गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारि

रामेछाप । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा शुभारम्भ भएको छ । खेलकुद विकास समितिको आयोजनामा तथा कमलादेवी माध्यमिक विद्यालय र वडा नं. ५ को व्यवस्थापनमा हिजो (शुक्रबार) सुरु गरिएको कार्यक्रममा माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
कमलादेवी माध्यमिक विद्यालय पधानाध्यापक रविराज खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ उपस्थित थियो । आफ्नो मन्तव्य राख्दै उहाँले स्थानीयस्तरमा खेलकुद प्रवद्र्धनले राष्ट्रिय खेलक्षेत्रको आधार बलियो बनाउने भन्दै विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिता अत्यन्त महत्वपूर्ण हुने बताए ।
त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरणका पूर्व मन्त्री शान्तिप्रसाद पौडेलले खेलकुदले युवा ऊर्जा सकारात्मक दिशामा लग्ने र समाजमा अनुशासन तथा नेतृत्व क्षमता विकासमा योगदान पु¥याउने उल्लेख गरे । रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेश तथा राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्यसहित गाउँ–गाउँमा खेलकुद गतिविधि विस्तार भइरहेको बताए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष काजि बहादुर खड्काले खेल क्षेत्रमा गाउँपालिकाले कुनै कसर नराखि सहयोग गर्ने बताए सथै खेलकुद प्रतियोगिताले विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धा र स्रोतसाधन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई, वडा नं. ५ का अध्यक्ष दिपक कार्की वडा नं. ६ का अध्यक्ष एवं प्रवक्ता चन्द्रबहादुर सुनुवारले पनि आ–आफ्ना भनाइ राख्दै प्रतियोगिताले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सद्भाव बढाउने विश्वास व्यक्त गरे । उनीहरूले खेलकुद पूर्वाधार विकास र छात्र–छात्राको प्रतिभा अभिवृद्धिमा गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको जानकारी पनि दिए ।
प्रतियोगिता अन्तर्गत विभिन्न एथलेटिक्स र अन्य खेलकुद प्रतियोगितामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । निर्धारित अवधिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विद्यालयलाई सम्मानसहित पुरस्कार प्रदान गरिने खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताले स्थानीयस्तरमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्न र खेलकुदप्रतिको रुचि बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । उद्घाटन समारोहमा वडा अध्यक्षहरु, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
गोकुलगंगा गाउँपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धा र सद्भाव सुदृढ गर्ने उद्देश्य राखेको छ । विभिन्न एथलेटिक्स, खेलकुद तथा शारीरिक प्रतियोगिताहरू मार्फत सहभागी विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् ।
प्रतियोगिता पहिलो दिनको खेलमा विभिन्न खेल विधामा सहभागी विद्यालयहरूले उल्लेख्य पदक हासिल गरेका छन् । श्री जट्टेश्वरी मा.वि., चुचुरे — १ स्वर्ण, १ कास्य, श्री साउनदेवी मा.वि., चुचुरे — २ स्वर्ण, श्री शारदा मा.वि., ठोसे — १ स्वर्ण, २ रजत, २ कास्य, श्री गोकुलगंगा मा.वि., रस्नालु — १ स्वर्ण, २ रजत, १ कास्य, श्री जनजागृत मा.वि., बेताली — १ स्वर्ण, ४ रजत, १ कास्य, श्री कमलादेवी मा.वि., नामाडी — २ स्वर्ण, १ कास्य र श्री मा.वि., फुर्पु — १ कास्य जितेका छन् ।
प्रतियोगितामा ३००० मिटर दौड, १०० मिटर दौड, लाम्जम्प तथा ४×४०० मिटर रिलेदौड लगायतका विधाहरू समावेश गरिएको थियो । विद्यार्थीहरूले विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका छन् ।
प्रतियोगिता निर्धारित समयसम्म निरन्तर सञ्चालन हुने र उत्कृष्ट खेलाडी तथा विद्यालयलाई पुरस्कारसहित सम्मान प्रदान गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।



