर गाउँ घुम्नेलाई काठमाण्डौका नेताले देख्लान् र? त्यस्तै यो पटक उहाँको दुर्गा भाउजुलाई समानुपातिकमा प्रतिनिधित्व गराउने इच्छा पनि थियो । उहाँ नेबिसंघ स्थापना ताकाकी प्रखर महिला नेतृ पनि हुनुहुन्छ । तर मुल्यांकनका बेला पुन माथीकै प्रश्न तेर्सिन्छ, के का आधारमा नेपाली कांग्रेसमा नेता तथा कार्यकर्ताको मुल्यांकन हुने गर्दछ?

साहित्यकारको रुपमा
म सम्झन्छु, जुन दिन महेश आचार्य दाइसंग जगदीश दाईको घर गएको थिएँ, २०३९ सालताका, त्यसबेला मैले जगदीश दाइलाइ देखेको थिइन, उहाँ बेलायतमा हुनुहुन्थ्यो । उहाँको परिचय दिनुहुदा जगदीश दाइ, मन्थलीको साहित्यकार र उपन्यास लेख्नु भएको छ भन्नुभयो । तर मैले त्यो त्यति हेक्का राखेको थिइन । उहाँसंग संगै काममा हिड्दा पनि त्यो ब्यक्तित्व आखाँ अगाडि देखेको थिइन । एकदिन मन्थलीमा त्रिभुवन बिश्वविद्यालयका जनसंख्या बिषयका बिद्यार्थीहरु अध्ययन भ्रमणमा आएका थिए । संजोगले उनीहरुसंग आउनुहुने प्राध्यापक जगदीश दाइको साथी रहेछन् । कुराकानी भयो । अलि अलि रक्सी पनि पिउनु भयो । अनि गीतको माहौल सुरु भयो । मैले हरिभक्त कटुवालको पोखिएर घामको झुल्को बोलको नारायण गोपालले गाउनु भएको गीत गाएँ । मैले अलि शब्द बिगारेछु । तर उहाँलाई त्यो गीत कण्ठस्त रहेछ । मलाई सच्याउनु भयो । त्यसपछि हरिभक्त कटुवाल, बासु शशी, भुपी शेरचन, पारिजात, किशोर नेपाल लगायत सबै जसो साहित्यकारहरु र पत्रकारहरुसंगको उहाँको संगतको बारे थाहा पाएँ । उहाँले धोवी धारामा डेरा बस्दा हरिभक्त कटुवाल रक्सी खानका लागि ५ रुपैया माग्न आउथे रे तर उहाँले रक्सी खाने पैसा दिन इन्कार गरेर हरेक शनिवार बिहान मासुभात खान बोलाउनु भएको प्रशंग सुनाउनु भएको थियो । त्यसपछि मैले उहाँलाई साहित्यकारका रुपमा प्रत्यक्ष चिने । पछि जव उहाँको पहिले प्रकाशित भएका उपन्यास, कथा र कविताहरु पढ्न मौका पाएँ तव उहाँको साहित्यिक ब्यक्तित्व बुझ्ने मौका पाएँ । उहाँले नेपाल पत्रिकामा “चेतना भया” लेख्नुहुदा समसामयिक बिषयमा बेजोड बिश्लेषकको ब्यक्तित्व थाहा पाएँ ।

जव पहिलो साहित्यिक सम्मेलन मन्थलीमा हुने ठेगान भयो, एकदिन उहाँको घरमा जाँदा कार्यक्रम हुन लागेको कुरा बताउनु भयो । त्यस बखत म १ बर्षका लागि युएनडिपीमा गएको थिएँ । मैले लेखेका कविताहरु प्रकाशित गर्ने भोक जाग्यो । मेरो मनसाय बताए । उहाँले मलाई धेरै उत्साहित गर्नुभो । मैले मेरो “आत्माहरु बुद्ध भए” कविता संग्रहको पाण्डुलिपी दिएको ३ दिनमै भुमिका लेखिदिनु भो, “सुमन, जे गरेपनि कलम नविसाउनु” भनेर । त्यही भुमिकाको प्रेरणा अव मेरो जीवनभरलाई रहनेछ । त्यो पुस्तक रामेछाप जिल्लाको पहिलो बृहत साहित्यिक सम्मेलनमा शारदा शर्माले बिमोचन गरिदिनु भयो । रामेछाप जिल्लाको हालको साहित्यिक गतिबिधीलाई सधै डोर्याइरहने काम त्यस बखत उहाँको नेतृत्वमा भएका साहित्यिक सम्मेलनहरुले गरिरहनेछन् ।

धुलिखेल अस्पतालसंगको सम्वन्ध
२०६३ तिर होला, एकपटक म युएनडीपीमा हुदा नै एकदिनका लागि मन्थलीमा डा. रामकण्ठ माकाजु श्रेष्ठसंग तामाकोशी सहकारी अस्पतालको बिकासका बारेमा सरसल्लाह गर्न जानका लागि भन्नुभो । मलाई अस्पतालको सानो ल्किनिकको रुपमा हुदा देखिको अनुभव थियो । त्यसैले उहाँले मलाई पठाउन उचित ठान्नु भो । अव एकवर्षको युएनडीपीको काम सकेर मन्थली नै जानुपर्छनि भन्नु भएको थियो । मैले हुन्छ भने । म दुइदिनका लागि भागेर मन्थली आए । त्यसबखत युएनडीपीको कानुन साह्रै कडा थियो । बिदा लिएर हिड्न मुस्किल ।

