Trending

कार्यसम्पादनमा सोलुदुधकुण्ड उत्कृष्ट, कोशी प्रदेशमै पहिलो

रामेछाप — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट स्थानीय तह घोषणा भएको छ। आयोगको मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि नगरपालिकाले त्यसलाई सुशासन र प्रभावकारी सेवा प्रवाहको प्रतिफलका रूपमा व्याख्या गरेको छ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतदेखि नै कार्यसम्पादन सूचकहरूमा सुधार गर्दै आएको र पारदर्शिता, उत्तरदायित्व तथा गुणस्तरीय विकास निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख छ। बेरुजु न्यूनिकरण, सेवा प्रवाहको सुदृढीकरण र योजनाहरूको प्रभावकारी कार्यान्वयनका कारण उत्कृष्ट नतिजा हासिल भएको दाबी गरिएको छ।

नगरपालिकाले यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको साझा प्रयासको परिणाम भएको जनाएको छ। सकारात्मक सोच, समन्वय र निरन्तर योगदानका कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि दिगो विकास र समृद्धिको लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

ऐतिहासिक उपलब्धिका रूपमा लिइएको यस नतिजाले नगरपालिकाको संस्थागत क्षमता र सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाइएको छ। नगरवासीलाई बधाई तथा धन्यवाद दिँदै आगामी दिनमा अझ उत्साहका साथ काम गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button