जेष्ठ नागरिकको अनुहारमा ‘कृतिम दाँत’ को मुस्कान

रामेछाप । उमेरले ७ दशक पार गरिसकेका मन्थली–११ का गणेशबहादुर बोहराका लागि पछिल्ला केही वर्ष अलि खल्लो बनेका थिए। गाउँघरमा हुने भोजभतेर होस् या परिवारका सदस्यसँगको जमघट । उनी खुसी त हुन्थे तर खुलेर हाँस्न र चपाएर खान सक्दैनथे। उमेरको रफ्तारसँगै एउटा–एउटा गर्दै झरेका दाँतले गर्दा उनका गाला भस्सिएका थिए भने बोली पनि अलि अस्पष्ट सुनिन्थ्यो।
“बुढेसकाल लागेपछि यस्तै त हो नि भनेर चित्त बुझाएको थिएँ,” ७६ वर्षीय बोहराले आफ्नो अतीत सम्झिँदै भने, “तर दाँत नहुँदाको सास्ती भोग्नेलाई मात्र थाहा हुन्छ। मन लागेको चिज खान नपाउँदा र बोल्दा ओठ नै भित्र पसे जस्तो हुँदा मन खिन्न हुन्थ्यो।” तर, अहिले बोहराको अनुहार फेरिएको छ। रामेछाप अस्पतालको दन्त विभागबाट नयाँ ‘कृतिम दाँत’ लगाएपछि उनको अनुहारमा ७६ वर्षकै उमेरमा तन्नेरी चमक फर्किएको छ।
यो खुसी केवल बोहराको मात्र होइन। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको विशेष कार्यक्रमअन्तर्गत रामेछाप अस्पतालले ६५ वर्ष नाघेका जेष्ठ नागरिकलाई लक्षित गरी सुरु गरेको ‘निःशुल्क कृतिम दाँत’ सेवाले रामेछापका गाउँ–गाउँमा नयाँ लहर ल्याएको छ।
जब ओठमा दाँत फर्किए रामेछाप नगरपालिका–५ की ६५ वर्षीया लिलामाया श्रेष्ठका लागि पनि यो सेवा एउटा ठूलो राहत बनेर आयो। झरेका दाँतका कारण उनलाई ऐना हेर्न पनि मन लाग्दैनथ्यो। “घर नजिकैको अस्पतालमा यति राम्रो सेवा पाइन्छ भन्ने सोचेकै थिइनँ,” लिलामायाले भनिन्, “निजी क्लिनिकमा सोध्न जाँदा धेरै पैसा लाग्छ भनेका थिए। यहाँ त एक सुको नलागी नयाँ दाँत पाइयो। डाक्टरहरूले निकै फुर्सद निकालेर मिलाई–मिलाई दाँत हालिदिनुभयो। अब त ढुक्कले अरूसँग कुरा गर्न सक्छु।”
रामेछाप नगरपालिका–८ की ८२ वर्षीया रमादेवी श्रेष्ठको अनुभव झनै रोचक छ। आठ दशकभन्दा लामो जीवन भोगाइमा उनले धेरै कुरा देखिन्, तर आफ्नै बुढेसकालमा फेरि दाँत पलाउला (हाल्न पाइएला) भन्ने उनले चिताएकी थिइनन्। “मैले त अब यसरी नै मर्ने होला भन्ने ठानेकी थिएँ,” रमादेवीले खुसी हुँदै भनिन्, “सरकारले हामी जस्ता बुढाबुढीलाई सम्झेर यस्तो सुविधा दिएछ। यो त हामीलाई ठूलो उपहार हो। दाँत हालेपछि अहिले चपाउन धेरै सजिलो भएको छ।”
यी तीन पात्र त प्रतिनिधि मात्र हुन्। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर जर्घामगरका अनुसार चालू आर्थिक वर्षको हालसम्म ८ जनाले यो सेवा लिइसकेका छन्। जसमा ५ जनाले ‘सिडी’ अर्थात् पूर्ण रूपमा कृतिम दाँत र ३ जनाले ‘आरपिडी’ अर्थात् आंशिक दाँत हाल्ने सेवा लिएका हुन्।
दाँत हाल्ने प्रक्रिया सुन्दा जति सामान्य लाग्छ, प्राविधिक रूपमा यो निकै जटिल र समय खपत हुने कार्य हो। अस्पतालकी दन्त विशेषज्ञ रमा श्रेष्ठका अनुसार कृतिम दाँत हाल्ने काम ‘इन्स्ट्यान्ट नुडल’ जस्तो तत्कालै हुने कुरा होइन।
