‘फेरी’ लगाउने जोगी खोइ ?

रामेछाप । कार्तिकमा रातको १२ बजे पछि देखि घर घरमा गई विभिन्न मन्त्रोच्चारण गरी बराँठको सिङ बजाएर फेरी लगाउने आउँथे जोगीहरू । उनीहरू बिहान जय गोरखनाथ भन्दै राति फेरी लगाएको घर घरमा सिदा संकलन गर्ने गर्थे । घरमा आउने सङ्कटबाट दूर भइन्छ भनेर चल्दै आएको चलन अचेल लोप हुँदै गएको छ ।
विगतमा अन्य समुदायले झारफुक गर्न समेत लगाउने गरेकोले जोगीलाई कात्तिक र चैतमा भ्याई नभ्याई हुने गथ्र्यो । ६१ वर्षीय बुद्धिनाथ जोगीलाई पहिले कात्तिक र चैतमा उठाएको भिक्षा (सिदा)ले वर्षभरि खान पुग्थ्यो। भिक्षामा चामल, तेल, नुन, बेसार र दाल दिने चलन थियो। अहिले कतिपयले ५÷१० रुपियाँ घरको टाँडबाटै फलिदिन्छन् । उसबेला गाउँ पातलो भए पनि सामाजिक सम्मान पाइन्थ्यो । अहिले गाउँ बाक्लो छ तर समाजमा धेरै धर्मका मान्छेहरू भएकोले अपमानित हुने गरेको उनको भोगाइ छ ।
युवा पुस्तामा यो पेसा प्रति आकर्षण नै छैन। परापूर्व कालदेखि चल्दै आएको यो चलन अब बिरलै भेटिन्छ । फेरी लगाउने परम्परा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएपछि आफ्नो परम्परा जोगाउनैकालागि भएपनि बुढेसकालमा आफू फेरी लगाउँदै हिँड्ने गरेको मन्थली नगरपालिका वडा नं. २ का चेतनाथ जोगी बताउँछन् । उनी भन्छन् – ’अब हामीले गरेको पेसा छोराहरूलाई हुँदैन रहेछ । उनीहरू यो पेसा गर्न लाज मान्छन् । उल्टै हामीलाई यसरी राती राती हिँड्नु पर्दैन भन्छन् । छोराहरू आ–आफ्नै पेसामा लागि सके अब । मेरो सेखी पछि मेरो घरबाट कसैले काम गर्ने देख्दिन म ।’
घर परिक्रमा गरी घरका चार सुरमा मन्त्रोच्चारणका साथ ४ पटक फेरी लगाउनु पर्ने मान्यतालाई धान्दै आफूले फेरी लगाउँदै हिँडेको दोलखा मेलुङका युवा दीपक जोगी बताउँछन् । उनी भन्छन् –’कसै न कसैले त परम्परा जोगाउन प¥यो नि । नेपालीहरूले यसरी परम्परा भुल्दै जानेक्रममा हामी ’जोगी’हरूले पनि आफूले गर्दै आएको पेसा भुल्दै गएका छौँ ।
स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सिप अनुसारको बाजागाजा,आरन,वाद्यवादन सामाग्री वाढिरहेको सन्दर्भमा उनीहरुलाई पनि राति घर घर गई फेरी लगाउनका लागि आवश्यक पर्ने टर्च लाइट, लौरो र बजाउने सामाग्री (बराँठको सिङ) उपलब्ध गराउन सके केही हद सम्म यो पेसाको संरक्षण हुन सक्ने सम्भावना रहेको दोलखा मेलुङकै रुद्र ध्वज जोगी बताउँछन् । आफू बुढो हुँदै जानु र युवा पुस्तमा यो पेसा प्रतिको आकर्षण नहुनुले आफ्नो पेसा सङ्कटमा पर्दै गएको रुद्र बताउँछन् ।
कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीलाई अचेल चैत र कात्तिक आएको गएको थाहा हुन छोडेको छ। नयाँ पुस्ताले जोगीलाई माग्ने भिखारीका रूपमा हेर्न थालेपछि जोगी समुदायका युवासमेत वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्।
आफूलाई पृथ्वीनारायण शाहका गुरु गोरखनाथका सन्तान भएको दाबी गर्ने जोगीहरू द्वन्द्वको १० वर्ष र त्यसपछि नेपालमा भएको राजनीतिक परिवर्तनले आफ्नो परम्परागत पेसालाई असर गरेको बताउँछन्। मोरङको कानेपोखरी–७ का दुर्गालाल जोगीले भन्छन् – ‘फेरी’ राति लगाउने चलन छ। द्वन्द्व कालमा राति हिँड्न बन्द भयो। “१० वर्षको बिचमा हुर्किएको एउटा पुस्ता के हो ‘फेरी’ भन्ने अवस्थामा पुग्यो। त्यसपछि बहुधार्मिक व्यवस्था आयो। त्यसले गर्दा राति धेरैजसो घरले ‘फेरी’ नलगाउनू भन्न थाले।”
सम्मान र प्रतिष्ठा गुम्ने मात्र होइन, पुर्ख्यौली पेसाबाट घर खर्च टर्न छोडेको बताउँछन् – तेह्रथुमको फेदाप–२, जौवारिका मोहनबहादुर जोगी। मोहनबहादुर हरेक वर्ष तराई झरेर ‘फेरी’ लगाउँछन्। एक महिनासम्म डेरा बसेर ‘फेरी’ लगाउने मोहनबहादुर भन्छन्– ’जसले जोगीको मन्त्र र फुकफाकमा विश्वास गर्छन्, उनीहरूले राम्रो सत्कार गर्छन्। समाजमा सबैखाले मानिस छन्,” सम्मान र अपमान दुवै खेप्नुपरेको छ ।’
जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रूपमा एक पटक ‘फेरी’ फुकेर हिँड्नुपर्ने परम्परागत मान्यता छ । त्यसैले जतिसुकै पढे पनि उनीहरू एक पटक ‘फेरी’ लगाउन हिँड्ने गरेका छन्। पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जिलिङ र कालिम्पोङ जस्ता नेपाली भाषी सहरमा ‘फेरी’ लगाउन जानेको सङ्ख्या बढ्दै गएको जानकारहरू बताउँछन् ।
सङ्खुवासभाको सिद्ध पोखरीबाट बसाइ सरेर मोरङ आएका जोगी परिवारका अधिकांश पाका व्यक्ति ‘फेरी’ लगाउन भारततिर जाने गरेको दुर्योधन जोगीले बताउँछन् । उनी भन्छन् –’हाम्रो पुर्ख्यौली पेसा नै ‘फेरी’ लगाउने हो। आफ्नो गाउँमा खासै राम्रो दृष्टिले हेरिँदैन। त्यसैले छिमेकी गाउँ र भारततिर जाने गरेको हौँ ।’
जोगीहरू खेती गर्नु अघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन्। हरेक वर्षको चण्डी पूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुल पूजाको सामग्री विसर्जन गर्ने बेला वर्षभरि रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन्। मौलिक संस्कृति÷परम्पराका रूपमा हरेक वर्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म ‘फेरी’ फुक्नका लागि हिँड्ने यो जाति नेपालमा चलेको द्वन्द्वको मारमा परेको थियो। राति मात्र फेरी (बराँठको सिंह) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर ‘फेरी’ फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन। वर्षको दुई पटक ‘फेरी’ फुक्नाले घरमा भूतप्रेत नलाग्ने परिवारका सदस्यलाई रोगव्याध नलाग्ने र दशाहरू टरेर जाने अनि घरमा सहले बास हुने धार्मिक विश्वास छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button