अम्बर आदर्शको नाफा ६ लाख भन्दा बढी


रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ६ लाख ३४ हजार ७ सय १२ रुपैयाँ नाफा कमाएको छ ।
शनिवार मन्थलीमा सम्पन्न संस्थाको २२ औँ साधारण सभाका अवसरमा उक्त कुराको जानकारी गराइएको थियो । साधारण सभामा सचिव प्रमोद कुमार श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष रमेश ढुंगेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक पवन कुमार कठायत द्वारा प्रस्तुत लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पास गरेको थियो ।
साधारण सभाले सरिता खड्का, खत्रीको संयोजकत्वमा ३ सदस्यीय महिला उप समिति, तीर्थ सुवेदीको संयोजकत्वमा युवा तथा सदस्य बिस्तार उपसमिति, ईश्वरी कुमार श्रेष्ठको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण उप समिति, चुडाध्वज थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुका साथै रिक्त सञ्चालक समितिको सदस्य पदमा कुमार श्रेष्ठ लाई निर्वाचित गरेको छ । सो अवसरमा असल ऋणीका रूपमा केशर विश्वकर्मा, अधिक शेयर खरिदकर्ता सागर सुवेदी र अधिक बचत कर्ता गणेश थपलिया लाई प्रशंसा पत्रले सममान गरिएको थियो ।
साधारण सभा सहकारी संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले गरे । जिल्लामा रहेका साना सहकारीहरू टिक्न मुस्किल भइरहेको वर्तमान सन्दर्भमा उस्तै प्रकृतिका संस्थाहरू सँग मर्ज हुन जरुरी रहेको बताए । उनले भाखा नाघेको ऋण सबै सहकारी हरूको चुनौतीको विषय भएको भन्दै भाखा नाघ्न नदिने गरी क्रियाशील भएर काम गर्न सबै सहकारी सञ्चालक हरूलाई अनुरोध गरे । त्यस्तै जिल्ला बचत संघका महासचिव शिवराज श्रेष्ठले सबै सहकारीका शेयर सदस्यहरू साधारण सभामा उपस्थिति हुने क्रम घट्दै गएकोले यस्ता साधारण सभालाई वैज्ञानिक र सरलिकृत ढंगवाट सञ्चालन गर्ने विधि निर्माण गरिनुपर्ने कुरालाई जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button