खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे पनि भूगोलको अवस्था, बजेट अभाव र आन्तरिक आम्दानीको स्रोत नहुँदा खेलकुद क्षेत्रको आवश्यक भौतिक संरचना निर्माण गर्न कठिनाइ भइरहेको बताए । केन्द्रबाट प्राप्त राजस्व बाँडफाँटको सीमित बजेटले खेल क्षेत्रको पूर्वाधार विकास सम्भव नभएको उनको भनाइ थियो । यद्यपि, भौतिक अवस्था पर्याप्त नभए पनि विद्यालयहरूले खेलकुदलाई माया गर्दै विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएकोमा उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले आन्तरिक स्रोतको अभावका कारण चाहेजति बजेट विनियोजन गर्न नसकिएकोमा दुःख व्यक्त गरिन् । खेल क्षेत्रका आवश्यकता धेरै भए पनि केन्द्रबाट प्राप्त सीमित बजेटका कारण दायित्व पूरा गर्न कठिन भएको उनको भनाइ थियो ।
गाउँपालिकाका पूर्व अध्यक्ष प्रेम तामाङले राष्ट्रपति रनिङ शिल्डलाई नियमित रूपमा सञ्चालन गर्नु नै खेलकुद क्षेत्रको विकास भएको बताउँदै शिक्षा र खेल दुवैलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले विद्यार्थीले खेलमार्फत जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने अवसर पाउने भएकाले खेलकुदलाई मायाका साथ अघि बढाउन आग्रह गरे । शिक्षा, खेल र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगरेसम्म देश समृद्ध हुन नसक्ने उनको भनाइ थियो ।
गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष तेज घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष अक्कलबहादुर भण्डारीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, तेक्वान्दो, दौड, लमजम्प, ज्याभलिन थ्रोलगायत विभिन्न खेल विधा समावेश छन् ।
पहिलो दिन सम्पन्न खेलमा छात्रा लमजम्पतर्फ भिमेश्वर प्रशुन माध्यमिक विद्यालय प्रथम, श्री प्रयागेश्वर माध्यमिक विद्यालय द्वितीय र प्रगतिशील माध्यमिक विद्यालय तृतीय भए । छात्रतर्फ खाँडादेवी माध्यमिक विद्यालय प्रथम, श्री प्रयागेश्वर माध्यमिक विद्यालय द्वितीय र भारती माध्यमिक विद्यालय तृतीय भए ।
यस्तै १०० मिटर दौड छात्रतर्फ श्री प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, खाँडादेवी माध्यमिक विद्यालय द्वितीय र प्रगतिशील माध्यमिक विद्यालय तृतीय भए भने छात्रातर्फ श्री प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, बुद्ध भवानी माध्यमिक विद्यालय द्वितीय र विष्णु जनज्योति माध्यमिक विद्यालय तृतीय भए ।
३ किलोमिटर दौड छात्रातर्फ भारती माध्यमिक विद्यालय प्रथम, श्री प्रयागेश्वर माध्यमिक विद्यालय द्वितीय र भिमेश्वर प्रशुन माध्यमिक विद्यालय तृतीय भए । छात्रातर्फ भने श्री प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, भारती माध्यमिक विद्यालय द्वितीय र विष्णु जनज्योति माध्यमिक विद्यालय तृतीय भएका छन् ।
मार्चपासमा जि.एन. अङ्ग्रेजी बोर्डिङ स्कुल प्रथम, श्रीकृष्ण माध्यमिक विद्यालय दोस्रो, विष्णु जनज्योति माध्यमिक विद्यालय तृतीय र प्रयागेश्वर माध्यमिक विद्यालय सान्त्वना भए ।
ज्याभलिन थ्रोतर्फ छात्रातर्फ श्री प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, प्रगतिशील माध्यमिक विद्यालय द्वितीय र खाँडादेवी माध्यमिक विद्यालय तृतीय भए । छात्रातर्फ पनि श्री प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, प्रगतिशील माध्यमिक विद्यालय द्वितीय र खाँडादेवी माध्यमिक विद्यालय तृतीय भएका छन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने खाँडादेवी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष तेज घिसिङले जानकारी दिए ।



