क्रियाशील पत्रकार महिला जिल्ला शाखा सिन्धुली सहित ६ संस्था सम्मानित

सिन्धुली । ११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च २०२४) को अवसरमा जिल्ला समन्वय समिति, सिन्धुलीले बिहिबार जिल्लामा महिला अधिकार, महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदान र सक्रियताको प्रशंसा गदैँ छ वटा संस्थाहरुलाई कदर पत्रसहित सम्मान गरेको हो ।
सम्मानीत हुने संस्थाहरुमा क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली, सुरक्षित आवास गृह, सिन्धुली, जिल्ला लघु उद्यमी संघ, सिन्धुली, लैङ्गिक हिंसा सम्बन्धि एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी) जिल्ला अस्पताल र रिलिफ नेपाल छन् ।   
यस सम्मान कार्यक्रमले संस्थाका नेतृत्वकर्तालाई थप जिम्मेवार बनाउनुका साथै अझ सशक्त, अब्बल, सक्रिय भएर महिला अधिकार, न्याय सम्पादन तथा महिला सशक्तिकरणका क्षेत्रमा लागिरहन हौसला, प्रेरणा र ऊर्जा मिलेको सम्मानीत संस्था क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली अध्यक्ष राधिका बुढाथोकीले । 
जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकि बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेलले देशको संविधानमा महिला अधिकारका धेरै कुरा समेटिएको बताइन । थप नीति तथा कानून आवश्यकताका आधारमा निर्माण गर्न आफू कुनै कसर नराख्ने उनको तर्क थियो । महिलालाई सामाजिक, आर्थिक रुपमा सशक्त बनाउन प्रदेश सरकारले गृहणी कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको जानकारी दिइन । 
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनाल, कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटा, जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख विनोद शर्मा, नेपाल महिला संघ, सिन्धुली अध्यक्ष गंगा दाहाल, अनेमा संघ, सिन्धुली अध्यक्ष पार्वती भट्टराई, सामाजिक अभियन्ता इन्दिरा निरौला लगायत महिला तथा मानव अधिकारकर्मीहरुले महिलाहरुको हालसम्मको समग्र अवस्था र अबको गन्तव्यका बारेमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने रहेको छ । यस दिवसका अवसरमा कमलामाई नगरपालिका वडा नम्बर ६ ले समेत बिहिवार नै सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button