चक्रवात ‘अर्नब’ को प्रभाव: जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा उच्च सतर्कता अपनाउन सार्वजनिक अनुरोध

मन्थली, रामेछाप । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसको प्रभाव नेपालमा पनि पर्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेको छ। नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले आगामी दिनहरूमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

मौसम पूर्वानुमान अनुसार आगामी कार्तिक १२, १३ र १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनेछन्। यसक्रममा रामेछाप जिल्लामा समेत सो चक्रवातको प्रभाव पर्ने देखिएको छ। उक्त अवधिमा धेरै स्थानमा हावाहुरी, चट्याङ, मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो र हिमआँधीको समेत जोखिम रहेकाले पूर्वतयारीस्वरूप सतर्कता अपनाउनु पर्ने प्रशासनले जनाएको छ।

सम्भावित जोखिमबाट बच्न प्रशासनले जिल्लाका विभिन्न स्थानमा धानबाली काट्ने र भित्र्याउने लगायतका कृषिसँग सम्बन्धित सम्पूर्ण कार्यहरू कार्तिक १२ देखि १४ गतेसम्मको अवधिमा नगर्न र नगराउन अनुरोध गरेको छ। जिल्लाको हिमपात हुने क्षेत्र तथा सो क्षेत्र भएर हुने पदयात्राहरू र भ्रमणलगायतका कामहरूमा नजान आग्रह गरिएको छ। यदि कोही व्यक्ति त्यस्ता क्षेत्रमा गईसकेको भए, उक्त अवधिभर सुरक्षित स्थानमा बसोबास गर्न निर्देशन दिइएको छ। सडक यातायातलगायत जिल्लाको दैनिक जनजीवन प्रभावित हुन सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन र सो अवधिभर अत्यावश्यक बाहेकका यात्रा नगर्न र नगराउन भनिएको छ।

स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय तथा कार्यालयहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र विभिन्न संघसंस्थाहरूले आम सर्वसाधारणलाई सूचित गराउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। नदी तथा खोलाका तटीय क्षेत्र, पहिरोको जोखिम क्षेत्र र हिमपात हुने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन तथा आवश्यकता परेमा सुरक्षित स्थानमा जान स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ। यस अवधिमा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अध्यावधिक पूर्वसूचना तथा चेतावनी पालना गर्न र आपतकालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय तथा सम्बद्ध निकायका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button