Trending

कलेज पढ्ने बिद्यार्थीको सहयोग विद्यालयका भाइबहिनीलाई

रामेछाप ।रामेछापको उच्च हिमाली भेगमा अवस्थित शैलुङ गाउँपालिका, जहाँको प्राकृतिक सौन्दर्य जति लोभलाग्दो छ, चिसो उति नै कष्टकर हुन्छ । यही ठिही र सिरेटोको बीचमा रहेको वडा नं. ३ स्थित श्री हरेराम आधारभूत विद्यालय ढाँडेका बालबालिकाहरूका लागि यो वर्षको हिउँद एउटा सुखद स्मृति बनेर आएको छ । काठमाडौँको तिनकुनेमा रहेको पद्मश्री कलेजमा सुचना प्रविधि धार अन्तर्गत ७ औँ सेमेस्टरमा अध्ययनरत सृष्टि थापा, लक्की बुढाथोकी , आकृती गौतम, इशा खड्का, डोइस्मा गुरुङ, अनिश खत्री, बिकास कुमार चन्द्र, अनुश शर्मा, लक्ष्मण डागी, कृतन योगि, शितल खड्का, प्रतीक बानियाँ १२ जना युवा विद्यार्थीहरू एउटा विशेष मानवीय लक्ष्य बोकेर यो दुर्गम बस्तीमा आइपुगेका हुन् । उनीहरूले केवल सहरको सुविधायुक्त जीवनलाई मात्र बाँचेनन्, बरु भाइबहिनीहरूको दुःखमा मल्हम लगाउन काठमाडौँदेखि शैलुङको उकालो काट्ने साहस गरे ।

यस पवित्र अभियानको जग काभ्रे जिल्ला निवासी समाजसेवी प्रमोद चौलागाईंको आर्थिक उदारताबाट निर्माण भएको हो । चौलागाईंको आर्थिक सहयोग र कलेजका विद्यार्थीहरूको सक्रिय व्यवस्थापनमा विद्यालयका ५२ जना बालबालिकाहरूका लागि न्यानो कपडाको प्रबन्ध मिलाइयो । जब ती साना नानीबाबुहरूले आफ्ना हातमा न्यानो लुगाहरू थापे, उनीहरूको मुहारमा देखिएको चमकले शैलुङको चिसोलाई समेत बिर्साइदिएको महसुस हुन्थ्यो । विद्यार्थीहरूले सामान वितरण मात्र गरेनन्, बरु उनीहरूले दुर्गमका बालबालिकासँग आत्मीयता गाँस्दै भविष्यका सपनाहरू बाँड्ने काम पनि गरे ।
लुगा वितरणको औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले एउटा चेतनामूलक अभियान पनि सञ्चालन गरे । उनीहरूले गाउँका भाइबहिनीहरूलाई स्वास्थ्य, व्यक्तिगत सरसफाइ र शिक्षाको महत्वका बारेमा विस्तृत रूपमा जानकारी गराए । हात धुने सहि तरिकादेखि लिएर स्वस्थ जीवनशैली अपनाउनेसम्मका व्यावहारिक कुराहरू सिकाउँदा बालबालिकाहरू निकै उत्सुक देखिन्थे । यसरी सहरका दाइ–दिदीहरूले दिएको ज्ञानले ती बालबालिकामा शिक्षाप्रति थप रुचि जगाएको पाइएको थियो, जसले यो कार्यक्रमलाई केवल राहत वितरणमा मात्र सीमित नराखी एउटा शैक्षिक जागरणको स्वरूप प्रदान ग¥यो ।
स्थानीय स्तरमा यस कार्यको ठूलो प्रशंसा भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ६ का वडा अध्यक्ष टीका प्रसाद गौतमले युवाहरूको यो जोस र सेवाभावको उच्च कदर गरे । उनले स्थानीय सरकारले शिक्षा र पूर्वाधारमा लगानी गरिरहेको भए पनि यसरी सहरका विद्यार्थीहरू स्वयं उपस्थित भएर सहयोग गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने धारणा राखे । गौतमले युवाहरूलाई यस्ता सत्कर्महरू अन्य विकट स्थानमा पनि विस्तार गर्न प्रोत्साहित गरे, जसले गर्दा अभावमा रहेका बालबालिकाहरूले राज्य र समाजको उपस्थिति महसुस गर्न सकून् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक राज तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक लिला नाथ ढुङ्गेल, शिक्षक–शिक्षिका र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सबैले समाजसेवी प्रमोद चौलागाईं र पद्मश्री कलेजका विद्यार्थीहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरे ।
जब युवा शक्ति र सामाजिक भावना भएका व्यक्तिहरू एकजुट हुन्छन्, तब सानो प्रयासबाट पनि ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने यो कार्यक्रमले पुष्टि गरेको छ । ढाँडेका ५२ जना बालबालिकाको शरीरले मात्र होइन, बरु सहरका विद्यार्थीहरूको यो आत्मीय स्पर्शले उनीहरूको मनले पनि न्यानोपनको महसुस गरेको छ ।
कार्यक्रममा उस्थित सृष्टि थापाको अनुुुुुसार यो कार्यक्रम वास्तवमा कलेजले आयोजना गर्नुपर्ने एउटा सामाजिक उत्तरदायित्वको कार्यक्रम थियो, जसलाई हामीले आफ्नो टिममार्फत अगाडि बढाएका हौं ्र हाम्रो सोच यो थियो कि हामीले आफ्नै गाउँघरका साना बालिकाहरूलाई ट्र्याकसुट दिएर, उनीहरूलाई स्वच्छता र आत्मविश्वासको शिक्षा दिन सकिन्छ भन्ने कुरा हामीले देखेका थियौँ। उनले थपिन हामीलाई लाग्छ, सानो सहयोगले पनि उनीहरूमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, र यस कार्यक्रमले उनीहरू पनि भविष्यमा राम्रो काममा लाग्ने प्रेरणा पाउनेछन् । ३ सी सी कार्यक्रममा, केटीहरूको समूहले सामाजिक कार्यक्रम र केटाहरूको समूहले शैक्षिक कार्यक्रम सञ्चालन गरेको थापाले बताइन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button