Trending

शैलुङको नयाँ क्षितिजः सडकले जोडिए सानो र ठूलो शैलुङ

रामेछाप । रामेछाप जिल्लाको पर्यटकीय स्वर्ग ‘शैलुङ’ अब केवल पदयात्रीको कठिन गन्तव्यमा मात्र सीमित रहेन। सयौँ थुम्काहरूको सुन्दरता बोकेको यो अलौकिक भूमि अब सडकको सहज पहुँचसँगै समृद्धिको नयाँ क्षितिजतर्फ अघि बढेको छ। दोरम्बा शैलुङ गाउँपालिकाको सक्रियतामा सानो शैलुङ र ठूलो शैलुङबीचको भूगोललाई सडक सञ्जालले जोडेपछि काभ्रे लगायत भेगका बासिन्दामा मात्र होइन, प्रकृतिप्रेमी पर्यटकहरूमा समेत नयाँ उत्साह सञ्चार भएको छ। वर्षौँदेखि शैलुङको काखमा बसेर विकासको सपना देखिरहेका स्थानीयका लागि यो सडक निर्माण एउटा ऐतिहासिक मोड सावित भएको छ।
दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ मा रहेको सानो शैलुङ र वडा नं. १ र ४ को सिमानामा पर्ने ठूलो शैलुङबीचको दूरी हिँडेर पार गर्न जति कठिन थियो, अब सवारी साधनको पहुँचले त्यो दूरीलाई समय र सहजताका हिसाबले निकै नजिक ल्याइदिएको छ। १८०० मिटर लामो यो नयाँ सडक खण्डले शैलुङको मुख्य पर्यटकीय थलोलाई आधुनिक यातायातको मूलधारमा ल्याएर उभ्याइदिएको छ। यो सडक निर्माणको योजनाबद्ध पहल दुई वर्ष अघिदेखि नै सुरु भएको थियो। गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत र बजेटलाई प्राथमिकतामा राख्दै यसलाई गौरवको आयोजनाका रूपमा अघि बढाएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोका अनुसार, विकासको यो रेखा कोर्नका लागि आर्थिक वर्ष २०८१÷०८२ मा ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो भने चालू आर्थिक वर्षमा थप ३० लाख रुपैयाँ खर्चिएको छ। कुल ८० लाख रुपैयाँको लगानीमा टेण्डर प्रक्रियामार्फत निर्माण गरिएको यो सडकले पहाडी भूगोलको कठिन चट्टान र भिरालो जमिनलाई चिर्दै शैलुङको दुई महत्त्वपूर्ण बिन्दुलाई जोड्ने सफलता प्राप्त गरेको छ।
शैलुङको इतिहास केवल भूगोलसँग मात्र जोडिएको छैन, यसको धार्मिक र सांस्कृतिक विरासत उत्तिकै गहिरो छ। परापूर्व कालदेखि नै हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र रहेको यस क्षेत्रलाई ‘सय थुम्का’ को सङ्गम मानिन्छ। स्थानीय जनश्रुतिअनुसार यी थुम्काहरू प्राकृतिक रूपमै बनेका १०८ वटा साना पहाडहरू हुन्, जहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ। पहिले काठमाडौँबाट शैलुङ पुग्न चाहने पर्यटकका लागि यात्रा निकै लामो र थकाइलाग्दो हुने गथ्र्यो। तर, अब यो सडक सञ्जालको विस्तारसँगै यात्राको स्वरूप नै बदलिएको छ। काठमाडौँबाट विपी राजमार्ग हुँदै दोलालघाट पुग्ने र त्यहाँबाट ढाडखर्क भञ्ज्याङ, पुडेटार हुँदै सिधै शैलुङको आधार शिविरसम्म गाडीमै पुग्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र अब एक दिने वा दुई दिने छोटो र सुलभ भ्रमणको केन्द्र बनेको छ।
गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानका अनुसार, यो मार्ग खुलेसँगै वृद्धवृद्धा, बालबालिका र शारीरिक रूपमा लामो पैदल यात्रा गर्न नसक्ने व्यक्तिहरूले समेत शैलुङको थुम्काहरू र त्यहाँबाट देखिने धौलागिरीदेखि कञ्चनजंघासम्मका हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाउनेछन्। सडक पुग्नु भनेको केवल बाटो खनिनु मात्र होइन, यो त आर्थिक समृद्धिको ढोका खुल्नु पनि हो। शैलुङ क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दा यहाँका स्थानीय उत्पादनले बजार पाउने निश्चित छ। यसअघि आफ्ना कृषि उपज, विशेषगरी आलु र दुग्धजन्य पदार्थलाई डोकोमा बोकेर टाढाको बजार लैजानुपर्ने बाध्यतामा रहेका किसानहरूका लागि अब आफ्नै दैलोमा गाडी आइपुग्नु ठूलो राहतको विषय बनेको छ। अध्यक्ष मोक्तानले भनेझैँ, सडक सञ्जालको विस्तारले यहाँ पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै स्थानीय स्तरमा होमस्टे, साना होटल र पर्यटकीय सेवाका क्षेत्रमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। यसले गाउँका युवाहरूलाई वैदेशिक रोजगारीमा जानुको सट्टा आफ्नै ठाउँमा केही गर्ने प्रेरणा मिल्नेछ।

स्थानीय बासिन्दाहरू पनि सडक जोडिए सगैँ उत्साहित देखिन्छन्। प्रकृतिको अनुपम उपहार शैलुङलाई अब आधुनिकतासँग जोड्ने क्रममा यो १८०० मिटरको खण्डले एउटा दरिलो आधार तयार पारेको छ। यद्यपि, नयाँ खनिएको सडकलाई बाह्रै महिना सुरक्षित र व्यवस्थित बनाउनु अर्को चुनौती हो। पहाडी क्षेत्रको माटो र वर्षायामको जोखिमलाई मध्यनजर गर्दै यसको स्तरोन्नति र कालोपत्रेको कामलाई पनि क्रमशः अगाडि बढाउनुपर्ने देखिन्छ।
दोरम्बा शैलुङ गाउँपालिकाले देखाएको यो सक्रियताले स्थानीय सरकार जनताको आवश्यकता र विकासको सम्भावनाप्रति कति संवेदनशील छ भन्ने पुष्टि गर्दछ। कुहिरोको पर्दाभित्र लुकेको यो ‘सय थुम्के’ पहाड अब सहज यातायातको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय नक्सामा अझ प्रखर रूपमा देखिनेछ। यो सडक केवल यात्राका लागि मार्ग मात्र नभई, शैलुङबासीको उज्ज्वल भविष्य कोर्ने एउटा समृद्धिको राजमार्ग बन्ने विश्वास गरिएको छ। सानो शैलुङ र ठुलो शैलुङ विचको सडक सञ्जाल जोडिनाले अब धार्मिक पर्यटकहरूले सहजै प्राकृतिक अनुपम शैलुङ समेत सहजै अवलोकन गर्न पाउँनेछन् । अबको मुख्य कार्यभार भनेको प्राकृतिक सौन्दर्यलाई कायम राख्दै दिगो पर्यटनको विकास गर्नु हो, जसले सानो शैलुङ र ठुलो शैलुङको मौलिकतालाई जोगाइराखोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button