Trending

रामेछाप बस दुर्घटना: तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु

रामेछाप काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस मङ्गलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित भलुवाजोरमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।

प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब ११ बजे त्रिवेणी नजिकैको क्षेत्रबाट नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनास्थलबाट हालसम्म १२ जनाको शव सङ्कलन गरी सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ।

प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले नदीमा डुबेको बसभित्रबाट ९ जनाको शव निकालिएको जानकारी दिए। “बस नदीमा डुबेकाले उद्धारमा कठिनाइ भएको थियो, तर सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा केही घाइतेहरूलाई जीवितै उद्धार गर्न सफल भएका छौँ,” तिम्सिनाले भने।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई सिन्धुलीको खुर्कोटस्थित शुभजीवन र सुनकोसी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार बस तीव्र गतिका कारण मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा सामान्य चोट लागेका चालकलाई प्रहरीले मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारपश्चात् नियन्त्रणमा लिएको छ।

मृतकहरूको सनाखत हुने क्रम जारी रहेकाले पहिचान खुल्न बाँकी छ। घटनास्थलमा अझै पनि खोजी र उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button