विशेष गरी ‘सिडी’ सेवा अर्थात् मुखमा एउटै पनि दाँत नभएकाहरूका लागि पुरै सेट दाँत बनाउन ५ वटा मुख्य चरणहरू पार गर्नुपर्छ। “सुरुमा मुखको नाप लिइन्छ, त्यसपछि त्यसको ‘कास्ट’ बनाइन्छ, अनि दाँतको सेटिङ मिलाइन्छ,” विशेषज्ञ श्रेष्ठले प्रष्ट पारिन्, “यो प्रक्रिया पूरा हुन १ महिनादेखि ४५ दिनसम्मको समय लाग्छ। यसका लागि बिरामी ५ पटक अनिवार्य रूपमा अस्पताल आउनुपर्ने हुन्छ।
यता ‘आरपिडी’ अर्थात् केही दाँत मात्र भएकाहरूको हकमा भने प्रक्रिया केही छोटो हुन्छ। यस्ता सेवाग्राहीले भने धेरै पटक अस्पताल धाइरहनु पर्दैन, उनीहरूले तुलनात्मक रूपमा छिटो सेवा पाउँछन्।
कुनै समय सरकारी अस्पताल भन्नेबित्तिकै ‘लामो लाइन र झन्झटिलो सेवा’ भन्ने बुझिन्थ्यो। तर, रामेछाप अस्पतालले यो धारणालाई बिस्तारै चिर्दै लगेको छ। डा. सागर जर्घामगरका अनुसार बागमती प्रदेश सरकारले जेष्ठ नागरिकको सम्मान र स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम ल्याएको हो। “हामीले केवल दाँत हालिदिने काम मात्र गरेका छैनौँ, जेष्ठ नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने प्रयास गरेका छौँ,” डा. मगरले भने।
अस्पतालमा अहिले दन्त विभाग मात्र होइन, अन्य विशेषज्ञ सेवाहरू पनि थपिँदै गएका छन्। तर, जेष्ठ नागरिकको यो विशेष सेवाले भने अस्पताललाई सामाजिक रूपमा झनै स्थापित गराएको छ। विकट गाउँबाट आउने वृद्धवृद्धाहरूलाई ५ पटकसम्म अस्पताल बोलाउनु पर्दा कतिपय अवस्थामा समस्या भए पनि उनीहरूको खुसीले सबै दुःख भुलाइदिने स्वास्थ्यकर्मीहरू बताउँछन्।
नेपालको बदलिँदो सामाजिक परिवेशमा गाउँका घरहरूमा वृद्धवृद्धाहरू मात्रै बाँकी रहने क्रम बढ्दो छ। युवा पुस्ता रोजगारीका लागि सहर वा विदेश पसेका छन्। यस्तो बेला घरमा रहेका जेष्ठ नागरिकहरू सानातिना स्वास्थ्य समस्या भए पनि कसलाई भन्ने र कहाँ जाने भन्ने अन्योलमा हुन्छन्। रामेछाप अस्पतालले प्रदान गरेको यो निःशुल्क सेवाले उनीहरूलाई आर्थिक भारबाट मात्र बचाएको छैन, बरु उमेर ढल्केपछि पनि सम्मानित जीवन बाँच्न सकिन्छ भन्ने सन्देश दिएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको यो कार्यक्रमले अन्य जिल्लाहरूमा पनि निरन्तरता पाएको छ। तर, रामेछापमा विशेषज्ञको उपलब्धता र समयमै सेवा प्रदान गर्ने कार्यले गर्दा यसको प्रभावकारिता बढी देखिएको छ। गणेशबहादुर, लिलामाया र रमादेवी जस्ता पात्रहरू अहिले गाउँमा यो सेवाका ‘दूत’ बनेका छन्। उनीहरूले आफूले पाएको सुविधाको बारेमा गाउँका अन्य वृद्धवृद्धाहरूलाई पनि जानकारी गराइरहेका छन्।
एउटा कृतिम दाँतले मान्छेको पाचन प्रक्रियामा मात्र सुधार ल्याउँदैन, बरु उसको आत्मविश्वास पनि बढाउँछ। ८२ वर्षीया रमादेवीले नयाँ दाँतले मकै चपाउने आँट गर्नु या ७६ वर्षीय गणेशबहादुरले समाजमा खुलेर हाँस्न पाउनु नै यो कार्यक्रमको वास्तविक सफलता हो। रामेछाप अस्पतालले सुरु गरेको यो सराहनीय कार्यले अन्य सरकारी निकायहरूलाई पनि यस्तै सिर्जनशील र सेवामूलक कार्यक्रम ल्याउन प्रेरित गरेको छ। जेष्ठ नागरिकको अनुहारमा फर्किएको यो मुस्कानलाई दिगो बनाउनु नै अबको मुख्य चुनौती र अवसर दुवै हो।