डा.राम र उहाँको केही स्वाभाव मिल्दोजुल्दो छ । उहाँहरुले सोचेको ठीक कुराहरु तुरुन्त ब्यबहारमा लागु भएको हेर्न चाहने, काम गर्ने टिमलाई संगसंगै हिडाएर काम फत्ते गराउने, सधै नविन परिवर्तनका लागि सोची रहने, भएका कामहरुको सुक्ष्मतम ढंगले बिश्लेषण गरिरहने, कार्यशैलीमा गर्नुपर्ने परिवर्तनका बारेमा बताइरहने,हक्की, निडर स्वाभाव उहाँ दुबैको मिल्छ । तर कसैकसैले बिश्लेषण गर्दा अलि कडा नेतृत्व र अलि अप्रजातान्त्रिक नेतृत्व हो पनि भन्छन् । तर हाम्रो हालको कमजोरी भनेको नेतृत्वले अलि कडाढंगले प्रस्तुत नभए भनेका बेला सही काम नगर्ने खालको छ । त्यसैले पनि समाज अनुसारको नेतृत्व दिनु भएको होला जस्तो लाग्छ । जवसम्म काम गर्नेहरु सबै आफ्नो कर्तब्यप्रति जागरुक भएर आफ्नो कार्यस्थललाई आफ्नो अर्को घर सम्झेर उद्धेश्य अनुसारको सही नतिजा निकाल्न उद्धत हुने स्वाभावका हुदैनन्, तवसम्म प्रजातान्त्रिक नेतृत्वले असफलता नै बेहोर्नुपर्छ भन्ने मेरो ठम्याईछ । त्यसैले कर्तब्यपरायण सहयात्रीहरुसंग मात्र प्रजातान्त्रिक नेतृत्व कामयावी हुन्छ । प्रजातान्त्रिक नेतृत्व खोज्नेहरुले दृढ भएर कर्तब्य गरि देखाउनु पहिलो शर्त हुन्छ । मन्थलीबाट फर्कदा डा. राम र डा. बिराजले मलाई फेरि
मन्थलीमा आएर काम गर्न उत्प्रेरणा गर्नु भएको थियो ।

जगदीश दाइको ब्यक्तित्वको छाप
वास्तवमा, म जगदीश दाइको संगतले नै गाउँमा केही असल काम गर्न उत्प्रेरित थिए । कसैकसैले यो मेरो इच्छालाई पैसा कमाउन बसेको र जागिर खान बसेका रुपमा मात्र चिनेका थिए र छन् ।, जव कसैले मलाई जागिर खाएको र खुवाएको रुपमा मात्र चित्रित गर्ने कोशिष गर्दछन् ,यस्तो बेला मलाई ज्यादै दुख लाग्दछ । हो, मेरो र मेरा परिवारको भौतिक देहलाई बचाइ राख्न पैसा चाहिन्छ । त्यसैले मलाई मेरो पसिना र परिश्रम अनुसारको मुल्य खोज्ने त अधिकार प्राप्त नै छ, मैले मेरो कर्तब्य पुरा गरेपछि । तर अरु जस्तो म अमुल्य भएको घोषणा पनि गर्दिन । मैले चाहदा कमाइ राम्रै हुने ठाउँमा राम्रैसंग सेवा गर्न सक्थे । तर सेवा एउटै भएपनि मुख्य रुपमा म मेरो जन्म जिल्लाको ऋणबाट मुक्त हुन चाहन्थे। त्यो प्रेरणा मलाई जगदीश घिमिरेले आफ्नो जीवनमै लागु गरेर देखाएर दिनु भयो । त्यस्तै वी.पी कोइरालाको आदर्श र ब्यबहारको प्रेरणाले मेरो जीवनमा अभावका बिचमा पनि खुशी, सन्तोषी र अरु मेरा चिकित्सक साथीहरु भन्दा प्रिथक जीवन बाँच्ने संकल्प गर्ने साहस मिल्यो । अझ झन अभावमा बाँचेका जनताका लागि बी.पी गणेशमानले गर्नुभएको जीवनको त्यागले मैले त खाश केही पनि गरेका छुइन भन्ने बिचार आइरहन्छ अहिले पनि ।

तर जगदीश घिमिरे जिवित रहुन्जेल मैले उहाँप्रतिको यो मेरो धारणा कहिल्यै ब्यक्त गरिन । नत उहाँलाई बढाइ चढाइ गरेर केही भावनाहरु नै बताए । नत त्यसबाट नाजायज फाईदा लिने नै कोशिष गरे । सायद मलाई उहाँले मनले नै चिन्नु हुन्थ्यो र साँच्चै भाइलाई झै मायाँ दिनु हुन्थ्यो । अव मेरो पालो आएको छ । उहाँको अनुशरण योग्य गुण र कार्यशैलीलाई अरु माझ बताईरहने । सायद यो नियतिको नै ईच्छा थियो होला र मेरो भाग्यपनि,।मैले मेरो जीवनमा एक असल गुरु कमाउन पाएँ । मेरो जीवन रहनुजेल उहाँको यो गुण कहिल्यै बिर्सनेछैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button