पहिले कलममार्फत जनताको समस्या उठाए, अहिले जनताको आवाज उठाउन चुनावमा होमिए !

अनुशा थापा । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । चुनावका लागि उम्मेदवारी दर्ता र अन्तिम उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ । यसपटकको चुनाव देश र जनताका लागि विशेष छ । किन कि यो चुनावले देशको भविष्य निर्धारण गर्छ ।
जनताले सही व्यक्तित्व छान्न सके भने मात्र देशले मुहार फेर्छ । यसपालिको चुनावमा धेरै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । देश बनाउने भिजन भएका तर पार्टीलाई बुझाउने पैसा नभएकाहरु स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका छन् ।
तिनैमध्येका एक काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका उमेश थापा पनि हुन् । उनको चुनाव चिन्ह ठेकी रहेको छ । भुम्लु गाउँपालिका–२, सिम्थलीका थापा युवा हुन् । पहिलोपटक उम्मेदवारी दिएका ३० वर्षीय युवक उनले स्नातक उत्तीर्ण गरेका छन् ।
स्नात्तकोत्तर गर्ने तयारीमा रहेका उनी पेशाले पत्रकार हुन् । देश, जनता र समाजका लागि कलममार्फत आवाज बनेका उनी अब सदनबाट प्रत्यक्ष जनताको आवाज उठाउने यात्रामा होमिएका छन् । यो यात्रामा क्षेत्र नम्बर २ का जनताको साथ र सहयोग निकै आवश्यक छ ।
२०५२ माघ २६ गते जन्मिएका थापासँग देश र जनताको लागि काम गर्नुपर्छ भन्ने दृढ अठोट छ । यही अठोटका कारण जनताले उनलाई आफ्नो प्रतिनिधि चुन्ने सम्भावना बलियो देखिन्छ । अर्कोतिर, थापा स्वच्छ छवि भएका व्यक्ति हुन् । उनी कुनै पार्टीमा आबद्ध छैनन् ।
सिम्थलीबाट पहिलो उम्मेदवारी
देशमा पटकपटक राजनीति परिवर्तन भयो । पञ्चायती व्यवस्था हुँदै बहुदलीयबाट लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा सिम्थलीबाट कसैले उम्मेदवारी दिएका छैनन् । थापा नै पहिलो हुन् । स्वच्छ र निष्पक्ष पत्रकारिता गरेका उनीसँग चुनावमा खर्च गर्न पैसा नहोला तर देशका लागि केही गर्नुपर्छ भन्ने संकल्प छ । जनताले मौका दिएमा उनले काम गरेर देखाउनेछन् ।
बारम्बार पार्टी निर्वाचित, खोइ परिवर्तन ?
क्षेत्र नम्बर २ मा आजसम्म स्वतन्त्रले चुनाव जितेका छैनन् । पार्टीको उम्मेदवार नै निर्वाचित भइरहेका छन् । जनताले बारम्बार पार्टीलाई मतदान गरे, तर मुख्य प्रश्न परिवर्तन खोइ ? भन्ने हो । पञ्चायती व्यवस्थामा शैलेन्द्रकुमार उपाध्यायलगायतले जिते । उनीहरु राप्रपाका थिए । बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा गोविन्दनाथ उप्रेतीले नेकपा एमालेबाट विजयी हासिल गरे ।
२०५६ मा काँग्रेसबाट राजेन्द्र खरेलले चुनाव जिते । २०६४ मा नेकपा माओवादीले विजयी हात पार्यो । २०७० मा एमालेबाट विदुर सापकोटाले जिते । २०७४ र २०७९ मा एमालेबाट गोकुल बाँस्कोटाले जिते । पार्टीलाई जनताले पटकपटक आफ्नो महत्वपूर्ण मत दिए । तर, काठमाडौं उपत्यकासँगै जोडिएको काभ्रेपलाञ्चोकसँग विकासको कुनै साइनो नै छैन ।
कर्णाली प्रदेशका जिल्लामा नेटवर्क पुगिसक्यो । तर, काभेपलाञ्चोक क्षेत्र नम्बर २ का कतिपय पालिकामा फोन गर्न डाँडामा पुग्नुपर्छ । नेटवर्क टिप्दैन । उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं वा जिल्लाको सदरमुकाम नै आउनुपर्छ । स्वास्थ्य चौकीमा सिटामोल पाइँदैन । स्कूल जानका लगि बालबालिका घण्टौं हिँड्नुपर्छ । क्षेत्र नम्बर २ मा जति विकास भयो, गोविन्दनाथ उप्रेतीको पालोमा भयो ।
अरु सबैले काभ्रेलाई कमाइ खाने भाँडो बनाए । काभ्रेबाट भोट जिते, सबैले उपत्यकामा घर बनाए । बाँस्कोटाको लोकन्थलीमा ठूलो घर छ । खरेलले नयाँ बानेश्वरमा घर बनाएका छन् । सापकोटाको चाबहिलमा घर छ । माओवादीबाट चुनाव जितेका सांसदले पनि विभिन्न ठाउँमा घर बनाएको बताइन्छ । घर नबनाउने र जिल्लामै बस्ने उप्रेती मात्र हुन् ।
