खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदैँ
रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिकामा रहेको खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदै छ । हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमीको अवसरमा पुजा गरिने गरेको छ ।
खाँडादेवी विकास कोषले मन्दिरमा हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमी सरकारी पूजा गर्दै आएको छ । सरकारी पूजामा राँगा, बोका, कुखुरा, हाँस र परेवाको पचं वलि दिएर पुजा गरिने खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताए ।
राजा पृथ्वी नारायण शाहले राज्य एकिकरण गरे पछि देशमा युद्ध नहोस् , जनताले दुख नपाउन भनेर सरकारी पुजा सुरु गरिएको तामाङले बताए । तामाङका अनुसार सरकारी पुजा भए पनि राज्यले भने २००४ साल सम्म पुजाको लागी लाग्ने खर्च व्यवस्था गरेको तथ्य भेटिएको भए पनि त्यस समय भन्दा पछि भने सरकारले खर्च नगरे पछि २०७२ सालदेखि खाँडादेवी विकास कोष आफैले निरन्तर सरकारी पुजा गर्दै आएको छ ।
पहिले दरबारबाट मन्दिरमा पूजा खर्च आउने र नवमीको दिन मन्दिरमा गरेको चतुर्थी होमको तिलक र पाती दरबारमा पठाइन्थ्यो । दोलखाको भीमसेनस्थानाट आउनेले खाँडादेवीको तिलक र पाती लिएर जाने र त्यहाँबाट दोलखा भीमसेन र खाँडादेवीको तिलक पाती दरबार पठाउने चलन थियो । अहिले त्यो चलन रोकिएको छ ।
खाँडादेवीको शिलामा विसं १५१५ माघ १५ गते लेखिएको फेला परेको बताइन्छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्टा अहिले पनि छ ।
नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएको इतिहास छ । लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ ।
युद्ध जितेपछि खाँडादेवीको शिलालाई डोलीमा हालेर दरबारमा लैजान प्रयास गर्दा तीन पटकसम्म बनेपा साँगाबाट शिला अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिएको रसो बलि दिने गरिएको भनाइ छ ।
खाँडादेवीको उत्पत्तिको कथा पनि रोचक छ । खाँडादेवीलाई दरबारकी रानी पनि भनिन्छ । रामेछापको गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट जन्मिएकी सुन्दरी कन्या सुकमायालाई राजाले रानी बनाउन लैजाँदा दरबारमा बस्न नरुचाएपछि घर फर्काइदिने क्रममा खाँडादेवीमा आएपछि अलप भएर तितेपातीको छाप्रो हाली बसेको किंवदन्ती छ । पछि त्यही स्थानमा शिला फेला परेको भनाइ छ ।
खाँडादेवीको महिमा शिवपुराणमा पनि उल्लेख छ । शिवपुराणको हिमवत खण्डमा रोशी खोला र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिन्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ । त्यसैले पनि यो शक्ति पीठ निक्कै पुरानो भएको अनुमान गर्न सकिन्छ ।