Trending

लिखु तामाकोशीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा

रामेछाप – लिखु तामाकोशी गाउँपालिका धोबीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। विगत एक वर्षमा हासिल उपलब्धि, चुनौती र आगामी कार्ययोजना मूल्याङ्कन गर्न आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहाल सभाध्यक्ष तथा अध्यक्ष केशव महत प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा सेतो गुराँस गाउँपालिका मेन्टर, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (विव्यस) का सदस्य, शिक्षक, अभिभावक र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रह्यो ।

सभाध्यक्ष दाहालले प्रारम्भिक बालविकास सेवाको महत्व औंल्याउँदै सेतो गुराँसले छोटो समयमै सकारात्मक प्रभाव छोड्न सफल भएको बताए। अध्यक्ष महतले बालबालिकामा लगानी भविष्यमा लगानी गर्नु भएको समान रहेको उल्लेख गर्दै शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासमा सेवाको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विगत वर्षका गतिविधि, बालकेन्द्रित शिक्षण विधि, शिक्षक तथा सहजकर्ताको क्षमता विकास, अभिभावक सचेतना, पोषण, स्वास्थ्य र सुरक्षित वातावरण निर्माणका प्रयासको समीक्षा गरिएको थियो। मेन्टरहरूले सिकाइ र सकारात्मक अभ्यास प्रस्तुत गर्दै स्थानीय आवश्यकता अनुसार कार्यक्रम सुधार्न सुझाव दिए ।

विद्यालय र विव्यस प्रतिनिधिहरूले बालविकास केन्द्र र विद्यालयबीच सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रम संयोजक कोपिला भुजेलले विगत वर्षका उपलब्धि, चुनौती र आगामी योजनाबारे प्रस्तुति दिँदै समुदाय, विद्यालय र स्थानीय सरकारको सहकार्यले कार्यक्रम सफल भएको जानकारी गराइन् ।

आयोजकहरूले कार्यक्रमले सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको एक वर्षको यात्रा मूल्याङ्कन गर्दै भविष्यका लागि स्पष्ट दिशा तय गर्न सहयोग गरेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button