चुनाव जित्ने, कमाउने अनि काठमाडौंमा घर बनाउने, गाडी चढ्ने, मोज गर्ने । नेताहरुको सोच यतिमै सीमित देखिन्छ । क्षेत्र नम्बर २, दोलालघाटमा कोशी छ । त्यहाँको गिट्टी, बालुवा निकाल्ने अनि बेचेर खाने । यस क्षेत्रमा घना जंगल छ । रुख बेच्ने, माटो बेच्ने, ढुंगा बेच्ने अनि त्यो पैसा उपत्यकामा ल्याएर लगानी गर्ने । अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले गरेकै यही हो ।
त्यहाँको जनताको मत लिने, त्यहाँको सम्पत्तिको दुरुपयोग गरेर आफू कमाउने । पार्टीबाट चुनाव लड्नेहरुले कति काम गरे ? कस्तो काम गरे ? जनताले ख्याल गरिराखौं । चुनाव जितेपछि नेताहरु कतिपटक निर्वाचन क्षेत्रमा गए ? जनताको कुरा सुने र सदनमा उठाए ? कार्यकाल सकिसकेपछि नेताहरुले यतै सेटल भए, जनतालाई फर्केर पनि हेरेका छैनन् ।
जनतालाई आपतविपत् पर्दा नदेखिने जनप्रतिनिधिलाई भोट दिनुको औचित्य के ? त्यसैले जनताले मतदान गर्नुअघि धेरै सोचविचार गरौं । आफ्नो महत्वपूर्ण मत कुनै गलत व्यक्तिलाई नदिऔं । गलत व्यक्तिलाई मत गयो भने पाँच वर्ष जनता आफैंले थकथकी मान्नुपर्नेछ । जनताले मत दिएका नेताहरुको त जीवनस्तरमा परिवर्तन भयो तर जनताले परिवर्तनको महसुश गर्न सकेका छैनन् । त्यसबाट पनि शिक्षा लिएर मात्र भोट दिऔं ।
सही उम्मेदवार, सुनिश्चित भविष्य
निर्वाचन जनताले आफ्नो भविष्य कोर्ने मौका हो । सही उम्मेदवार चुनियो भने जनताको भविष्य राम्रो हुन्छ । पार्टीलाई पटकपटक परीक्षण गरिसकेका जनताले यसपटक स्वतन्त्र उम्मेदवार थापालाई भोट दिएर हेरौं । अन्य क्षेत्रमा स्वतन्त्रले पनि धेरै राम्रो काम गरेको रेकर्ड छ । थापा जुझारु र केही गर्छु भन्ने आत्मविश्वास भएको युवा हुन् । पार्टी होइन, काम गर्न सक्ने क्षमता भएको व्यक्ति हेरौं ।
पत्रकारिता पेशाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका थापाको काठमाडौंमा घरजग्गा केही छैन । निर्वाचित भएपछि उनले निर्वाचन क्षेत्रमै गएर काम गर्ने हो । उनीसँग अन्य उम्मेदवारजस्तो चुनावमा खर्च गर्ने पैसा छैन तर काम गरेर देखाउन सक्ने क्षमता छ । सँगै स्वतन्त्रलाई जिताउनु क्षेत्र नम्बर २ का जनताले इतिहास रच्नु पनि हो । आजसम्म स्वतन्त्रले नजितेको क्षेत्रमा एकपटक स्वतन्त्रलाई जिताएर काम गर्ने मौका दिन आग्रह गर्छन्, थापा । भन्छन्,‘उहाँहरुले मलाई मतदान गरेर पठाउनु भयो भने म उहाँहरुलाई निराश गर्दिन । स्वतन्त्रहरुले पनि राम्रो काम गर्न सक्छन् भनेर प्रमाणित गरेर देखाउनेछु ।’
कस्ता छन् अन्य उम्मेदवार ?
क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले आफ्ना उम्मेदवार उठाएका छन् । पार्टीले उठाएका उम्मेदवार कुनै न कुनै विवादमा मुछिएकै छन् । एमालेका उम्मेदवार अशोक ब्याञ्जू पूर्वमेयर हुन् ।
उनी जनताले दिएको दायित्वको अपहेलना गरेर संसदीय चुनावमा आएका हुन् । रास्वपाको उम्मेदवार बदन भण्डारी अवसरवादी व्यक्तित्वमा पर्छन् । पहिले एमाले त्यसपछि समाजवादी र अहिले रास्वपा । उनी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा समाजवादीबाट भुम्लु गाउँपालिका २ बाट वडाध्यक्ष उम्मेदवार कृष्ण कार्कीलाई काँधमा बोकेर हिँडेका थिए ।
मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदा पनि उनी समाजवादीमै थिए । समाजवादी नेकपामा मिसिएपछि आफूले टिकट नपाउने भएपछि उनी रास्वपामा आएका हुन् । आफ्नो फाइदाका लागि पार्टी फेर्दै हिँड्नेले देश र जनताका लागि काम गर्छ ? आफूलाई फाइदा हुञ्जेल एमालेमा बसे, त्यसपछि समाजवादीमा आए ।
अहिले टिकट पाउनका लागि रास्वपा छिरे । यता, कुनै उम्मेदवारमाथि हप्ता उठाउनेदेखि कुनैमाथि अनियमितताको आरोप छ । तैपनि पार्टीले त्यस्तालाई टिकट दिएको छ । किनकि यहाँ टिकट खरिदबिक्री हुन्छ । देशका लागि काम गर्ने इच्छा भएपनि पैसा नहुनेहरुले पार्टीबाट टिकट नै पाउँदैनन् ।



