प्रगतिशील माविको हीरक महोत्सव सम्पन्न

रामेछाप — खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) शनिबार भव्य रूपमा मनाएको छ। आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका थिए।
महोत्सवको अवसरमा विद्यालयले स्मारिका विमोचन गर्नुका साथै विद्यालयलाई सहयोग पुर्याउने चन्दादाताहरूको नामावली अङ्कित शिलालेख अनावरण गरेको छ। कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान दिने चन्दादाता, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, कर्मचारी र जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
विद्यालयका प्रधानाध्यापक रामबहादुर श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले अब भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने र त्यसका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
स्थानीय अभिभावक, विद्यार्थी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।


