दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए । व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ ।
बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको छ ।