कहिले सुरु हुन्छ मन्थली काठमाडौँ उडान ?

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली – काठमाडौँ जहाज उडान कहिलेबाट सुरु हुन्छ भन्ने सवाल पैदा भएको छ । २०८० साल ज्येष्ठको तेस्रो हप्ता देखि नियमित उडान सुरु गरिने भनिए पनि मन्थली काठमाडौँ उडान अहिले सम्म सुरु हुन सकेको छैन ।
नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एउटा उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति समेत भएको थियो । सोही सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र ज्येष्ठको तेस्रो हप्ता देखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि एयरलाइन्स कम्पनीहरूले उडान तालिका अनुसार उडान गरेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलबाट काठमाडौँका लागि नियमित उडान गर्ने निर्णय गरे पनि सो निर्णय कागजमा सीमित भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लगायत जनप्रतिनिधि सहित सर्व पक्षीय बैठक बसेर गत ज्येष्ठको तेस्रो हप्ता देखि साप्ताहिक रूपमा नियमित उडान गर्ने निर्णय गरेको भए पनि त्यसको १० महिना बितिसक्दा सम्म उडान हुन सकेको छैन ।
लामो समय देखि मन्थली–काठमाडौँ जहाज सञ्चालनका लागि स्थानीय स्तरबाट माग हुँदै आएको भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको बेवास्ता गर्दै आएको छ ।
संघीय सांसद पूर्ण बहादुर तामाङ र मन्थली नगर प्रमुख लव श्रेष्ठ, जन प्रतिनिधिहरू र राजनीतिक दलहरू तथा स्थानीयहरूले समेतले बारम्बार उडानको लागी माग गर्दै आएका छन् । प्रतिनिधि सभा सदस्य तामाङले भने– हामीले धेरै पटक आग्रह गरी सकेका छौँ । हामी सँग हुन्छ भन्नुहुन्छ । तर कार्यान्वयन भने गर्नु हुन्न । यस विषयले हामी गम्भीर भएर सोच्न पर्ने भएका छौँ । त्यस्तै मन्थली नगरपालिका प्रमुखले पनि आफूहरूले गरेको अनुरोध नागरिक उड्डयन प्राधिकरण सुने नसुनेको गरेको बताउँदै आएका छन् ।
कार्य तालिका सहित उडानका लागि एकतर्फी ३ हजार ५०० भाडा दर निर्धारण गरी गत जेठ तेस्रो हप्तादेखि उडान गर्ने गरी तालिका अनुमोदन गरी कार्यान्वयनमा ल्याउने सहमति पनि भएको थियो । तर अहिलेसम्म उडान हुन नसक्नु अत्यन्त दुःखद कुरा हो । यसरी निर्णय कार्यान्वयन हुन नसक्नु भनेको नागरिक उड्डयन प्राधिकरणको कमजोरी भएको स्थानीयको भनाई छ ।
रामेछाप विमानस्थल प्रयोग गरी सोलुखुम्बुको लुक्लाका लागि यात्रु ओसारपसार गर्दै आएका तीन वटा वायु सेवा कम्पनीलाई काठमाडौँका लागि समेत यात्रुवाहक उडानका लागि रामेछापवासीले आग्रह गर्दै आएको पनि लामो समय बिती सकेको छ ।
अहिले सोलुखुम्बुको लुक्लाका लागि उडानको सिजन छ । यो सिजनमा सोलुका लागि रामेछापबाट दैनिक करिब ६० उडान हुने गरेको छ। तर मन्थली काठमाडौँका लागि कुनै उडान नहुँदा रामेछापवासी कठिन सँग सडक यात्रा गर्न बाध्य छन् । त्यसको सबैभन्दा बढी असर सुत्केरी,इमरजेन्सी बिरामी र ज्येष्ठ नागरिकहरूलाई पर्ने गरेको छ ।
विमान कम्पनीले मन्थली लुक्लाका लागि दैनिक ६० भन्दा बढी उडान गर्दा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा नागरिक उड्डयन प्राधिकरण र वायु सेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका छन् ।



