संरक्षणको पर्खाईमा चिसापानी गढी

नवराज पथिक , रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा बसेको छ । राज्यको तर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानी गढी ओझेलमा परेको छ ।
अङ्ग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुली गढीको सहायक गढी रामेछापको चिसापानी गढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोक नेतृत्वको अङ्ग्रेज फौजलाई विसं १८२४ मा सिन्धुली गढीको लडाइँमा वीर गोर्खाली सेनाले परास्त गरेका थिए ।
सिन्धुली गढीको सेनालाई ब्याक फोर्स दिन रामेछापको हालको मन्थली नगरपालिका–६ स्थित तिल्केस्थान गढी, चिसापानी गढी र हालको रामेछापकै खाँडादेवी गाउँपालिका–५ को पकरबास गढीमा सेना राखिएको थियो । यदि सिन्धुली गढीबाट त्यहाँको सेनालाई जितेर अङ्ग्रेज सेना अघि बढ्यो भने उनीहरूसँग लडाइँ गर्न तीनवटा गढीमा सेना तैनाथ गरिएको थियो । नेपाली सेनाको वीरतापूर्वक चलाखीपूर्ण लडाइँको कारण किनलक नेतृत्वको सेना सिन्धुली गढीबाटै पराजित भएर जनकपुर तिर फर्कियो । बाँकी गढीका सेनाहरूले अङ्ग्रेज विरुद्ध लड्नु परेन ।
सिन्धुली गढी, तिल्केस्थान गढी र पकरबास गढी जस्तै चिसापानी गढीमा पनि सेनाले लड्नको लागि आड र बङ्कर निर्माण अन्य हतियार सहितका तोप समेत राखेको थियो ।
सेनाको टुकडी गढीभन्दा अलिक तल पानी भएको ठाउँमा भतेर खन्थ्यो भने चारैतिर देखिने चिसापानी गढीबाट युद्ध लड्नको लागि तयारी अवस्थामा पहरेरदारी गर्दथ्यो । त्यही सेनाले भतेर खाने ठाउँको नामलाई पछि भतेरे भन्न लागिएको स्थानीय बुढापाका बताउँछन् ।
लामो समयसम्म संरक्षण नगरी अलपत्र छाडिएको चिसापानी गढीका धेरै संरचना नष्ट भए । कतिपय सामानहरू चोरिए भने कतिपय हराएर नष्ट भएर गए ।
देश संघीयतामा गएपछि चिसापानीको भीमसेनस्थान सहित चिसापानी गढीको जीर्णोद्धार, मर्मत र संरक्षणको लागि डोरमणि पौडेल मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेले आर्थिक मामिला तथा योजना मन्त्री भएको बेला वाग्मती प्रदेश सरकारले केही बजेट पठायो । सोही बजेटबाट गढीमा जाने केही सिँढी बने, मन्दिर बन्यो । गढी भित्र अन्य केही संरचना पनि बने । तर डोरमणि नेतृत्वको सरकार ढल्यो, कैलाश डुङ्गले आर्थिक मामिला तथा योजना मन्त्रीबाट हटे । त्यस पछि यो गढीमा आउने बजेट पनि कटौती भयो र निर्माण कार्य पनि अलपत्र प¥यो ।
गढीमा धेरै संरचना निर्माण गर्नु पर्ने भएकोले वडा कार्यालय र नगरपालिकाले काम गर्न आँट गर्न सकेका छैनन् । स्थानीय तह प्रदेश वा संघीय सरकारको सहयोगको प्रतीक्षामा छन् ।
चिसापानी गढीको पनि सिन्धुली गढीको जस्तै महत्त्व भएकोले यसको संरक्षण आवश्यक रहेकोको स्थानीय पत्रकार कैलाश खत्री बताउँछन् । यो ऐतिहासिक गढीको संरक्षणको लागि कार्ययोजना नै बनाएर काम गर्नुपर्ने उनको धारणा छ । ‘यसको लागि मन्थली नगरपालिकाले वृहत् कार्ययोजना बनाएर प्रदेश र केन्द्र सरकारबाट सहयोग लिने गरी काम गर्नुपर्छ’, खत्रीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button