मन्थलीमा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै व्यक्तिको स्वास्थ्य, अनुशासन र जीवनशैलीमा पर्ने सकारात्मक प्रभावका कारण नगरपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। सरोकारवाला निकायका सुझावहरू आत्मसात् गर्दै खेल पूर्वाधार विस्तार र प्रतिभा विकासमा नगरपालिका निरन्तर लागेको उनले बताए।
उद्घाटन कार्यक्रमलाई उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली काँग्रेस मन्थली नगर समितिका सचिव रमेश काफ्ले, नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, नेकपा (माओवादी) रामेछापका नेता राम तामाङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीलगायतले सम्बोधन गर्दै स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले बालबालिकाको क्षमता उजिल्याउन मद्दत गर्ने धारणा राखे। उनीहरूले खेलकुदलाई विद्यालय शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँग जोडेर हेर्नुपर्ने आवश्यकता पनि उठाए।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीका अनुसार प्रतियोगितामा नगरभित्रका २० माध्यमिक विद्यालय सहभागी छन्। भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्डो, उसु, कराँतेलगायतका खेलहरू समावेश गरिएका छन्। उद्घाटनको दिन सहभागी विद्यालयका स्काउट समूहले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए, जसले मैदानमा उत्साहको रंग भरेको थियो। साथै भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरू उद्घाटनका दिनदेखि नै प्रतिस्पर्धात्मक रूपमा सुरु भएका छन्।
महिला भलिबलतर्फ मन्थली मावी र सिद्देस्वर मावी दमदार खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेका छन्, जसले प्रतियोगिता झन् रोचक बनाएको थियो । तेस्रो स्थानका लागि रुद्राक्षेश्वर मावी र सेतिसेवी मावीबीच आज प्रतिस्पर्धा हुनेछ। करातेमा भने मन्थली माविले निकै प्रभावशाली प्रदर्शन गर्दै १२ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल २३ पदक जित्दै प्रथम स्थानमा उक्लिएको छ। तामाकोसी बोर्डिङ स्कुलले ४ रजत र ५ कास्यसहित ९ पदकका साथ दोस्रो स्थान सुरक्षित गरेको छ भने हर्रेचिन्डे माविले १ रजत र ८ कास्य मिलाएर ९ पदकसहित तेस्रो बनेको छ। लिट्टिल स्टार बोर्डिङ स्कुलले १ रजत र ३ कास्य गरी ४ पदकका साथ चौथो स्थान हासिल गरेको छ।
एथलेटिक्सतर्फ पनि निलकण्ठेश्वर मावि कठजोरका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन देखाए। छात्रा १५०० मिटर दौडमा यस विद्यालयका विद्यार्थीहरूले प्रथम र द्वितीय दुवै स्थान सुरक्षित गरे भने छात्र १५०० मिटरमा पनि निलकण्ठेश्वर माविले नै प्रथम स्थान जित्दै आफ्नो प्रभुत्व प्रदर्शन ग¥यो। यी प्रारम्भिक नतिजाले विद्यालयहरूबीच प्रतिस्पर्धा अझ कडा हुने संकेत दिएका छन्।
प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय तहमा खेलकुदको प्रवद्र्धन, प्रतिभा पहिचान र अनुशासित खेल संस्कृतिको विकासका लागि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ, र यसले मन्थली नगरपालिकामा खेलकुदको उज्ज्वल भविष्यतर्फको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।



